coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जिताउनुस्, फेरि प्रधानमन्त्री हुन्छु : देउवा

पुस्कर भण्डारी/डडेल्धुरा, दिलबहादुर छत्याल/धनगढी
वारेसनामाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा मतदातासँग हातेमालो गर्न बिहीबार डडेल्धुरा आएका छन् । देउवा गृहजिल्ला डडेल्धुराबाट लगातार पाँचपटक प्रतिनिधिसभा र संविधानसभा सदस्यमा निर्वाचित भइसकेका छन् । उनी छैटौंपटक चुनाव लड्दै छन्  ।
वाम गठबन्धनका उम्मेदवारबाट देउवालाई चुनौती रहेको आकलन भइरहेका बेला उनले भावनात्मक अभिव्यक्ति दिएर मतदाताको मन जित्ने कोसिस गरेका छन् । ‘म तपाईंरू (मतदाता) को घरको मान्छे हुँ, म प्रधानमन्त्री भए पनि तपाईंहरू मसँग झगडा गर्न सक्नुहुन्छ, मलाई गाली गर्न सक्नुहुन्छ, जे कुरा पनि भेटेर भन्न पाउनुहुन्छ’, बिहीबार डडेल्धुरा आएलगत्तै बसपार्कमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘तपाईंहरूले आफ्नै घरको मान्छे भएकाले प्रधानमन्त्रीसँग झगडा गर्न पाउनुभएको छ ।’
प्रधानमन्त्री देउवाले आफू फेरि पनि प्रधानमन्त्री बन्ने संकेत गर्दै चुनावमा जिताउन मतदातालाई आग्रह गरे । ‘तपाईंहरूले मलाई र कांग्रेसलाई जिताए म अझैं प्रधानमन्त्री बन्छु’, उनले भने, ‘अरुले जिते माननीयमात्र बन्ने हुन् ।’ जिल्लाको विकास, जनताको समस्या समाधान गरेर समृद्ध राष्ट्र निर्माणका लागि फेरि प्रधानमन्त्री बनेर काम गर्ने उनले बताए । ‘म हिजो पनि प्रधानमन्त्री थिएँ, आज पनि छु, भोलि पनि हुनेछु,’ उनले भने ।
देउवाले आफू पटकपटक प्रधानमन्त्री बनेर डडेल्धुरालाई अन्तर्राष्ट्रिय जगतमा चिनाएको पनि बताए ।
वाम गठबन्धनका नाममा कम्युनिस्टहरूले एकदलीय शासन ल्याउन खोजेको बताउँदै उनले लोकतन्त्र बचाउन पनि कांग्रेसलाई जिताउन मतदातालाई आग्रह गरे । सबैले बोल्न पाउने, पढ्न पाउने, लेख्न पाउनेलगायत अधिकार संरक्षण गर्न लोकतन्त्र पक्षधरको जित हुनुपर्ने उनको भनाइ छ ।  ‘वाम गठबन्धनले चुनाव जितेमा प्रजातन्त्र खतरामा पर्छ,’ उनले भने, ‘तर नेपालमा लोकतन्त्र पक्षधरको जित हुन्छ, प्रजातन्त्र रहन्छ, रहन्छ, रहन्छ ।’
वृद्धलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्तामा बढाउन र  र बेरोजगारी भत्तको व्यवस्थाका लागि आफूले पहल गरिरहेको पनि उनले बताए ।
विगतका चुनावका बेला आश्वासन दिएका अजेन्डा नेताहरूले पूरा नगरेको भन्दै चित्त दुखाएका मतदातालाई पनि आश्वस्त पार्ने काम उनले गरे । ‘पश्चिम सेती र पञ्चेश्वर जलविद्युत् परियोजना अघि बढाउन काम भइसकेको छ,’ देउवाले भने, अब यी आयोजनाले गति लिनेछन् ।’ पश्चिम सेती निर्माण गर्न चिनियाँ कम्पनीसँग सम्झौता भइसकेको छ, पञ्चेश्वर परियोजनाका लागि भारतको अध्ययनटोली नेपाल आउने तरखरमा छ ।’
सुदूरपश्चिमको मुहार फेर्नसक्ने यी दुई ठूला आयोजना सञ्चालन हुननसकेको यस क्षेत्रका मतदाताको गुनासो छ । विगतका निर्वाचनमा दलहरू यी आयोजनालाई आफ्नो अजेन्डा बनाएका थिए र अहिले पनि बनाएका छन् ।
