coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

काठमाडौं क्षेत्र नम्बर–२, यस्ता छन् उम्मेदवारका प्रतिबद्धता

प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा उपत्यकामा चुनावी चहलपहल बढेको छ । विभिन्न क्षेत्रमा उम्मेदवारहरू आ–आफ्ना योजना लिएर मतदातासमक्ष जान थालेका छन् । प्रतिनिधिसभाका लागि काठमाडौं क्षेत्र– २ का विभिन्न पार्टीका उम्मेदवार पनि महŒवाकांक्षी योजना अघि सार्दै मतदातासमक्ष जान थालेका छन् । यस क्षेत्रबाट चुनाव लडिरहेका उम्मेदवारका अजेन्डा र मतदातालाई आकर्षित गर्ने योजना के–के छन् त ? नागरिक काष्ठमण्डपका लागि खिलक बुढाथोकीले उनीहरूसँग गरेको कुराकानी ः

दीपक कुइँकेल, लोकतान्त्रिक गठबन्धन
उम्मेदवार, काठमाडौं– २, प्रतिनिधिसभा

तपाईंको उम्मेदवारी किन ?
काठमाडौं क्षेत्र– २ को उपनिर्वाचन ०७१ मा मलाई यहाँका जनताले विजय गराएर संविधान निर्माणका लागि पठाएका थिए । त्यसअघि वामले जितिरहेको क्षेत्र थियो । तर, जतिपटक विजय गरे पनि वामले यो क्षेत्रलाई बेवास्ता गर्दै आए । ०७० को चुनावमा पनि एमालेबाट माधवकुमार नेपाल विजयी भएका थिए । विडम्बना, उनले पनि जनताको भावनाविपरीत यो क्षेत्र छाडेपछि उपनिर्वाचनमा यहाँका जनताले मलाई रोजे । म यो क्षेत्रमा २० वर्षदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको छु । तपाईंले यो क्षेत्रमा धेरै काम गर्नुभएको छ, यस क्षेत्रको पहिचान कायम गर्न भूमिका खेल्नुभएको छ भन्दै यसपटक पनि यहाँका जनताले अनुरोध गरेपछि मैले उम्मेदवारी दिएको हुँ ।

कस्ता अजेन्डा अघि सार्नुभएको छ ?
मैले चुनाव जित्न होइन, काम गरेर देखाउन अजेन्डा अघि सारेको छु । मेरो अजेन्डा भनेकै पार्टीको हो । अबको हाम्रो यात्रा समृद्धिका लागि हो । अन्य पार्टीले समृद्धिको नारा मात्रै बोकेर हिँडे, त्यसलाई वास्तविक बनाउनु नै मेरो प्रमुख अजेन्डा हो । हामीले यसअघि संविधान निर्माण गर्ने अजेन्डा अघि सारेका थियौँ । सोही संविधानअनुरूप अब शान्ति र समृद्धिको यात्रा तय गरेका छौँ ।

तपाईंको क्षेत्रको आवश्यकता के हो ?
यो क्षेत्र अन्यभन्दा दुर्गम पनि छ । यसको विकास गर्न यसअघि जति काम गरियो, त्यो पर्याप्त थिएन । त्यसैले अझ धेरै काम गर्नुपर्ने जिम्मेवारी काँधमा छ । यस क्षेत्रमा विशेषगरी बाटोघाटो र खानेपानीको समस्या देखिन्छ । त्यसका लागि मैले यसअघि नै पहल गरेर काम थालिसकेको छु । यस क्षेत्रमा धेरै धार्मिक तथा सांस्कृतिक ठाउँ रहेका छन् । त्यसलाई पर्यटकीय केन्द्र बनाउने प्रयास थालिसकेको छु ।

