coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कुबिन्डेमा २२ वर्षपछि छिर्यो कांग्रेस

(कुबिन्डे) सिन्धुपाल्चोक- १० वर्षे ‘जनयुद्ध’ को उद्गमस्थल तथा तत्कालीन विद्रोही माओवादीको किल्ला कुबिन्डेमा २२ वर्षपछि कांग्रेस छिरेको छ । हाल चौतारा–साँगाचोकगढी नगरपालिका–५ मा समेटिएको साबिक कुबिन्डे गाविस माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाको गाउँ हो ।

‘बन्द कोठामा लुकेर मात्र कांग्रेस हुँ भन्न पाउने गाउँमा चुनावी सभा गर्न पाउनुलाई नै जित ठानेका छौं । यसबापत माओवादीबाट के सजाय पाउनुपर्ने हो थाहा छैन !’- डिलबहादुर सापकोटा, कांग्रेस कार्यकर्ता।

  सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत आइतबार चुनावी अभियान लिएर यहाँ आइपुगेका थिए । उनले गाउँको बीच भागमा चुनावी सभा गरे । माओवादीले २०५२ बाट जनयुद्ध थालेपछि कांग्रेसले पहिलोपटक औपचारिक कार्यक्रम गरेको यही सभा हो । स्थानीय कांग्रेसी कार्यकर्ता पनि दुई दशकपछि पहिलोपटक गाउँमा कार्यक्रम राख्न सफल भएका थिए ।
यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनबाट बस्नेत र वाम गठबन्धनबाट सापकोटा चुनावी प्रतिस्पर्धामा छन् । बाक्लो सुरक्षा घेराबीच बस्नेत सभामा भाग लिन पुगेका थिए । बिनाअवरोध उनी गाउँ आइपुग्दा कांग्रेस कार्यकर्ताले भने आफूहरुलाई माओवादीले सभामा नजान चेतावनी दिएको गुनासो छ ।
    ‘बन्द कोठामा लुकेर मात्र कांग्रेस हुँ भन्न पाउने गाउँमा चुनावी सभा गर्न पाउनुलाई नै जित ठानेका छौं,’ स्थानीय नेता डिलबहादुर सापकोटाले भने, ‘यसबापत के सजाय पाउनुपर्ने हो थाहा छैन !’ उनले कार्यक्रम नराख्न र सभामा नजान आफूहरुलाई धम्की दिइएको आरोप लगाए ।
    जनयुद्धको उद्गमस्थल रोल्पा जत्तिकै चर्चामा आउँछ कुबिन्डे गाउँ । २०५२ फागुन १ गते सशस्त्र युद्ध घोषणा हुनुभन्दा एक महिनाअघि गाउँ रित्तो बनाएर तत्कालीन जनमोर्चाका नेताकार्यकर्ता भूमिगत भइसकेका थिए । झगडिया समाउन गाउँ पुगेका प्रहरी मारिएपछि सरकार स्थानीयविरुद्ध खनिँदा पक्राउ पर्ने डरले उनीहरु महिनाअघि नै युद्धमा होमिए । त्यसपछि कांग्रेस कार्यकर्ता छानिई छानिई आक्रमणमा निशानामा परिरहे । यहाँका डेढ दर्जनभन्दा बढी नेताकार्यकर्ता युद्धमा मारिएका थिए ।
    शान्तिप्रक्रियापछि पनि यहाँ कांग्रेस बन्न र भन्न छुट थिएन । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा कुनै पनि पार्टीका उम्मेदवार र नेताकार्यकर्ता यहाँ भोट माग्न आउन सकेनन् । अन्य पार्टीको बुथ प्रतिनिधिसमेत नभेटिएको उक्त चुनावमा मतदान अधिकृत लखेटिएका थिए । पञ्चकन्या मावि मतदान केन्द्रमा माओवादी पक्षमा शतप्रतिशत मत खसेको थियो ।
    शान्तिप्रक्रियापछि पहिलोपटक एमाले नेता कुबिन्डे छिरेका थिए । २०७० को दोस्रो संविधानसभा चुनावमा एमाले उम्मेदवार भोट माग्दै यहाँ आउँदा कांग्रेस नेता छिर्न सकेका थिएनन् । समय खुकुलो बन्दै जाँदा गत स्थानीय तह निर्वाचनमा कांग्रेसले वडाका सबै पदमा उम्मेदवारी दिएको थियो । उक्त चुनावमा भाग लिएपछि गाउँमा आफूहरु माओवादीको तारो बन्दै आएको डिलबहादुर बताउँछन् । उनी कांग्रेसबाट वडाध्यक्षको प्रत्यासी थिए ।
    दुईपटक विजयी हुने क्रममा २०७० को दोस्रो संविधानसभा चुनावमा अग्निप्रसाद विजयी हुँदा कुबिन्डेकै भोट निर्णायक भएको थियो । साढे ६ सय मतान्तरले उनले एमालेका सुवास कर्माचार्यलाई हराउँदा यहाँबाट माओवादीलाई झन्डै शतप्रतिशत मत खसेको थियो ।
तत्कालीन क्षेत्र नं. २ मा पर्ने यो गाउँ अहिले क्षेत्र नं. १ मा छ । कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार बस्नेत र प्रदेशसभा (ख) का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ पहिलो पटक गाउँ आउँदा समर्थकले पञ्चैबाजाको साथमा फूलमाला र खादाले स्वागत गरे । स्थानीयले उम्मेदवारसँग माओवादी उद्गमथलो रोल्पामा लोकतन्त्रको अभ्यास सुरु हुँदा एउटा गाउँमा त्यसबाट वञ्चित गरिएको दुःखेसो पोखे ।
    कांग्रेस सभा बिथोल्न वाम गठबन्धनले रातारात सोही दिन एकै ठाउँमा चुनावी कार्यक्रम राखेपछि प्रशासनको सक्रियता निकै बढेको थियो । माओवादीले कांग्रेसको सभासँग समय जुधाउने गरी अघिल्लो दिन मात्र कार्यक्रमबारे निर्णय लिएको थियो । ‘कांग्रेसको पूर्वनिर्धारित कार्यक्रमसँग नजुधाउन र अर्को कुनै दिन कार्यक्रम गर्न उहाँ उम्मेदवार (सापकोटा) लाई नै आग्रह गरेपछि वाम गठबन्धन रोकियो,’ प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने ।
    सभामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य रहेका बस्नेतले लोकतन्त्रमा हिँडडुल गर्ने र राजनीतिक विचार बोक्ने स्वतन्त्रता सबैलाई रहेको बताए । ‘अझै पनि विचारका आधारमा पार्टीमा लाग्न र संगठन गर्न नदिनु भनेको अधिनायकवादी सोच हो,’ उनले भने, ‘नागरिक स्वतन्त्रता कुण्ठित गर्न खोजे कांग्रेसलाई सह्य हुने छैन ।’ सभामा उनले विभिन्न पार्टी छोडेर आएका केही कार्यकर्तालाई कांग्रेसमा प्रवेशसमेत गरेका थिए ।    

 

प्रकाशित: २८ कार्तिक २०७४ ०६:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App