coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

वाम गठबन्धनको गर्जन : ५० वर्षसम्म कम्युनिस्ट सरकार

छविलाल तिवारी/पर्वत, संगम घर्तीमगर/बाग्लुङ, मोहन गुरुङ/स्याङ्जा
 माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको ५० वर्षसम्म नेपालमा कम्युनिस्टले शासन गर्ने दाबी गरेका छन् । ‘हामी कम्युनिस्ट नमिल्दा कांग्रेस तीन दशक सत्ताकेन्द्रित भयो, अब हामी कम्युनिस्टले ५० वर्ष मुलुक चलाउँछौं’, पर्वतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै बिहीबार दाहालले भने ।
कम्युनिस्टहरू टुक्राटुक्रामा विभाजित हुँदा कांग्रेसले अवसर पाएको उल्लेख गर्दैै उनले माओवादी केन्द्र र एमालेबीच पार्टी एकीकरण हुनलागेको बताए । दाहालले २०५० सालमा नै नेपालमा एउटै कम्युनिस्ट पार्टी बनाउने प्रयास भए पनि मदन भण्डारीको हत्यापछि रोकिएको दाबी गरे । उनले आफू र भण्डारीबीच वार्ता तय भएको तर त्यसको आठ दिनअघि नै भण्डारीको हत्या भएको प्रसंग सम्बोधनका क्रममा उठाए । ‘०५० साल जेठ ११ गते म र एमालेका तत्कालीन महासचिव मदन भण्डारीबीच वार्ता गर्ने सबै तयारी भएको थियो’, दाहालले भने, ‘तर, जेठ ११ गते आउनै पाएन, ३ गते मदनजीको हत्या भयो ।’ उनले मदन भण्डारीसँग वार्ता गर्ने घर र त्यहाँ बस्दा खाने खानाको परिकारसमेत टुंगो लागिसकेको बताए । ‘म तत्कालीन एकता केन्द्रको महासचिव थिए, मदनजी एमाले महासचिव हुनुहुन्थ्यो, अब हामी फरक–फरक ठाउँमा हुनुभन्दा दुवै पार्टीको धार समेटेर शक्तिशाली कम्युनिस्ट बनाउने सहमति भएको थियो’, उनले भने, ‘हामीले वार्ता गर्ने घर टुंग्याएका थियौं, के खाना खाने भन्ने पनि टुंग्याएका थियौं, दुर्भाग्य त्यो दिन आउनै पाएन ।’
दाहालले नेपालमा दक्षिणपन्थी शक्तिले कम्युनिस्टलाई मिल्नै नदिने षड्यन्त्र गर्दै आएको भन्दै चुनावपछि एमालेसँग एकता गर्ने दोहो¥याए । उनले अब नेपालमा कम्युनिस्ट शक्ति शक्तिशाली भएरै छाड्ने बताए । ‘देउवा (शेरबहादुर देउवा) जीले संसद्मा आफू प्रधानमन्त्री हुँदा मलाई प्रचण्डजी राजनेता हुनुभयो भनेर भन्नुभयो’, दाहालले भने, ‘राजनेताविरुद्ध उम्मेदवार उठाएपछि देउवाजीलाई म त्यो संसद्मा भनेको राजनेता शब्द फिर्ता लिन आग्रह गर्छु ।’ कांग्रेसले आफूलाई समर्थन गर्नुपर्ने धारणा राख्दै दाहाले भने, ‘तर, राप्रपाको हलोलाई सहयोग गरेकोमा मलाई दुःख लागेको छ ।’
 

‘कांग्रेस गतिविधि अलोकतान्त्रिक’
यसैगरी बागलुङको गल्कोटमा आयोजित चुनावीसभामा दाहालले आफू प्रधानमन्त्री हुँदा देशको अर्थतन्त्रलाई गति दिने काम गरेको बताए । ‘मैले सरकारको नेतृत्व गर्दा नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशा दिने काम गरेको थिएँ,’ उनले भने, ‘देशलाई निर्वाचनको बाटोमा डो¥याउने मेरो कामले अहिले मूर्त रुप लिँदैछ । यो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्नुहोस् । अब देशको विकास वाम सरकारले मात्रै गर्छ ।’
दाहालले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाल शान्ति प्रक्रिया टुंग्याउने र गणतन्त्र बचाउने जिम्मा आफूलाई सुम्पिएको दाबीसमेत गरे । ‘अहिले मविरुद्ध लोकतान्त्रिक भन्ने शक्ति नेपाली कांग्रेसले अलोकतान्त्रिक गतिविधि गरिरहेको छ,’ दाहालले भने, ‘गिरिजाबाबुले शान्ति प्रक्रियाको हस्ताक्षरकर्ता भएको नाताले देश बचाउने जिम्मा तपाईंकै हो भनेर मलाई भन्नुभएको थियो । अब देश बचाउन वाम शक्तिबीच एकता हुँदैछ ।’
 

‘कांग्रेसले जिते देश म्युजियम’
यसैगरी बिहीबारै स्याङ्जामा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसले जिते देश म्युजियम बन्ने बताए । ‘नेपाली कांग्रेस बिपी र गणेशमानको बेलाको छैन । उसँग विचार छैन, सिद्धान्त पनि’, दाहालले भने, ‘नेपाली कांग्रेस बूढो पार्टी हो । त्यसैले बूढो पार्टीले जित्दा देश म्युजियम बन्छ ।’
उनले प्रजातन्त्र र लोकतन्त्रको रक्षा गर्न चुनावमा नेपाली कांग्रेसका कार्यकर्ताले पनि वाम गठबन्धनलाई माया गर्ने बताए । २०४८ र २०५६ मा बहुमत सरकार बनाउने अवसर पाउँदा पनि कांग्रेसको ध्यान राष्ट्रनिर्माणभन्दा पनि ‘कम्युनिस्ट फुटाउ र राज गर’ सिद्धान्तमा मात्रै अल्झिएको उनको आरोप थियो ।  

