८ वैशाख २०८१ शनिबार
कला

वेपत्ता भएकी ‘झ्यालिन्चा’

काठमाडौं- युवतीलाई झ्यालिन्चा (गाइनेकिरा) एकदमै मनपर्ने । सानीछँदा  युवती झ्यालिन्चा वरिपर खुब कुद्ने । पछि, उनका आमाबाले उनलाई झ्यालिन्चा नै भन्न थाले । सशस्त्र द्वन्द्व कालमा गाउँघरमा झ्यालिन्चाको धून र गतिलाई  बमबारुदले छोपिदियो ।
एक दिन उनको होटलमा लालसेनाहरू आए । पाहुना देउता हुन् भन्ने सोचेर खुब सत्कार गरिन । त्यसको भोलिपल्ट सरकारी सैनिकहरू बुट बजार्दै आए र झ्यालिन्चालाई लिएर गए । झ्यालिन्चाले भाग्ने कोशिस गरिन् तर सकिनन् । उनी सैनिकको बलात्कारमा परिन् । सैनिकले किचिमिची गरेर मारेपछि ऐंसुलुको झाँङमुनी गाडिदिए ।
मृत्युपछि युवती प्याजी रंगको झ्यालिन्चा बन्छे । आफ्नो पीडा पोख्न शहरको नामी लेखक हासबिराको वरिपरि घुम्छे । लेखकले उनकै नाममा उपन्यास लेख्न खोज्छन् ।

कुमार नगरकोटीको कथालाई दयाहाङ राईले नाट्य रुपान्तरण गरेका नाटकले जनयुद्ध र वेपत्ता परिवारको कथालाई फरक तरिकाले प्रस्तुत गरेको छ ।