अव्यस्थित बस्तीका कारण खेतीयोग्य जमिन मासिएको छ नि ?
यस क्षेत्रमा व्यापक बस्ती निर्माण भइरहेको छ । यही अव्यस्थित बस्तीका कारण सरकारले स्मार्ट सिटीको अवधारणा ल्याएको छ । यसको कार्यान्वनयका लागि पनि निरन्तर रूपमा भूमिका खेलिरहेको छु । यो क्षेत्रलाई पुरानै ढर्राको कृषि प्रणालीभन्दा सेवा सहरको रूपमा विकास गर्ने योजना रहेको छ । त्यसका लागि साँखुलाई सांस्कृतिक सहर, काठमाडौं महानगरपालिकाको वडा ९ र ३२ लाई नमुना सहर बनाउन लागेको छु । वडा ९ र ३२ अन्तर्राष्ट्रिय विमानस्थलबाट निस्कनेबित्तिकै भेटिने क्षेत्र हुन् । यी क्षेत्रलाई नमुना बनाएपछि नेपाल आउने विदेशीको नजरमा नेपालको छाप बस्नेछ । त्यसैगरी, स्मार्ट सिटी र साँखुको सांस्कृतिक सहरनजिकै पञ्चमहालक्ष्मीमा नेपाल माताको मन्दिरसहित आधात्मिक सहर बनाउने योजना पनि अघि बढाएको छु । यसले नेपालकै सान बढाउने विश्वास लिएको छु ।

तपाईंका योजनाले निरन्तरता पाउँछन् भनेर कसरी पत्याउने ?
मैले चुनाव जित्न यी योजना बाँडेको होइन । आफूले गरिरहेको कामबारे सुनाएको हुँ । मैले बोलेका सबै काम कुनै न कुनै रूपमा अगाडि बढिरहेका छन् । चुनावपछि पनि यी कामले निरन्तरता पाउनेमा कुनै शंका छैन । मेलम्चीको पानी यो क्षेत्रमा ल्याउन पनि मैले नै पहल गरेको हुँ । साँखुलाई सांस्कृतिक सहर बनाउने होस् वा स्मार्ट सिटी अगाडि बढाउन मैले नै भूमिका खेलेको हुँ । जरसिंहपौवामा खेलकुद मैदान बनाउन पनि मैले पहल गरेको छु । यस क्षेत्रमा गर्नुपर्ने धेरै काम छन् । सबै काम गरेर नमुना सहरको रूपमा यस क्षेत्रलाई विकास गर्न पनि यहाँका जनताले मलाई बहुमतले जिताउने विश्वास गरेको छु ।

लोकेश ढकाल, लोकतान्त्रिक गठबन्धन
काठमाडौं– २, प्रदेशसभा ‘क’

०३६ सालदेखि विद्यार्थी राजनीतिमा होमिएको हुँ । त्यसयता यस क्षेत्रका जनताको साथमा रहेर काम गरिरहेको छु । यसको पूर्वाधार निर्माणदेखि सामाजिक विकाससम्म भूमिका खेलिरहेको छु । राजनीतिमा पनि इमानदार व्यक्तिका रूपमा चिनिएको पात्र हुँ । त्यसैले नेपाल कांग्रेसले उठाएका अजेन्डालाई कार्यान्वयन गर्नु मेरो प्राथमिकता रहनेछ । यो क्षेत्र वामले जित्दै छाड्दै गरेको क्षेत्र हो । त्यसैले यहाँका जनतालाई हामीजस्ता इमानदार मान्छेको खाँचो छ । मैले नाङ्लेभारेदेखि कोटेश्वरसम्मकै जनतासँग भिजेर काम गरिरहेको हुँदा यहाँका जनताले अत्यधिक बहुमतले जिताउनेमा विश्वस्त छु । प्रजातान्तिक शक्तिलाई बलियो बनाएर समृद्ध मुलुक बनाउनु अबको आवश्यकता हो । मेरो क्षेत्रमा काठमाडौं महानगरपालिकाका वडा ९ र ३२ पर्छ । जहाँ अत्यन्तै सचेत मतदाता छन् । उनीहरूले स्थायित्व खोजेका छन् । मैले पनि यो क्षेत्रलाई साँच्चिकै महानगर बनाउने लक्ष्य बोकेको छु ।

मनहरि खड्का, लोकतान्त्रिक गठबन्धन
काठमाडौं– २, प्रदेशसभा ‘ख’

