८ वैशाख २०८१ शनिबार
अन्य

काठमाडौं– २ : ‘वाचा पूरा गर्दैनन् नेता’

नांलेभारेकी सानीमैयाँ भुजेल शनिबार बिहान धुलाम्मे सडक हुँदै बारीतर्फ जाँदै थिइन् । त्यसैदिन साँझ कोटेश्वरका सुनिल ढकाल भने सडक पार गर्न पेटीमा उभिइरहेका थिए । बिहान सानीमैयाँलाई कोदो टिप्ने हतारो थियो भने साँझ भेटिएका ढकाललाई सडक पार गरेर क्याफेमा कफी पिउने धोको ।
प्रतिनिधिसभा निर्वाचनका लागि निर्धारण गरिएको एउटै क्षेत्रमा बसोबास गर्ने भए पनि भुजेल र ढकालको जीवनस्तरमा फराकिलो खाडल छ । तर, चुनाव, राजनीतिक दल र तिनका नेताप्रतिको धारणामा भने खासै अन्तर भेटिँदैन ।
मुलुक बनाउने वाचा गर्दै भोट माग्न आउने नेतालाई पटक–पटक भोट हाले पनि आफ्नो क्षेत्रको सडक नबनेको उनीहरु दुवैको गुनासो छ । ‘मोटर नपाएर धुलाम्मे बाटो हिँड्दै छौँ,’  सानीमैयाँले भनिन्, ‘विकास गर्छु भनेर भोट माग्छन्, जितेपछि फर्कंदैनन् ।’ उनी विकासको आसमा नेतालाई भोट हाल्दै आएको सुनाउँछिन् । ‘नहालेर के गर्नु ?’ उनले भनिन्, ‘पुरानै मान्छेसँग नयाँ आशामा भोट हाल्ने हो ।’
ढकालका गुनासा पनि उस्तै छन् । उनलाई पनि सडक नबनेकामा चिन्ता छ । त्यसले आफ्नो क्षेत्रमा धुलोधुँवा बढाएको गुनासो गर्छन् उनी । प्रदूषणका साथै महँगी र सहरी अस्तव्यस्तताले उनलाई पिरोल्ने गर्छ ।
चुनावले नेता परिवर्तन गरे पनि अवस्था भने नसुध्रिएको ढकाल बताउँछन् । ‘बोलेका कुरा उनीहरू पूरा गर्दैनन्,’ उनी भन्छन्, ‘जिम्मेवारीबोध होस् भन्ने आशामा फेरि पनि भोट हाल्दै छौँ ।’
भुजेल र ढकाल मात्र होइन, काठमाडौं क्षेत्र– २ अन्तर्गतको नांलेभारेदेखि कोटेश्वरसम्मका मतदातामा उस्तै खाले साझा चिन्ता देखिए । यस क्षेत्रमा काठमाडौं महानगरपालिकाका वडा– ९ र ३२, कागेश्वरी मनहरा नगरपालिकाका वडा– ४, ५, ६, ७, ८ र ९ तथा शंखरापुर नगरपालिका पर्छन् । प्रतिनिधिसभाका लागि यस क्षेत्रमा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका माधवकुमार नेपाल र लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका दीपकप्रसाद कुइँकेल उम्मेदवार छन् ।
दोस्रो संविधानसभा निर्वाचनमा दुई स्थानबाट विजयी भएका नेपालले यो क्षेत्रको सभासद्बाट राजीनामा दिएका थिए । त्यसपछि भएको उपनिर्वाचनमा कांग्रेसका कुइँकेल सभासद् बनेका थिए ।
यस क्षेत्रका मतदाता यसअघि नेपालले जितेर पनि यस क्षेत्र छाडेर रौतहट गएको र कुइँकेलले जितेर पनि केही नगरेको गुनासो गर्छन् । यसपटकको निर्वाचनमा प्रतिनिधिसभाका लागि आफूलाई वैकल्पिक शक्तिका रूपमा  दाबी गर्दै आएको विवेकशील साझा पार्टीले भने सूर्यराज आचार्यलाई उठाएको छ ।  
