४ वैशाख २०८१ मंगलबार
अर्थ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : भौतिक पूर्वाधार बनाउन सुरु

पोखरा- सरकारको राष्ट्रिय गौरवको आयोजनाको रूपमा प्राथमिकतामा परेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक निर्माण बल्ल सुरु भएको छ । विमानस्थल निर्माणका लागि प्रस्तावित जग्गा आइतबारदेखि सम्याउन थालिएको हो ।
चार वर्षभित्र निर्माण सक्ने गरी विमानस्थलको भौतिक पूर्वाधार बनाउन थालिएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख इन्जिनियर प्रदीप अधिकारीले विमानस्थल बनाउँदाको प्रारम्भिक काम सुरु भएको बताए । ‘सुरुमा मैदान सम्याउनेदेखि आवश्यक ढल, नाला मिलाउने गरी काम थालेका छौं,’ उनले भने, ‘यसले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले गति पाएको सन्देश पुगेको छ ।’

विमानस्थल बनाउन २१ अर्ब ४७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यो रकम अर्थ मन्त्रालयले चीनको एक्जिम बैंकसँग सहुलियत ऋणका रूपमा लिनेछ । प्राधिकरणले १३ वर्षमा ऋण चुक्ता गरिसक्नु पर्नेछ


अधिकारीका अनुसार क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउने जिम्मा पाएको चिनियाँ निर्माण कम्पनी चाइना सिएएमसी इन्जिनियरिङले डिजाइनको गाइडलाइनअनुसार विमानस्थल बनाउने बताए । ‘अहिले ‘अर्थवर्क’ (माटोको काम) मात्र सुरु भएको छ । कुनै पनि विमानस्थल बन्दा यो नै पहिलो काम हुन्छ,’ अधिकारीले भने, ‘विमानस्थल निर्माणको आधार नै अर्थवर्क मानिन्छ ।’
अधिकारीका अनुसार अर्थवर्क सकेपछि विमानस्थलको नाला, धावनमार्ग, ट्याक्सी–वे, टर्मिनललगायतका पूर्वाधार कुन ठाउँमा रहन्छन् भन्ने देखिने गरी टुंगो लाग्नेछ ।’ अर्थवर्कको सबै काम सक्न सन् २०१९ को मे महिनासम्म समय लाग्नेछ । सन् २०१८ मे महिनासम्म ८० प्रतिशत काम सकिने र बाँकी सकिन अर्काे एक वर्ष समय लाग्ने अधिकारीले बताए ।
यसबीचमा अरू पनि पूर्वाधार निर्माणका काम हुने उनले बताए । ‘मैदान सम्याएर मात्र बस्दैनौं । डिजाइनअनुसारका काम पनि हुनेछन्, विमानस्थलको फ्रेमवर्क आउन २०१९ को मेसम्म कुर्नुपर्नेछ,’ अधिकारीले भने, ‘वास्तविक रूपमा विमानस्थल निर्माणको काम बल्ल सुरु भएको हो ।’
निर्माण कम्पनी चाइना सिएएमसी इन्जिनियरिङका आयोजना प्रमुख जेरी याङ सरकारले दिएको समयभित्रै काम सक्ने गरी थालनी भएको बताए । ‘सरकार, स्थानीय तह, सर्वसाधारण सबैको सहयोग हुने हो भने हामीले निर्धारित समयभित्रै काम सक्छौं,’ जेरीले भने, ‘अहिले सुरुआत मात्र हो । कतैबाट पनि अवरोध नहोस् भन्ने चाहेका छौं ।’ उनका अनुसार यो वर्षको अन्तसम्म अतिरिक्त उपकरण भिœयाएर कामलाई गति दिने योजना छ ।
‘हामीले कामलाई निरन्तरता दिन चाहेका छौं । अहिले ३० जना इन्जिनियर खटिएका छन् । तीबाहेक अरू ९० जना कामदार पनि मैदानमा छन्,’ उनले भने, ‘विमानस्थल बनाउनका लागि सबैभन्दा महŒवपूर्ण अर्थवर्क मानिन्छ । त्यो कामले गति पाएको छ ।’ उनले विमानस्थल निर्माणका लागि नेपाली उपकरणसहित चिनियाँ र अन्य मुलुकबाट समेत भिœयाउने तयारी भएको बताए । ‘हाम्रो पूर्ण डिजाइन अन्तर्राष्ट्रिय मापदण्डअनुसारको हुनेछ,’ उनले भने ।
सरकारले सन् २०२१ जुलाईसम्म विमानस्थल निर्माण सक्ने गरी चिनियाँ निर्माण कम्पनीलाई जिम्मा दिएको छ । चिनियाँ लगानीकर्ता ‘एक्सपोर्ट–इम्पोर्ट’(एक्जिम) बैंकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दिने सहुलियत दरको ऋण यसअघि नै अनुमोदन गरेको छ । एक्जिम बैंकले अर्थ मन्त्रालयलाई गत ३१ मेदेखि ‘लोन इफेक्टिभ’ भएको जानकारी यसअघि नै दिएको छ । लोन अनुमोदन भएको चार वर्षभित्र विमानस्थल निर्माण सक्नुपर्ने हुन्छ ।
विमानस्थल बनाउन २१ अर्ब ४७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यो रकम अर्थ मन्त्रालयले चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकसँग सहुलियत ऋणका रूपमा लिने सहमति भएको थियो । प्राधिकरणले लिएको ऋण १३ वर्षमा चुक्ता गर्नुपर्नेछ । सुरुका सात वर्षलाई ‘ग्रेस पिरियड’ मानिएको छ । त्यसैले प्राधिकरणले सात वर्षपछि मात्र ऋण तिर्न थाल्नेछ । वर्षमा दुई किस्ताका दरले २६ किस्ता (१३ वर्ष) मा ऋण चुक्ता गर्ने गरी सम्झौता भएको अधिकारीले बताए ।
त्यस्तै, विमानस्थल बनाउन पाँच सय २१ रोपनी जग्गा अधिग्रहण सकिएको छ । पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन चिनियाँ कम्पनी चाइना सिएएमसिई इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच सहमति भएको थियो । प्राधिकरण र सिएएमसिईबीचको सम्झौतामा इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन)को मापदण्डअनुसार ‘फोर डी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ ।
इपिसी मोडलमा बन्ने भएकाले ठेकेदारले चार वर्षपछि सरकारलाई विमानस्थल हस्तान्तरण गर्नेछ । चार दशकअघि पोखरा–१४, १५ र १८ वडा को ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो । त्यसले नपुगेपछि थप ५ सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

प्रकाशित: २८ कार्तिक २०७४ ०३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App