coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अलमलमा मतदाता

यासोक (पाँचथर)- बुङबुङ धुलो उडिरहेको थियो । कुमायक गाउँपालिकाको केन्द्र यासोकमा अम्बा, सुन्तला, बोडीलगायत कृषिउपज बेच्ने महिला ग्राहकको पर्खाइमा थिए । उनीहरू आपसमा गफिँदै थिए, ‘चुनाव आयो भन्छन्, भोट माग्न त कोही आएनन्, यसपाला त हामी भोट हाल्न जानुपर्दैनजस्तो छ ।’ ग्रामीण बस्ती यासोकमा अहिलेसम्म चुनावको चहलपहल खासै छैन ।
स्थानीय तह चुनावमा दुई महिनाअघिदेखि भोट माग्न नेताकार्यकर्ता घरदैलोमा आएको स्मरण गर्दै अम्बाका ग्राहक पर्खिएकी ५४ वर्षीया देउमाया नेपालीले यसपटक त आफूलाई उम्मेदवारको नामसमेत थाहा नभएको बताइन् । उनले भनिन्, ‘कोही पनि आएका छैनन् यसपालि भोट माग्न । अस्ति  (स्थानीय चुनाव) गाउँको चुनाउमा त दुईतीन महिना अघिदेखि दोहोरीलत्ता थियो । खै यसपालि त अझै कोही आएका छैनन् । भोट पो चाहिँदैन कि ।’
छेउमै सुन्तला, बोडीलगायत कृषिउपज बिक्री गरिरहेका अरु महिलाले पनि नेपालीको भनाइमा सहमति जनाए । तीमध्येकी गगा खनालले थपिन्, ‘चुनाव मंसिर १० गते भन्छन् । खै नेताहरू पनि आउँदैनन् । भोट लाउन कसैले सिकाउँदैनन् ।’ कुनकुन पदको चुनाव हुँदैछ भन्ने पनि आफूलाई थाहा नभएको उनले बताइन् । चुनावमा को को उठेका छन् भनेर सोद्धा सबैजना मौन भए । एकछिनको मौनतापछि खनालले भनिन्, ‘सरहरूलाई नै थाहा होला नि । हामीलाई कसले भन्छ । हामी त चाहिँदा भोट दिनेमात्र प¥र्यो नि । बरु भन्दिनु न हाम्रा गाउँतिर यसपालिको चुनावमा नेताहरू  किन नआएका रहेछन् ।’ उत्सुकताका साथ सवालजवाफ गरेका उनीहरू सबैले गाउँमा नेताहरू भोट माग्न नआएको र स्थानीय तहको चुनावमाजस्तो तडकभडक, नाचगान, भोजभतेर पनि सुरु नभएको सुनाए ।
यसपालि कति ठाउँमा भोट लाउनुपर्छ ? भनेर सोध्दा मनमाया धमलाले ‘एक ठाउँमा होला नि भन्ने जवाफ दिइन ।’ कुन प्रणालीको निर्वाचन, किन निर्वाचित गर्ने, कस्तो सरकार बन्छलगायतका कुरा त उनीहरूका लागि धेरै टाढाका विषय रहेछन् ।
यासोक गाउँपालिकाको केन्द्रमात्र नभई जिल्लाको विकसित ग्रामीण बजार पनि हो । त्यहाँ क्याम्पस, उच्चमावि, इमेल, इन्टरनेटलगायत सुविधा भए पनि चुनावी माहोल देखिएन । समाजिक अगुवा पनि अन्योलमा देखिन्थे । स्थानीय ज्ञानु रिजालको प्रश्न थियो, ‘समानुपातिकमा एउटा छाप लाउनुपर्ने कि दुईटा ?’
बजारमा त यस्तो छ गाउँमा कस्तो होला प्रश्न उठ्छ ।  गाउँगाउँमा चुनाव प्रचारका लागि न नेता पुगेका छन् न त मतदाता शिक्षाका लागि निर्वाचन आयोगले खटाएका स्वयंसेवक । मतदाता अलमलमा देखिए । गठबन्धन गरेका दलहरू आपसमा समन्वय मिलाउँदामिलाउँदै गाउँगाउँमा पुग्न ढिला गरेका हुन् । गाँउहरूमा सुनेको भरमा चुनावी छलफल हुँदैछ ।
स्थानीय नेताहरू विस्तारै चुनावी गतिविधि बढ्ने बताउँछन् । यो जिल्लामा मंसिर १० मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुन्न मतदान हुँदैछ । यासोकको खाल्डेमा वाम गठबन्धनले कार्यक्रम राखेको भए पनि जनसहभागिता उलेख्य थिएन । छेउछाउ गाँउले पनि कार्यक्रमबारे जानकारी नभएको बताए । छिमेकी फाल्गुनन्द गाउँपालिकाको आङसराङमा लोकतान्त्रिक गठबन्धनको कार्यक्रम थियो । त्यहाँ पनि जनसहभागिता खासै थिएन । यासोकका मात्र होइन रानीगाँउ, माङजाबुङलगायत गाउँका बासिन्दाले भोट माग्न नेताहरू नआएको सुनाए । मतदाता शिक्षा पनि नहुँदा अलमलमा परेको उनीहरूको भनाइ थियो ।
गाडीमा झन्डा राखेर नेताहरू हिँडे पनि गाउँ तहमा पुगेर भोट माग्ने काम नभएको स्थानीय खेम निरौलाले बताए । गाउँमा प्रतिनिधिसभाको मंसिर १० गते र प्रदेशसभाको निर्वाचन २१ गते हुने बुझाइरहेको उनले सुनाए ।
 भौगोलिक विकटताले पनि उम्मेदवालाई गाउँगाउँ पुग्न कठिनाइ छ । दलका नेता बैठक तथा साना कार्यक्रममा केन्द्रित छन् । सडक आसपासमा मात्र नेताहरू पुगेका छन् ।
उत्तरी हिलिहाङ र याङवरक गाउँपालिकाका बासिन्दाले पनि चुनावी सरगर्मी सुरु नभएको बताए । स्थानीय तह निर्वाचनको जस्तो माहोल यसपल्ट नबनेको गणेश चोकका शिव श्रेष्ठले बताए । जनता नेताहरूप्रति बढी असन्तुष्ट छन् । प्रतिबद्धताहरू पूरा नगर्ने भन्दै कतिपयले कम चासोसमेत देखाएको पाइन्छ ।

प्रकाशित: २७ कार्तिक २०७४ ०३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App