०४४ सालदेखि राजनीतिमा सक्रिय रहेर देशको विकासमा खटिरहेको छु । यहाँको विकास निर्माण गर्न सधैँ सक्रिय भएर लागिरहेको छु । यहाँका जनतासँग भिजेको हुनाले मलाई जिताउनेमा शंका छैन । यहाँ कस्तो विकास आवश्यक छ भनेर पनि मलाई राम्रोसँग थाहा छ । मेरो क्षेत्र काँठ क्षेत्र पनि पर्छ । काँठ क्षेत्रमा विकासका तरंगक फैलाउनुछ । अहिलेको आवश्यकता नै शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा बाटोघाटो नै हो । म विजयी भएपछि पनि यी क्षेत्रमै केन्द्रित भएर विकास निर्माणमा लाग्नेछु । यहाँका जनताको जीवनस्तर उकास्नु नै पहिलो प्राथमिकता हुनेछ । अहिले वामहरूले प्रहार गरिरहेका बेला लोकतन्त्रलाई बलियो बनाउनुपर्नेछ । त्यसका लागि पनि यहाँका जनताले नेपाली कांग्रेसलाई मत दिएर विजयी गराउनेछन् ।

सूर्यराज आचार्य, विवेकशील साझा पार्टी
काठमाडौं– २ प्रतिनिधिसभा

तपाईंलाई मत किन दिने ?
देशले राजनीतिमा विकल्प खोजिरहेको छ । त्यही विकल्पका रूपमा यसअघि पनि केही पार्टी आए, तर तिनले पार्टीको रूप लिन सकेनन् । विवेकशील त्यही विकल्पका रूपमा जसरी हुन्छ देशलाई बदल्न उत्रिएको हो । देशको आवश्यकता देखेर उत्रिएको हुँदा जनताले हामीलाई अवसर दिनेछन् ।
अर्को कुरा, अहिलेसम्म राज्य सञ्चालनको दक्षता देखाउन सकिएको छैन । नेतृत्व र क्षमता नभएका मान्छेले राज्य सञ्चालन गरिरहेका छन् । योग्यताविना नै मन्त्री र प्रधानमन्त्री बनेर राज्यको दोहन गरिरहेका छन् । राज्य सञ्चालनमा आवश्यक न्यूनतम आधारविनै राज्य सञ्चालन गर्दा हामी धेरैपछि धकेलिएका छौँ । अब हामीजस्ता योग्य मान्छे राजनीतिमा आउन आवश्यक छ । म आफैँ पनि पूर्वाधार विज्ञ भएको नाताले विकास र समृद्धिका लागि जनताले मलाई रोज्नेछन् ।
यो क्षेत्रमा घना बस्तीदेखि बस्ती उन्मुख क्षेत्र समेत पर्छ । राजधानीको घनाबस्ती पनि यहाँ छ । सांस्कृतिक सहर साँखु पनि यहीँ छ । लप्सेफेदी, नांलेभारेजस्तो ग्रामीण क्षेत्र पनि छ । यो क्षेत्रको विकास अबको आवश्यकता हो । आवश्यकता अनुसारको विकास अन्यले भन्दा मैले गर्न सक्ने भएकाले पनि चुनाव जित्ने बलियो आधार देखेको हुँ ।

मतदाताबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
यस क्षेत्रको उम्मेदवारमा म उठ्ने कुरा पार्टीमा चल्दै गर्दा केही डर लागेको थियो । वामपन्थीको पकड क्षेत्रमा हामीलाई जनताले विश्वास नगर्ने हुन् कि जस्तो लागेको थियो । तर, अहिले निरन्तर रूपमा मतदाताको घरमा पुग्दा म आफैँ चकित परेको छु । मैले सोचेभन्दा बढी रूपमा मतदाताले मलाई रुचाएका छन् । हामीले विकल्प खोजिरहेका बेला तपाईंजस्तो उम्मेदवार पाउँदा छौँ भनिरहेका छन् । मतदाताको उत्साह देखेर चुनाव जित्ने आत्मविश्वास बढेको छ ।

