coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

कसरी बनाउने फिल्म ?

काठमाडौं- बिहीबारबाट एकादेशमा सर्ट फिल्म फेस्टिभल सुरु हुँदैछ तर त्योभन्दा ५ दिनअघि नै फिल्म फेस्टिभलले नेपालका ९ फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने सीपका बारेमा तयार गराउने अभिप्रायले कार्यशाला सुरु गरिएको छ ।

आइतबारबाट सुरु भएको ‘एकादेशमा फिल्म ल्याब’ १२ जना निर्माता निर्देशक आफ्ना ९ फिल्मसहित फिल्म बनाउने सीप सिक्न कार्यशालामा सहभागी भएका छन् । ४ दिनसम्म चल्ने कार्यशालाले फिल्म निर्माणसँगै बनेका फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा बजारीकरण सिकाउनेछ ।

फेस्टिभलले लोकार्ना फिल्म फेस्टिभल र स्वीजरल्यान्डको राजदूतावासको सहयोगमा आइतबार सानेपाको ग्रिनविच होटलमा कार्यशाला सुरु गरेको हो । ‘एकादेशमा फिल्म ल्याब’ नाम दिइएको कार्यशालामा १२ निर्माता तथा निर्देशकका ९ फिल्म सहभागी छन् । सहभागी फिल्म तथा फिल्मकर्मीलाई सोफी बर्डन, मरिएटा बन हाउसवुल्फ र पाउलो बेर्टोलिनले ४ दिनसम्म प्रशिक्षण दिनेछन् ।
प्रशिक्षकमध्येकी एक सोफीले ४ दिने कार्यशालाको समय आफूले फिल्म बनाउन सिकाउने नभइ फिल्मकर्मीले अगाडि सारेका पटकथाका सबल र दुर्बल पक्षको विवेचना गर्ने बताइन् । ‘छानिएका ९ फिल्मलाई फिल्मकर्मीले फ्लोरमा प्रस्तुत गर्नेछन् । ती कथामा हामी सामूहिक रूपमा छलफल गर्नेछौं र अन्तर्राष्ट्रिय बजारमा यस्ता फिल्मले कसरी र कुन बाटोबाट प्रवेश पाउन सक्छन् तिनका बारेमा हाम्रो अनुभव बाँड्नेछौं,’ सोफीले भनिन् ।
उनले लोकार्ना फिल्म फेस्टिभलमा नेपाल जस्ता देशका फिल्मले कसरी प्रवेश पाउन सक्छन् र त्यो फिल्टभलमा कस्ता कस्ता प्रावधान छन् भन्ने विषयमा पनि जानकारी दिने बताइन् ।
सोफीले फेस्टिभलसम्बन्धी ज्ञान बाँडिरहँदा अर्की प्रशिक्षक मरिएटाले भने लेखन केन्द्रित अनुभव सहभागी माझ बाँड्नेछिन् । ‘कुनै पनि कथा आफैंमा गलत हुँदैनन् । तर, कथालाई कसरी प्रस्तुत गर्ने भन्ने कुराले धेरै फरक पार्छ । लेखक तथा निर्देशकले कथा के हो र त्यसलाई कसरी प्रस्तुत गर्दा फरक पर्छ भन्ने कुरा थाहा पाउन जरुरी छ,’ मरिएटाले भनिन्, ‘हामीले उनीहरूलाई गलत ग¥यौ सच्याउ भन्ने छैनौं, खाली त्यही कथालाई नयाँ नजरले हेर्न उत्प्रेरित गर्नेछौं ।’
सहभागीले प्रशिक्षकको उपस्थितिमा सामूहिक रुपमा छलफल गर्नेछन् र यसरी माझिएको विचारलाई फेरि प्रशिक्षकसँग एक्लै बसेर पनि छलफल गर्नेछन् । उनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा गएर यसको दाउपेच थाहा पाएका नेपाली फिल्मकर्मीले पनि आफ्नो अनुभव बाँड्छन् । चारदिने कार्यशालाका दौरान दीपक रौनियार, आशा मगराती, रामकृष्ण पोखरेल तथा ओपन डोर्स अलमुनीका सदस्यले पनि आफ्ना अनुभव सहभागी माझ बाँड्नेछन् ।
एकादेशमा फिल्म फेस्टिभलले इच्छुक थुप्रै फिल्मकर्मी आवेदकबाट ९ वटा फिल्म छानेको हो । कार्यशालामा नेपालीहरू सम्पदा मल्ल, प्रनय लिम्बू, पुर्णेन्दु झा, अरुण देव जोशी, मनोजबाबु पन्त, केशव पाण्डे, केसाङ छेतेन, सरोज सापकोटा, नवनिधि दाहाल र रविन्द्रसिंह बानियाँ छनोट भएका छन् । कार्यशालामा दुई बंगलादेशी निर्देशक सफुल फैदिन र महदे हसन पनि सहभागी छन् । काठमाडौंको कुमारी हलमा चारै दिनसम्म चल्ने फेस्टिभलमा विभिन्न विधा र विषयमा बनेका सय फिल्म प्रदर्शन हुनेछन् । बलिउड अभिनेत्री मनिषा कोइरालाले फेस्टिभलको उद्घाटन गर्नेछिन् ।

प्रकाशित: २७ कार्तिक २०७४ ०४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App