७ वैशाख २०८१ शुक्रबार
कला

पिंजडा ब्याक अगेन’ गीत सार्वजनिक

काठमाडौं- आगामी माघ ४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘पिंजडा व्याक अगेन’को दोस्रो गीत ‘तिमी नि आधा’ सार्वजनिक भएको छ । पत्रकारमाझ सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी गीत सार्वजनिक गरिएको हो ।
गीतमा नायक निखिल उप्रेती र नायिका सारा सिर्पालीको रोमान्स रहेको छ । गीत सार्वजनिक अघि निखिलले अघिल्लो गीत ‘कु कु’ भन्दा दोस्रो गीतमा आफूले राम्रो नाँचेको दाबी गरे । ‘अघिल्लो गीतबाट नृत्य गर्दा मेरो नाँच्ने शैली देखेर आलोचना सुनियो, यसपटक भने केही राम्रो नाँच्ने प्रयास गरेको छु,’ निखिलले भने ।
नायिका साराले फिल्म आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउँदै दोस्रो गीतमा आफूले निकै मेहनत गरेको जनाइन् । गीतका संगीतकार तथा गायक अर्जुन पोखरेलले आफूले स्वर दिएका फिल्मका गीतहरू दर्शकले मनपराउएकोमा खुसी व्यक्त गरे । ‘मैले अहिलेसम्म फिल्ममा तीनवटा मात्र गीत गाएको छु । अघिल्ला दुई गीतबाट जसरी राम्रो तारिफ पाएँ, यसपटक पनि त्यस्तै तारिफ पाउनेमा विश्वस्त छु,’ उनले भने ।
गीतमा मुक्त उदासको शब्द र अर्जुन तथा गायिका अञ्जु पन्तको स्वर छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । हिमाल केसी निर्देशित फिल्ममा सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ, कुसाग्र भट्टराईलगायतको अभिनय छ । ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सको व्यानरमा सुशान्त श्रेष्ठ र वसन्त शर्मा कार्यकारी निर्माता तथा श्रीराम बराल प्रस्तुतकर्ता छन् । मौनता श्रेष्ठको कथा, सौरभ लामाको छायांकन र हिमाल केसीको द्वन्द्व रहेको फिल्ममा रोहित पुरी, गोविन्द गैरे र चन्द्रबहादुर क्षेत्रीको लगानी छ ।

प्रकाशित: २७ कार्तिक २०७४ ०४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App