तपाईंका योजना के छन् ?
यस क्षेत्रमा विकासका आधारभूत आधार समेत तयार हुन सकेको देखिन्न । पहिलो प्राथमिकताको साथ जनताको सरोकारका विषयमा केन्द्रित रहनेछु । पेप्सिकोला, गोठाटार लगायत अन्तर्राष्ट्रिय विमानस्थलका कारण स्थानीय ध्वनि प्रदूषणको चर्को मार खेपिरहेका छन् । खराब नीतिका कारण उनीहरूले यो मार खेप्न बाध्य छन् । नीतिगत तहमै परिवर्तन गरेर यहाँका जनतालाई ध्वनि प्रदूषणबाट मुक्त गर्न लाग्नेछु । म आफैँ पनि पूर्वाधारविद् भएकाले यहाँ हुने गरेका विकास निर्र्माणको ढिलासुस्ती पत्ता लगाएर त्यस्ता काम छिटोछरितो गर्न निर्वाचित भएको भोलिपल्टैदेखि लाग्नेछु । राष्ट्रिय रूपमै विकास निर्माण, भ्रष्टाचारमुक्त र सुशासनयुक्त राज्य निर्माणमा निरन्तर लाग्नेछौँ ।

यो क्षेत्रका जटिल समस्या के देख्नुभएको छ ?
नेपालले जस्तो समस्या भोगिरहेको छ, यो क्षेत्रले पनि त्यही समस्या भोगिरहेको छ । न यहाँ कुनै बालकका लागि उपयुक्त छ, न युवा, वृद्धका लागि आवश्यक स्थलको व्यवस्था छ । अर्को कुरा स्मार्ट सिटी बनाउने भनेर हल्ला फैलाइएको छ, तर स्थानीयको आवाजलाई सुनिएको छैन । ऐतिहासिक सहरका रूपमा चिनिएको साँखुको पुनर्निर्माण होस् वा यहाँका पर्यटकीय तथा धार्मिक क्षेत्रका विकास केही पनि हुन सकेको छैन । सडकको अवस्था त झन कुरै नगरौँ । त्यस्तो हुँदा समेत यहाँका बासिन्दा मौन छन् ।

रिसिका भट्टराई विवेकशील साझा पार्टी
काठमाडौं– २ प्रदेशसभा ‘क’
म सिनामंगलकी स्थानीयवासी हुँ । ६ वर्ष जापानमा हुर्केपछि नेपाल आएर स्नातकसम्मको अध्ययन गरेँ । त्यसपछि छात्रवृत्तिमा अमेरिकाबाट व्यवस्थापन र नेतृत्व विषयमा डिग्री गरेँ । मेरो पढाइ पनि नेतृत्वसम्बन्धी भएकाले राजनीतिबारे चासो हुन्थ्यो मलाई । नेपालमा आएर पनि महिला र युवाको अवस्थाबारे चासो दिइरहेँ । अहिले हुन गइरहेको चुनावमा पनि महिला र युवाको राजनीतिक मुद्दालाई अघि सारेर मैदानमा उत्रिएको छु । विदेशमा अवसर पाएँ पनि नेपालका लागि केही योगदान गर्न फर्केर आएको हुँ । समाज तथा समाजका समस्यालाई राम्रोसँग बुझेको छु । एक सक्षम युवा भएकाले यस क्षेत्रका बासिन्दाले जिताउनुहुनेमा विश्वास छ । जितेर प्रतिनिधित्व गरेको खण्डमा यहाँका नागरिकको तथा क्षेत्रको विकासमा केन्द्रित हुनेछु ।

केशव पौडेल, विवेकशील साझा पार्टी
काठमाडौं– २ प्रदेशसभा ‘ख’

म थलीको स्थानीय बासिन्दा हुँ । विदेशमा जोखिम र आर्थिक विश्लेषण विषयमा डिग्री गरेर केही समयअघि नेपाल आएको हुँ । विदेशमा रहँदा पनि नेपालमा सामाजिक कार्यमा सहभागिता जनाउँदै आएको थिएँ । आफ्नै खर्चमा भूकम्पपीडितलाई राहतदेखि गाउँघरमा हुने मन्दिर निर्माण लगायत सामाजिक काममा सघाउँदै आएको थिएँ । नेपाल आएपछि भने सामाजिक कार्यमा अझ सक्रिय रूपमा प्रस्तुत हुँदै आएको छु । समाज विकासका लागि योगदान दिन राजनीति गर्न मैदानमा उत्रिएको छु । विदेशमा सिकेको अनुभव तथा ज्ञानको सदुपयोग गरेर समाज विकास गर्न मैदानमा उत्रिएको मजस्तो सक्षम युवालाई यहाँका बासिन्दाले जिताउँछन् भन्ने पूर्ण विश्वासमा छु । मेरो क्षेत्रमा पनि युवा उद्यमशीलताको विकास गरेर विदेश जान बाध्य युवालाई रोक्नेछु । अहिले यो क्षेत्रको बाटोघाटो तथा खानेपानीजस्ता चिजको ठूलो समस्या रहेको छ ।