‘गुनासामध्ये नै एउटा छान्नुपर्ने बाध्यता छ,’ डाँछीका रामप्रसाद न्यौपाने भन्छन्, ‘चुनाव जितेर जनताको हितमा काम  गरून् भन्ने अपेक्षा छ ।’ मतदातामा खासै ठूला अपेक्षा नभए पनि नेताले सामान्य अपेक्षालाई समेत पूरा गर्न चुकेको उनी बताउँछन् । ‘पानी, बत्ती, सडक त मागेका हौँ,’ उनले भने, ‘त्यति पूरा गर्न पनि उनीहरू सक्षम छैनन्  ।’ नेताले विदेश भ्रमण गरेर आउने र कुराचाहिँ विकसित मुलुकको जस्तो गर्ने तर विकास गर्न भने चासो नदेखाउने गरेको उनको गुनासो छ ।
‘भूकम्पले  भत्काएको घर अझै बनाउन सक्ने अवस्था छैन,’ साँखुकी लक्ष्मी डंगोल भन्छिन्, ‘अब बन्ने सरकारले भूकम्पपीडितको पक्षमा काम गरोस् ।’ उनी सबैभन्दा पहिले बासको समस्या हुने बताउँछिन् । त्यसपछि भने सडक उनको मुख्य आवश्यकता हो  ।  
कोटेश्वरका ९१ वर्षीय प्रभुनारायण श्रेष्ठ यसपटक पनि नयाँ आशाका साथ भोट हाल्न लागेको बताउँछन् । ‘बूढापाकालाई हेर्ने सरकार चाहियो,’ उनी भन्छन्, ‘पैसाभन्दा हामीले पाउने सेवा–सुविधा सजिलो हुनुप¥यो ।’ मुलुकमा शान्ति र समृद्धि होस् भन्ने चाहना बोकेका उनले त्यही आशा लिएर मतदान  गर्ने बताए ।  
स्थानीय निर्वाचन मत परिणामका आधारमा यो क्षेत्रमा वाम गठबन्धन बलियो देखिन्छ । स्थानीय निर्वाचनमा कागेश्वरी मनोहरा र शंखरापुर दुवै नगरपालिकामा एमालेले प्रमुखमा विजय हासिल गरेको थियो । काठमाडौं महानगरपालिकाको ९ र ३२ दुवै वडाध्यक्ष पनि एमालेले नै जित्यो ।
यस क्षेत्रका कतिपय मतदाता भने विकल्पको खोजीमा छन् । ‘पुराना धेरै हेरियो, अब नयाँ हेर्ने रहर छ,’ भीमसेनगोलाका अनिरुद्र अमात्यले भने, ‘त्यही आसमा भोट हाल्न जाँदै छु ।’ लामो समयदेखि नेताको व्यवहार र समस्या उस्तै रहेकाले परिवर्तन खोज्ने बेला आएको उनले बताए ।
स्थानीय निर्वाचनमा यस क्षेत्रमा कुल ४६ हजार तीन सय ५८ मत खसेको थियो । त्यसमध्ये वाम गठबन्धनमा आबद्ध पार्टीले २२ हजार पाँच सय ११ र लोकतान्त्रिक गठबन्धनमा आबद्धले १८ हजार आठ सय ७४ मत पाएका थिए । अन्य दलले यस क्षेत्रबाट चार हजार नौ सय ७३ मत पाएका थिए ।
दुई दशकपछि भएको स्थानीय तह निर्वाचनमा ६ महिनाअघि भोट हालेका मतदाता यसबेला प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि भोट हाल्ने तर्खरमा छन् । पटक–पटक चुनेर पठाएका नेता सरकार परिवर्तनको खेलमा लाग्ने र मुलुकलाई अस्थिर राजनीतिमा धकेल्न लागिपरेको देखेर निराश भएका उनीहरू यसपटक भने वाचा पूरा गर्ने नेतालाई भोट हाल्ने मनस्थितिमा देखिन्छन् ।

 

 

प्रकाशित: २७ कार्तिक २०७४ ०५:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App