तर, के झ्यालिन्चाले आफ्नो कथा भन्न सफल हुन्छे त ? यो कथा थाहा पाउन भने मण्डला थिएटरमा चलिरहेको नाटक झ्यालिन्चा हेर्नुपर्छ । कलाकार दयाहाङ राइले निर्देशन गरेको नाटक झ्यालिन्चाको कथा भने लेखक कुमार नगरकोटीको हो । नाटकबाटै आफ्नो अभिनय यात्रा सुरु गरेका दयाहाङ आफ्नो मन परेको काम छाड्न नखोजेकाले नै नाटक निर्देशनमा लागेको बताउँछन् । ‘म नाटकबाटै अगाडी बढें । नाटकबाट टाढा जान सक्दिनँ,’ उनले भने, ‘भ्याएसम्म एक सिजनमा नाटक त गर्छु नै ।’ नाटक गर्न खोजिरहँदा एकदिन लेखक कुमार नगरकोटीले सुनाएका धेरै कथामध्ये उनलाई झ्यालिन्चा घत प¥यो ।
‘तर, उहाँले त मलाई कथा सुनाउनु भएको थियो । त्यसलाई नाटक कसरी बनाउने भन्ने अन्योल मलाई थियो,’ राइले भने, ‘कथा भन्ने शैलीमै नाटक बनाउन सकिन्छ जस्तो लागेर त्यसै गरे ।’
ससस्त्र द्वन्द्वमा मारिएका निर्दोष झ्यालिन्चाहरू जो वेपत्ताको राष्ट्रिय सूचीमा पनि परेनन् तिनको आवाज नाटकमार्फत ल्याएको दाबी उनले गरे । दयाहाङको गृह जिल्ला भोजपुर रहँदा उनले आफैं त्यस्ता कुरा प्रत्यक्ष त भोग्नु परेन तर जे देखे, जे सुने तिनको भोगाइ कलाकार बने पनि सिर्जनाका रूपमा अंगाल्ने प्रयास गरेको उनले सुनाए । नाटकजस्तै उनले केही नेपाली चलचित्रमा पनि सशस्त्र द्वन्द्वकै कथामा भूमिका निर्वाह गरेका छन् । कला क्षेत्र कुनै समयको विश्लेषण र परीक्षण गर्ने माध्यम भएकाले पनि आम मानिसलाई नाटक वा फिल्मबाट त्यो प्रस्तुत गरिरहनुपर्ने उनको ठम्याइ छ ।
झ्यालिन्चलाई मञ्चमा देखाउन उनलाई केही सकस त प¥यो तर कलाकारको खुबीले त्यसलाई सहज बनाइदियो । कथामा रहेकी झ्यालिन्चा बनेर आफ्नो कुरा भन्न आइपुगिन् कलाकार रञ्जना ओली । उनी मण्डला थिएटरकै दोस्रो ब्याचकी विद्यार्थी हुन् । घरी लेखकको श्रीमती, घरी कथा अघि बढाउने सुत्रधार, घरी रेष्टुराँकी वेटर अनि मुख्य पात्र झ्यालिन्चा बनेर मञ्चमा देखिन्छिन् । ‘भूमिका च्यालेन्जिङ त थियो नै त्यो माथि दया दाईको डर छुट्टै लाग्थ्यो,’ उनले नाटक सुरुवात गर्दाको पल सम्झिइन्, ‘तर उहाँले मजाले गर्नु कसैले केही भन्दैन भनेर सिकाउने गर्दा मेरौ हौसला बढ्यो ।’ नत्र आफ्नो कामले निर्देशककै काममा असर पर्ला कि भन्ने चिन्ता उनलाई निकै लाग्थ्यो ।
मण्डलाले हरेक साल वेपत्ता दिवसमा नाटक बनाउथ्यो । यो साल बनाउन भ्याएको थिएन । राईले बनाउने भनेपछि यसैलाई मण्डलाले लञ्च गर्ने तयारी गरेपछि पहिलो सो वेपत्ता परिवारलाई नै देखाइएको थियो । तर, सुरुवाती मोड बढी साहित्यिक भएकाले उनीहरू अलमलमा परे । ‘पछि झ्यालिन्चाले आफ्नो कथा भन्न थालेपछि भने उहाँहरू हाम्रो कथा आयो भनेर मख्ख पर्नुभयो,’ पहिलो सोको अनुभव उनले सुनाइन््, ‘नाटक गर्नु अघि पुस्तकहरू, युट्युबमा वेपत्ता परिवारका कथाहरू हेरेर रिसर्च पनि गरेका थियौं ।’
युद्ध कसरी भए अनि वेपत्ता कसरी हुन्छन् भनेर थाहा पाउँदा उनी निकै इमोसनल भएको ओलीले बताइन् । ‘हामी त सहजै हुर्कियौं उनीहरूको पिडा देख्दा मन कटक्क हुन्थ्यो,’ उनले भनिन्, ‘त्यस्तो जीवन बाँच्नुपर्दा परिवारका सदस्यको अवस्था नै फरक हुँदो रहेछ ।’
झ्यालिन्चामार्फत उनले त्यस्तै वेपत्ता भएकी एउटी किशोरीको आवाजलाई मञ्चबाट दर्शकमाझ पु¥याइन् । अहिलेसम्म मुख्य भूमिकामा काम गरेको नाटकमध्ये उनको यो पहिलो राम्रो नाटक भएको उनले महसुस गरेकी छिन् । यसअघि उनले एक दर्जन बढी नाटकमा काम गरिसकेकी छिन् । लेखक बनेका अर्का कलाकार विजय बरालले पनि आफ्नो भूमिकाको छाप मज्जाले नै नाटकमा छाड्न सफल भएका छन् । नाटकमा प्रयोग गरिएको छायाँ दृष्यले दर्शकलाई द्वन्द्वको झल्को मन्चमै गराइदिन्थ्यो । छेउमे बज्ने रागधुनले नाटकलाई मोड दिन्थ्यो । कात्तिक २१ गतेबाट सुरु भएको नाटक मंसिर ३ सम्म चल्नेछ ।
नाटकको एक दृश्यमा अभिनय गर्दै कलाकार विजय बराल र रञ्जना ओली ।

प्रकाशित: २८ कार्तिक २०७४ ०४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App