माधवकुमार नेपाल, संयुक्त वाम गठबन्धन
काठमाडौं– २, केन्द्रीय प्रतिनिधि

तपाईंलाई मत किन दिने ?
समग्रमा काठमाडौं क्षेत्र– २ का जनताले नेकपा एमालेलाई माया गर्दै आउनुभएको छ । वामलाई सहयोग गर्दै आउनुभएको छ । मैले पनि व्यक्तिगत रूपमा यो क्षेत्रको विकासमा योगदान गर्दै आएको छु । अब राष्ट्रियस्तरमा पनि वामको लहर चलेका वेला यसपटक पनि यहाँका जनताले वामलाई बहुमतले जिताउने कुरामा शंका छैन । म यसै क्षेत्रको बासिन्दा पनि हुँ । मेरो आफन्त तथा नातागोता पनि यस क्षेत्रमा धेरै छन् । त्यो मात्र हेरेर होइन, मैले गरेको सहयोग तथा विकासलाई हेरेर यहाँका जनताले जिताउने हो । यस क्षेत्रको बाटोघाटो, पुलपुलेसा, खानेपानी, टेलिफोन, विद्युत्, शिक्षा, स्वास्थ्यको विकासमा दिनरात खटेको छु । यो क्षेत्रका बासिन्दाको हरेक दुःखसुखमा साथ दिन पुगेको छु । व्यक्तिगत हिसाबमा पनि सक्षम उम्मेदवार रहेकाले तथा पार्टीगत हिसाबले पनि अबको आवश्यकता देखिएकाले यहाँका जनताले मलाई भोट दिनेछन् । अहिले पनि मतदाता स्तरमा मलाई पाउँदा खुसियाली मनाइरहेका छन् । घरदैलोमा पुग्दा उत्साह छरिएको देखिन्छ । त्यसैले यहाँका जनताले बहुमतले जिताउने छन् भन्दा फरक पर्दैन ।

अघिल्लो चुनावमा जिताएर पठाउँदा तपाईंले क्षेत्र नै छोड्नुभयो भन्ने आरोप छ नि ?
मैले क्षेत्र छाडेको होइन । बाध्यताले गर्दा कागजी तथा कानुनी रूपमा क्षेत्र छाडे पनि म स्थानीयसँग नजिक भएर काम गरिरहेँ । स्थानीयसँग म कहिल्यै टाढा भइनँ । निर्वाचित सांसद्जस्तो भूमिका निर्वाह गरिरहेँ । उनीहरूले बोलाएका कुनै कार्यक्रममा जान छाडिनँ । भूकम्पका बेला समेत उनीहरूसँग बिताएँ । सहयोग उपलब्ध गराएँ । त्यसैले जनताको मुखबाट त्यस्तो सुनेको छैन । कसैसँग त्यस्तो कुण्ठा भए पनि अब छाड्दैन भन्ने उनीहरूलाई थाहा छ ।

तपाईंका प्रमुख अजेन्डा के हुन् ?
जसरी पार्टीले विकास र समृद्धिलाई राष्ट्रिय अजेन्डा बनाएको छ, यो क्षेत्रमा पनि त्यो अजेन्डा त हुने नै भयो । योसँगै यही क्षेत्रका लागि भनेर आवश्यक बाटोघाटो विस्तारदेखि यहाँ रहेका सबै समस्याको समाधान गर्न लाग्नेछु । यहाँ सुकुम्बासी समस्या, मुआब्जा समस्या धेरै रहेको छ । यी समस्याको समाधान गर्दै स्मार्ट सिटी बनाउन पनि भूमिका खेल्छु । त्यसैगरी रोजगार उपलब्ध गराउन होस् वा यहाँका विकास संघ–संस्था तथा सरकारी कार्यालयलाई प्रभावकारी गराउन लाग्नेछु ।