‘स्थिर सरकारका लागि वाम एकता’
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर सरकार बनाउन वाम पार्टीबीच एकता गर्न लागिएकाले कसैलाई पनि नआत्तिन आग्रह गरेका छन् । वाम गठबन्धनले बिहीबार पर्वतको कुस्मामा आयोजना गरेको सभालाई सम्बोधन गर्दै ओलीले चुनावपछि कम्युनिस्टले स्थिर सरकार बनाउने बताए । छ–छ महिनामा सरकार फेरिँदा विकासका सपना पूरा हुन नसकेको ओलीको भनाइ थियो । उनले विकासका सपना पुरा गर्न पाँच वर्ष स्थायी सरकार आवश्यक परेकाले एमाले र माओवादी केन्द्रले चुनावी गठबन्धनसँगै पार्टी एकतासम्मको योजना बनाएको प्रस्ट पारे ।
चुनावलगत्तै पार्टी एकता गर्ने ओलीले बताए । ‘चुनावअघि पार्टी एकता गर्न भ्याइएन, त्यसैले चुनावलगत्तै पार्टी एकता हुन्छ’, ओलीले भने, ‘को अध्यक्ष बन्ने, को प्रधानमन्त्री बन्ने, को राष्ट्रपति बन्ने कुरा टुंगिइसकेको छ ।’ ओलीले पदको विषय टुंगिएको बताए पनि पदमा को को रहने भन्ने खुलाएनन् । १५ मिनेट सम्बोधन गरेका ओलीले पर्वतमा पनि रेल ल्याउने र रेल स्टेसन राख्ने भन्न छुटाएनन् । उनले पर्वतका वामगठबन्धनका उम्मेदवारलाई जिताएमा पर्वतको विकासको जिम्मा आफूले लिने बताए । ओलीले राप्रपा पर्वतका नेता ईश्वर गिरीसहितलाई पार्टी प्रवेश गराए ।
ओलीले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि मुलुकमा वामपन्थी दलको सरकार बन्ने र त्यसले विकासको लहर ल्याउन दाबी गरे । ‘देशैभरि वाम गठबन्धनको पक्षमा जनलहर आएको छ,’ ओलीले भने, ‘अब नेपालमा वाम सरकार बन्न कसैले रोक्न सक्दैन । अहिलेसम्म कांग्रेसले देश बनाउने काम गरेन, बिगा¥यो मात्र, अब हामी देश बनाउँछौं’, बागलुङको गल्कोटमा चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने ।  
 

‘दीपावली मनाउन सुरु गर्नुस्’
यसैगरी, बिहीबार नै स्याङजा वालिङमा चुनावी सभालाई सम्बोधन गर्दै ओलीले स्याङजाली जनतालाई दीपावली मनाउन सुरु गर्न आग्रह गरे । ‘आगामी मंसिर १० र २१ गतेको निर्वाचनबाट वाम गठबन्धन सरकार बन्छ । स्थिर र दिगो सरकारका लागि दीपावली मनाउन सुरु गर्नुस’, ओलीले भने । उनले कम्युनिस्ट सरकारले लोकतन्त्र, देशको सार्वभौमसत्ता र स्वधीनतालाई कोशेढुंगाको रुपमा स्थापित गर्ने पनि बताए । ‘कम्युनिस्ठ सरकारले वृद्धवृद्धा, असहाय र अपांगता भएकालाई पाँच हजार हातहातमा, घरघरमा पु¥याउछ’, उनले थपे, ‘त्यसैले ढुक्क भएर वाम गठबन्धनका उम्मेदवारलाई भोट  गर्नुस् ।’

‘तराईलाई अलग्याउने खेल’
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारत अझै पनि आफूअनुकूल संविधान संशोधन गरेर तराईलाई नेपालबाट अलग्याउने खेलमा लागेको आरोप लगाए । ‘हाम्रो प्रधानमन्त्रीले दिल्लीमा गएर दुईतिहाइ पु¥याएर संविधान संशोधन गर्छु भन्नुभएको छ,’ बागलुङमा वाम गठवन्धनको संयुक्त चुनावी सभालाई बिहीबार सम्बोधन गर्दै केसीले भने, ‘त्यसको मतलब हाम्रो छिमेकीले यो संविधानलाई स्वागत गरेको छैन । आफूअनुकूल संशोधन गराएर तराईलाई नेपालबाट अलग्याउन चाहन्छ ।’
केसीले नेपाली कांग्रेसले भन्ने गरेको विभिन्न परिवर्तनको लडाइँमा नेपालका कम्युनिस्ट शक्तिहरू पनि लड्दै आएको बताए । ‘कांग्रेसले देशको परिवर्तनका हामी अगुवा हौं भनेको छ,’ उनले भने, ‘नेपालका हरेक परिवर्तनमा नेपालका कम्युनिस्टले पनि उत्तिकै भूमिका खेलेका छन् ।’ केसीले कांग्रेसले उदारवादका नाममा सम्पूर्ण उद्योगलाई निजीकरण गरेर गरिबको पहुँचबाट बाहिर पु¥याएको आरोप लगाए ।

 

प्रकाशित: १ मंसिर २०७४ ०२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App