८ वैशाख २०८१ शनिबार
विचार

सफलताको क्रिकेट स्वाद

अमेरिकाका १४ औं प्रधानन्यायाधीश अर्ल वारेनको प्रसिद्ध उक्ति छ– ‘म जहिल्यै खेलपृष्ठ पहिले पल्टाउँछु, जहाँ मानिसका सफलता अंकित गरिएको हुन्छ । प्रथम पृष्ठमा मानिसका असफलताबाहेक केही पाइन्न ।’ तर, उनको यो प्रसिद्ध उक्तिलाई गलत साबित गर्ने गरी सोमबारका सबैजसो अखबारको प्रथम पृष्ठमा नेपाली युवा क्रिकेट टोलीले एसिसी यु–१९ मा हासिल गरेको उपलब्धि अंकित गरिएको छ । अर्थात् अखबारलाई पनि सफलताबारे लेख्ने मौका मिलेको छ । निर्वाचनको मुखमा त्यसको कभरेजलाई समेत पछि पार्ने गरी नेपाली खेलाडीले हासिल गरेको उपलब्धि आफैंमा प्रशंसनीय छ । भौतिक पूर्वाधार भएर, सरकार र खेल व्यवस्थापन गर्ने निकायको समेत सकारात्मक भूमिका खेलेका बेला यस्तो सफलता हासिल भएको भए यति धेरै महŒवका साथ हेरिने थिएन । नेपाली खेलाडीहरूले बेलाबेलामा दिएका यस्ता सफलताको गौरवमा मुलुकवासी हर्षले पुलकित हुने अवस्था सिर्जना हुने गरेको छ । क्रिकेटमा नेपालको प्रवेश निकै ढिला भएको हो । भारत, पाकिस्तान, अस्ट्रेलिया, बेलायतजस्ता मुलुकहरूको तुलनामा हाम्रा खेलाडीहरूले देखाउँदै आएको दक्षता आफैंमा अनुपम छ । त्यसमा पनि भारतजस्तो क्रिकेटको विश्वमहारथिलाई पराजित गर्न सक्नुलाई कम्ती मान्न सकिन्न । यसले आमनागरिकमा समेत खेलप्रति उत्सुकता जगाएको छ ।

क्रिकेटमा नेपालको प्रवेश निकै ढिला भएको हो । भारत, पाकिस्तान, अस्ट्रेलिया, बेलायतजस्ता मुलुकको तुलनामा हाम्रा खेलाडीहरूले देखाउँदै आएको दक्षता आफैंमा अनुपम छ । त्यसमा पनि भारतजस्तो क्रिकेटको विश्वमहारथिलाई पराजित गर्न सक्नुलाई कम्तीमान्न सकिन्न । यसले आमनागरिकमा समेत खेलप्रति उत्सुकता जगाएको छ ।

 

राष्ट्रिय क्रिकेटको सर्वोच्च निकाय विवादको उत्कर्षमा छ । विवादकै कारण नेपाल क्रिकेट संघले भूमिका निर्वाह गर्न नसकेको वर्षौं भइसकेको सार्वजनिक जानकारीमै छ । अभिभावकको भूमिकामा रहनुपर्ने सरकार पनि क्रिकेटमा एउटा कित्तामा उभिँदा समस्या झनै बढ्दो छ । त्यही कारण अन्तर्राष्ट्रिय क्रिकेटको सर्वोच्च निकाय आइसिसीले नेपाललाई प्रतिबन्धमा राखेको छ । प्रशासनिक रूपमा नेपाली क्रिकेट प्रतिबन्धित भएपनि मैदानभित्र भने खेलाडीको समर्पण, प्रतिबद्धता र मेहनत कम भएको छैन । अझ उमेर समूहको नेपाली क्रिकेट अन्तर्राष्ट्रिय मञ्चमा रोमाञ्चक परिणाम निकाल्ने टोलीका रुपमा छवि बनाउन सफल छ । यसलाई निरन्तरता दिने क्रममा नेपाली युवा टोलीले एसिसी यु–१९ एसिया कपमा आइतबारसाबिक विजेता भारतमाथि १९ रनको रबाफ जमायो । नेपालले टेस्ट खेल्ने विपक्षीलाई निराश पारेको यो पहिलो अवसर होइन । यसअघि यु–१९ स्तरमा नेपालले टेस्ट खेल्ने बंगलादेश, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र पाकिस्तानमाथि जित हासिल गरिसकेको छ । तर, भारतमाथि कुनै पनि स्तरमा नेपाली क्रिकेटले जित हासिल गरेको यो पहिलो अवसर हो । त्यसकारण यो जित नेपाली क्रिकेटका लागि ऐतिहासिक छ । उमेर समूहमामात्र नभई नेपाली क्रिकेटरहरुले सिनियर स्तरमा पनि ठूला नतिजा निकालेर आफूलाई प्रमाणित गरिसकेका छन् । २०१४ मा बंगलादेशमा भएको ट्वान्टी–२० विश्वकपमा छानिनुमात्र नेपाली राष्ट्रिय टोलीको सफलता थिएन, प्रतियोगितामा अफगानिस्तान र हङकङलाई हराउनुका साथै बंगलादेशसँग प्रतिस्पर्धात्मक प्रदर्शन गर्नुबाट नेपाली क्रिकेटमा पर्याप्त सम्भावना रहेको प्रमाणित भएको थियो ।दुई वर्षअघि विश्व क्रिकेट लिग डिभिजन २ मा शीर्ष दुईमा पर्न असफल भएपनि आइसिसीले नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उच्च प्रदर्शन गरिरहेको तथा नेपालभित्र क्रिकेटको अत्यन्तै क्रेज रहेका कारण विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने मौका दिएको थियो । समान अंक भएपनि रनरेटमा मात्र नेदरल्यान्ड्सभन्दा पछि परेका कारण नेपाल च्याम्पियनसिपमा सोझै छानिन वञ्चित भएको थियो ।