तपाईंका अजेन्डा कार्यान्वयन होला भनेर कसरी पत्याउने ?
अरुले सपना बाँड्छन् तर हामी सधैँ विपना बाँड्छौँ । मेरै केसमा उदाहरण लिनुहुन्छ भने माथिल्लो तामाकोसी मैले नै अगाडि बढाएको हो । त्यो अहिले अन्तिम चरणमा पुगको छ । त्यसैगरी फास्ट ट्र्याक पनि त अरुले सपनाको रूपमा बाँडिरहेका थिए तर मैले नै अगाडि बढाएँ । अहिले नेपाली सेनाले निर्माण गर्ने तयारी गर्दै छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पनि त मैले नै अगाडि बढाएको थिएँ । जनता आवास लगायतका कार्यक्रम अगाडि बढाएर कार्यान्वयनमा ल्याएको विगतलाई हेर्दा पनि पत्याउने आधार छन् । म गर्न नसक्ने कामबारे बोल्दिनँ । जे बोल्छु, त्यो गरेर छोड्छु । यहाँका जनतासमक्ष पनि त बोलेका काम गरेको छु । यहाँको सडक समस्या समाधान गर्न होस्, संघ–संस्थाको विकास होस्, सबै मैले नै गरिरहेको हुँ । त्यसैले पनि मेरो अजेन्डाबारे यहाँका जनताले शंका गर्नुपर्ने कारण छैन ।

सानुकुमार श्रेष्ठ, वाम गठबन्धन
काठमाडौं– २ प्रदेशसभा ‘क’

कोटेश्वरको स्थानीय हुँ । बैंकको स्थायी जागिर छाडेर ०३५ सालदेखि विद्यार्थी राजनीतिमा होमिएको हुँ । समाज तथा देशको विकासका निम्ति लामो समय बिताइसकेको छु । अब भने देशमा तीव्रतामा विकास आवश्यकता देखिएको छ । त्यसका लागि स्थायी सरकार आवश्यक छ । स्थायी सरकारले मात्रै आर्थिक समृद्धि ल्याउन सक्छ । त्यसैका लागि वाम गठबन्धन हो । यहाँका जनताले मत दिएर जिताउँछन् भन्नेमा दुई मत छैन । लामो समयदेखि स्थानीयसँग भिजेर काम गरिरहको छु । जितेपछि भने पहिलो चरणमा एअरपोर्ट विस्तारका लागि अधिग्रहण भएका घर–जग्गाको मुआब्जा दिलाउन लाग्नेछु । त्यसैगरी, तीनकुनेको जग्गाको विवाद सल्टाएर पार्क निर्माण गर्नेछु । मनोहरा जडीबुटीको टाउन प्लानिङ तथा करिडोरको विकास गरी सार्वजनिक जग्गाको व्यवस्थित गरेर पार्क बनाउनु मेरो पहिलो काम हुनेछ ।

मनिराम फुयाँल, वाम गठबन्धन
काठमाडौं– २ प्रदेशसभा ‘ख’

म मूलपानीको स्थानीय हुँ । ०४० सालदेखि सामाजिक, शैक्षिक तथा राजनीतिक क्षेत्रमा सक्रिय छु । यस क्षेत्रका विकास निर्माणमा पनि उसैगरी सक्रियता देखाउँदै आएको छु । दुई दशकभन्दा बढी शिक्षण पेसामा रहँदा यस क्षेत्रको विकासका लागि पनि उत्तिकै सक्रिय रहेँ । यस क्षेत्रको बाटोघाटो, पुलपुलेसा लगायत काममा भूमिका खेलेँ । त्यस अलावा यस क्षेत्रका जनताको दुःखसुखका लागि खटिरहेको छु । जनताको सामाजिक जीवनसँग प्रत्यक्ष नजिक रहेर काम गरिरहेको छु । अब भने समृद्ध नेपाल मूल नारा लिएर चुनावमा उत्रिएको छु । सर्वप्रथम समृद्ध नेपालका लागि आफ्नै क्षेत्रबाट सुरुवात गर्छु । यस क्षेत्रमा उद्यमशीलताको विकास गर्दै रोजगारी सिर्जना गरेर यहाँका जनताको जीवनस्तर उकास्नुको साथै विदेश गएका युवा शक्तिलाई फर्काउनु मेरो पहिलो प्राथमिकता हो ।

प्रकाशित: २७ कार्तिक २०७४ ०५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App