८ वैशाख २०८१ शनिबार
अन्य

सहरवासी सहनशील लाग्छ : सृष्टी श्रेष्ठ

सृष्टी श्रेष्ठ, मिस नेपाल

तपाईंलाई मनपर्ने सहर कुन हो ?
मलाई सहर त्यति मन पर्दैन । पुराना ऐतिहासिक बस्ती र हरियाली भएको ठाउँ मनपर्छ । मेरो रोजाइको ठाउँ बन्दीपुर बजार हो । यो सहर धेरै सुन्दर लाग्छ । यहाँ एकैनासे पुराना घर, ग्रामीण जीवनशैली, पुराना कलाकृतिलगायत विशेषता पाइन्छ । त्यहाँको मौलिकता नियाल्न पाउँदा एकदमै आनन्द आउँछ ।
तपाईंको सपनाको सहर कस्तो होला ?
बाहिर निस्कँदा फोहोर र प्रदूषण देख्न नपरोस् । सडकमा यात्रा गर्दा आनन्दको अनुभूति होस् । सहर हरियाली र शान्त देखियोस् । मेरो सपनाको सहर काठमाडौं नै हो । यहाँ सबै सुविधा पाइन्छ । मैले आफ्नो करिअर पनि यहीँबाटै सुरु गरेकी थिएँ । त्यसैले जहाँ गए पनि यी ठाउँलाई सम्झन्छु ।
तपाईंको विचारमा सहर कस्तो हुनुपर्छ ?
सहरमा सबैको सपना अठिएको हुन्छ, जहाँ मानिसले हरेक प्रकारका सेवा सुविधा पाउँछन् । सुविधायुक्त र अवसर हुने भएकोेले पनि सहरलाई धेरैले सपना पूरा गर्ने थलो सम्झेका हुन्छन् । गाउँमा जन्मेका मानिस आफ्ना सपना पूरा गर्न सहरमै पुग्ने गर्छन् । मैले पनि आफ्नो खास सपना सहरबाटै पूरा गरेकी हुँ । हरियाली सहरको प्रतीक हो भने सुविधा सहरको विषेशता हो । अर्को कुरा सहर प्रदूषणमुक्त र हेर्दै रमाइलो लाग्ने हुनुपर्छ । तर, अहिले जे मनपर्दैन काठमाडौंवासीले त्यही भोगिरहेका छन् । जताततै प्रदूषण र फोहोर छ । यसलाई सरकारले सक्दो छिटो समाधान गर्नुपर्छ ।
तपाईं नेपालबाहिर कुन–कुन देश पुग्नुभएको छ ?
मैले १० भन्दा धेरै देश घुमें । तीमध्ये युके, स्पेन, जर्मनी, थाइल्यान्ड, होल्यान्ड, भारत, फ्रान्सलगायत देशका सहर ज्यादै मनप¥यो । यी देशका सहर व्यवस्थित छन् ।
यी देश पुग्दा मनपरेका सहर कुन–कुन हुन् ?
मलाई स्पेनको कोस्टाब्राब्रा, फ्रान्सको मोनाको, भारतको कुर्क र थाइल्याण्डको बैंकक धेरै राम्रो लाग्यो । यी सहर मनमोहक थिए । यी सहरका सडक व्यवस्थित छ । ट्राफिक नियम पनि कडा छ । जनता सचेत छन् । हामी पनि सबै मिलेर नेपालका सहरलाई त्यस्तै बनाउन आवश्यक छ ।
उपत्यका कस्तो लाग्छ ?
उपत्यका धेरैको भविष्य अडिएको सहर हो । यसैलाई टेका बनाएर मानिस आफ्ना लक्ष्य पूरा गर्न खोजेका छन् । तर, विडम्बना ! अहिले काठमाडौं दिक्दार लाग्ने खालको छ । जताततै अस्तव्यस्त मात्रै देखिन्छ । धन्न ! सहरवासी सहनशील छन् । सहरको हरेक समस्या पचाउन सकेका छन् । एकले अर्कोलाई चासो राख्छन् । सहरवासीको यो बानी मलाई राम्रो लाग्छ । यहाँको सरकार जिम्मेवार भएन । सरकारकै कारण सहर भद्रगोल भएको हो ।
के गरियो भने सहर व्यवस्थित बन्ला ?
सरसफाइ, बाटोघाटो, व्यवस्थित पार्क, ट्राफिक व्यवस्थापन, धुवाँधुलो रोकथामलगायत समस्या केन्द्रमा राखेर काम गर्ने हो भने सहर व्यवस्थित बन्छ ।
काठमाडौंको मनपर्ने पक्ष के हो ?
यहाँको मौसम, पुराना बस्ती र ऐतिहासिक सम्पदा मनपर्छ । यी क्षेत्रमा पुग्दा आनन्द महसुस हुन्छ । उपत्यकामा हामीले चाहेका सुविधा पनि सजिलै पाइन्छ ।
मन नपर्ने पक्ष ?
यहाँको धुवाँधुलो र ट्राफिक जाम देख्दा दिक्दार लाग्छ । सहरको समस्या देखेर सहरवासी पनि आजित भइसकेको छन् । तर, सरकार होसियार भएन ।
साथीभाइ भेटघाटमा कत्तिको रुचि राख्नुहुन्छ ?
कहिलेकाहीँ समय मिलेको बेला भेटिन्छ । काम छाडेर साथीभाइ भेट्ने बानी छैन ।
साथीभाइसँग भेटघाट गर्दा कुन ठाउँ रोज्नुहुन्छ ?
नमोबुद्ध, नगरकोट, ककनी, दरबार क्षेत्रलगायत । यी ठाउँबाट हरियाली डाँडाकाँडा नियाल्न पाइन्छ ।
सहरलाई व्यवस्थित बनाउन के गर्नुपर्ला ?
सरकारले ल्याएका योजनालाई व्यवहारमा उर्तान सक्नुपर्छ । भइरहेका विकास निर्माण छिटो सक्नुपर्छ । सहरको रूप बिगार्ने भवन बनाउन दिनुहुँदैन । यी सबै व्यवस्था लागू गर्न सरकारी नियममात्रै भएर हुँदैन, सरकारको नेतृत्व गर्नेहरू नै बढी जिम्मेवार हुनुपर्छ । हाम्रोमा सरकार नै फितलो छ । नागरिक पनि उत्तरदायी छैनन् । योजनाबद्ध रूपमा काम गरेको भए आज काठमाडौं धेरै राम्रो बन्थ्यो होला । सरकारले गल्ती गरेको ठाउँमा नागरिकले पनि जिम्मेवार भएर खबरदारी गर्न सक्नुपर्छ ।
काठमाडौंको मनपर्ने खानेकुरा के हो ?
नेवारी खाजा र खाना मनपर्छ ।
मन भएर पनि घुम्न नपाएको सहर कुन हो ?
मलाई साउथ अमेरिका घुम्ने रहर छ । हैरौं त्यो रहर पनि कुनै दिन पूरा हुन्छ होला ।

प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: २७ कार्तिक २०७४ ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App