मैदानभित्र सबै क्षेत्रमा नेपाली टोली सधैं अब्बल रुपमा प्रस्तुत भइरह्यो । तर,देशको क्रिकेट प्रशासन समस्याग्रस्त हुँदा नेपाली क्रिकेटको पहिचान अझै पनि स्तब्धतापूर्ण नतिजा निकाल्न सक्षम ‘डार्क हर्स’ बाट माथि उठन सकेको छैन ।मैदानभित्र विश्व क्रिकेटका ठूल्ठूला महारथिहरुलाई बारम्बार निराश पारिरहँदा खेलाडीले देखाउने जस्तो लगाव, प्रतिबद्धता, मेहनत र रणनीति प्रशासकहरुले कहिल्यै देखाउन सकेनन् । भाग्यवश खेल्न पाएको विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट नेपाल तल झरिसकेको छ । फेरि नेपाली टोलीले डिभिजन २ खेल्नुपर्ने भएको छ । अर्को वर्ष हुने यु–१९ विश्वकप छनोटमा नेपाल निराश भइसकेको छ । तमाम असफलतालाई फेरि सफलतामा रुपान्तरण गर्ने र भारतविरुद्ध पाएजस्ता ऐतिहासिक सफलतालाई जोगाउँदै अघि बढ्ने योजना बनाउने र कार्यान्वयन गर्ने काम क्रिकेट संघको हो, जुन नेपालमा अहिले छैन ।

नेपालमा क्रिकेट संघमाथि प्रतिबन्ध लाग्नुमा कुनै एक पक्षको मात्र दोष पक्कै छैन । आफूलाई नेपाली क्रिकेटको सरोकारवाला ठान्ने सबै पक्षले उत्तिकै ऊर्जाका साथ मलजल गरेका कारणमात्र आइसिसी प्रतिबन्ध लगाउने अवस्थासम्म पुगेको हो । बढीजिम्मेवार हुनुपर्ने सरकारले सबैभन्दा अपरिपक्व राजनीति गर्नाको परिणाम हो, यो प्रतिबन्ध । विवादमा अहिले देखिने गरी निर्वाचित संघ, राष्ट्रिय खेलकुद परिषद् रआइसिसीको सल्लाहकार समिति गरी तीन पक्ष देखिन्छन् । तर, नदेखिने गरी अरु धेरै पक्ष सक्रिय छन् । क्रिकेटको उपलब्धि जोगाउँदै अझ अगाडि बढ्ने सपना देख्ने हो भने सरकारबाट तटस्थ अभिभावकको भूमिका हुनुपर्छ र विवादमा रहेका अन्य पक्षले पनि त्याग देखाउन सक्नुपर्छ । त्यसो भयो भने केही वर्षअघिसम्म स्वैरकल्पनाका रुपमा ठट्टाको विषय बन्ने गरेको टेस्ट मान्यता पनि सम्भव छ । हामीभन्दा पछि क्रिकेट खेल्न थालेको अफगानिस्तानको वर्तमान अवस्थाले त्यसलाई प्रमाणित गरिसकेको छ । अतः हाम्रा खेलाडीको सफलतासँगै खेल सरोकारवालाई बढ्ता जिम्मेवार बनाउन सके मात्र यो दिगो हुनेछ ।

प्रकाशित: २८ कार्तिक २०७४ ०६:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App