‘दुई दशक भए पनि पश्चिम सेती र पञ्चेश्वर परियोजना सञ्चालन हुनसकेको छैन’, सुदूरपश्चिम विश्वविद्यालयका राजनीतिशास्त्रका प्रोफेसर डा. मुकन्द कलौनी भन्छन्, ‘नेताहरूले चुनावका बेला मतदाता फकाउन मात्र यी आयोजनालाई अजेन्डा बनाउने गरेका छन ।’ देउवाले डडेल्धुराका सबै ग्रामीण सडक पनि पिच गर्ने आश्वासन दिएका छन् ।
देउवाले डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने पनि बताए । ‘उपक्षेत्रीय अस्पतालसँग पर्याप्त जमिन रहेको र उक्त जमिनमा मेडिकल कलेज खोल्न पहल गरिरहेको छु’, उनले भने ।
यसअघि बिहीबार धनगढीमा पत्रकारसँगको भेटमा देउवाले सुदूरपश्चिमवाट प्रधानमन्त्री बन्ने व्यक्ति आफूबाहेक अरु कोही नभएकाले कांग्रेसलाई जिताउन आग्रह गरेका थिए । ज्योतिषिलाई उदृत गर्दै उनले अझै पनि आफू प्रधानमन्त्री बन्ने उनले बताए । ज्योतिषिले ७ पटक प्रधानमन्त्री बन्छस् भनेको उल्लेख गर्दै देउवाले अझै ३ पटक प्रधानमन्त्री हुने दाबी गरे । ‘केपी ओलीले भनेर हुन्छ, ज्योतिषिले ७ पटक प्रधानमन्त्री बन्छस् भनेका छन्, म अझै ३ पटक प्रधानमन्त्री बन्छु’, देउवाले भने ।
उनले डडेल्धुुरामा कांग्रेसले चुनाव जित्नेमा कुनै शंका नरहेको पनि बताए । प्रदेश नम्बर ७ मा कांग्रेसले बहुमतभन्दा बढी स्थानमा चुनाव जित्ने दाबी उनले गरे ।
चुनावका बेला आश्वासन दिएको पश्चिम सेती, पञ्चेश्वर आयोजना, ताक्लाकोट नाका खोल्ने काम भएन भन्ने मतदाताको गुनासो छ नि भन्ने प्रश्नको जबाफमा उनले भने, ‘पश्चिम सेती, पञ्चेश्वर आयोजना अघि बढाउन काम भइरहेको  छ । ताक्लाकोट नाका खुल्ने भइसकेको छ ।’
देउवाले कर्णालीका २२ पुल आफूले नै बनाएको  बताए । विगतमा पत्रकारले  प्रश्न राख्दा झर्किने गरेका देउवा बिहीबार भने सहज र खुला रुपमा प्रस्तुत भए । र, जाने क्रममा ‘तपार्इंहरू सबैले सहयोग गर्नुपर्छ’ भने ।  
देउवाले डडेल्धुरामा चुनावीसभालाई सम्बोधन गरेपछि मतदातासँग भेटघाट तीव्र पारेका छन् । असन्तुष्ट मतदातालाई भेटेर उनले फकाउन थालेको एक कार्यकर्ताले बताए ।
 देउवाले कांग्रेसका सबै कार्यकर्तालाई देश अप्ठेरो अवस्थामा रहेकाल चुनौती समाना गर्न सनातिना कुरा र असन्तुष्टि छाडेर एक भएर चुनावमा लाग्न आग्रह गरिरहेका छन् । डडेल्धुरामा कांग्रेसभित्रैको विवादले गत स्थानीय तहको निर्वाचनमा डडेल्धुरा सदरमुकाम रहेको नगरपालिकामा एमालेले मेयर जितेको थियो ।
देउवा एकमात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट २०४८ सालदेखि लगातार ५ पटक निर्वाचित भएका छन् । उनी एकपटक गृह मन्त्री र ४ पटक प्रधानमन्त्री भएका छन् । यसपटक एमाले र माओवादी गठन्बन्धन भएकाले उनलाई चुनौती थपिएको छ । यसअघि दुईपटक देउवाका प्रतिद्वन्दी रहेका माओवादी केन्द्रका खगराज भट्ट अहिले वाम गठबन्धनका उम्मेदवार छन् ।  स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको भन्दा वाम गठबन्धनको मत ८ हजार ३ सय ३७ बढी छ । यस आधारमा देउवा र भट्टबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

प्रकाशित: १ मंसिर २०७४ ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App