coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

निरन्तर विस्फोट

काठमाडौं- निर्वाचन प्रचारप्रसारमा व्यस्त उम्मेदवारलाई लक्षित गरी निरन्तर भइरहेका विस्फोटदेखि भौतिक आक्रमणसमेतका घटना रोकिने संकेत देखिएको छैन । निरन्तर भइरहेका यस्ता घटनाको जिम्मेवारी पनि कसैले लिएको छैन ।
बिहीबारमात्रै उम्मेदवार लक्षित विस्फोटका तीन घटना भएका छन् । त्यसको केही घन्टा अघिमात्रै प्रधानमन्त्री देउवाले धनगढी, कैलालीमा आयोजित पत्रकार सम्मेलनमा सुरक्षा व्यवस्था कडा पारिएको बताएका थिए । ‘जनताले निर्धक्क भएर स्वविवेकीय अधिकार पाऊन् भन्ने हिसाबले सुरक्षाको अत्यन्त राम्रो व्यवस्था मिलाइएको छ, जनताले निर्धक्क भएर मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ’, देउवाले धनगढीमा भने ।
सुरक्षा ब्रिफिङसमेत सुन्न नभ्याएका प्रधानमन्त्री देउवाले सो अभिव्यक्ति दिएको केही घन्टाभित्रै उनको पार्टी कांग्रेसकै रोल्पाका उम्मेदवार एवं सिँचाइ राज्यमन्त्री अमरसिंह पुनलाई लक्षित गरी विस्फोटन गराइएको छ । रोल्पा सदरमुकामबाट जौलीपोखरीमा आयोजित चुनावी सभामा भाग लिन जाँदै गर्दा पुनलाई लक्षित गरी विस्फोट गराइएको हो । मानवीय र भौतिक क्षति नभए तापनि आतंकित बनाउन विस्फोट गराएको राज्यमन्त्री पुनले बताएका छन् ।
त्यसलगत्तै  बाग्लुङको गल्कोटमा वाम गठबन्धनको चुनावी सभास्थल नजिक बम विस्फोट गराइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुग्नुअघि सभास्थलनजिक विस्फोट गराइएको हो । विस्फोटपछि धुवाँको मुस्लो देखिएको थियो । उक्त विस्फोट भएको केही समयपछि पुगेका दुवै शीर्ष नेताले कार्यक्रमलाई सम्बोधन गरेर फर्केका थिए ।
बिहीबारै साँझ गोरखामा माओवादी केन्द्रका गोरखा–२ का उम्मेदवार नारायणकाजी श्रेष्ठलाई लक्षित गरी बम विस्फोट गराइएको छ । गोरखा नगरपालिका–१० को सर्भीखोला नजिक भएको विस्फोटबाट मानवीय क्षति भने भएको छैन तर खोलाछेउमा राखिएको बा२च ९४६३ नम्बरको गाडीका सबै सिसा फुटेका छन् ।
यसअघि पनि वाम गठबन्धनका उम्मेदवारलाई लक्षित गरी अन्य विस्फोट पनि भइसकेका छन । विस्फोट र गोली प्रहारका ७ घटनामध्ये ६ घटना वाम उम्मेदवार लक्षित छन् ।
सबैभन्दा खतरनाक आक्रामण भोजपुरमा प्रदेशसभा उम्मेदवार शेरधन राईमाथि गरिएको थियो । कात्तिक २८ गते भएको सकेट बम प्रहारबाट पूर्व सञ्चार मन्त्रीसमेत रहेका राई चढेको बा१५ज ५६०८ गाडीमा समेत क्षति भएको थियो भने २१ जबाफी फायर पनि गरिएको थियो । ट्याम्केमैयुम गाउँपालिका–८ मा भएको सो घटनामा गाडीमा क्षति पुग्नुका साथै राईका सुरक्षागार्ड असई डिल्ली देवकोटाको बायाँ हातमा चोट लागेको थियो ।
त्यसैगरी पश्चिम रुकुममा बिना विभागीय मन्त्री जनार्दन शर्मालाई लक्षित गरी विस्फोट गराइएको थियो । रोल्पाबाट प्रतिनिधिसभा उम्मेदवार वर्षमान पुनलाई लक्षित गरी ओत–घर्तीगाउँबीचमा रहेको भित्तावाङमा एम्बुस विस्फोट गराइएको थियो । कात्तिक २५ गते भएको उक्त विस्फोटमा सुरक्षाकर्मीका गाडीमा सामान्य क्षति पुगेको थियो । त्यसको भोलिपल्ट दुईखोली गाउँपालिकाको चुनावी सभा सकेर बाघमारा जाँदै गर्दा जंगलको बीचमा पुनमाथि गोली प्रहार भएको थियो, लगत्तै प्रहरीले १० राउन्ड जबाफी फायरिङ गर्नुपरेको थियो ।
उम्मेदवार लक्षित विस्फोटको सुरुआत कात्तिक २४ मा भएको थियो । गृहजिल्ला रुकुममा बिनाविभागीय मन्त्री शर्मालाई लक्षित गरी २ वटा वम एकैपटक प्रहार गरिएको थियो । चौरहजारीको चुनावी सभा र घरदैलो सम्पन्न गरी सानोभेरी गाउँपालिकाको सिम्ली जाँदै गर्दा सडकमाथिबाट शर्मालाई लक्षित गरेर २ वटा बम एकैपटक प्रहार गरिएको थियो । तीमध्ये एउटा शर्माको गाडीसामुन्ने विस्फोट भएको थियो भने अर्को विस्फोट हुन सकेको थिएन ।
सो घटनापछि दिनदिनै विस्फोटका घटना भइरहेका छन् । सुरक्षा निकाय र एमाले–माओवादी गठबन्धनले भने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले विस्फोट प्रयास गरिरहेको आरोप लगाइरहेका छन् । एमाले र माओवादीको बुधबार भएको संयुक्त पत्रकार सम्मेलनमा चन्दको नामै लिएर विस्फोटन नगर्न चेतावनी दिइएको थियो । ‘विप्लव (चन्द) भाइ, बरु डोकोमा बिरामी बोक, यो बम पडकाउने काम रोक’, एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक रुपमै भनिसकेका छन । त्यसमाथि माओवादी अध्यक्ष पुष्पकमल दाहालले विप्लव र सरकारको मिलोमतोमा आक्रमण भएको आरोपसमेत लगाएका छन् । विस्फोटमा संलग्न भएको भन्दै पक्राउ परेका विप्लवका कार्यकर्ता छुटाउन कांग्रेस नेताले दबाब दिएको दाबी गर्दै ओली र दाहालले उक्त आरोप लगाएका हुन ।
यसबारे जिज्ञासा राख्दा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बमले पार्टीको उम्मेदवारमाथि आक्रमण गर्ने कुनै योजना नभएको बताए । ‘पार्टीले यो निर्वाचन बहिष्कार गरेको सत्य हो । यसमा हाम्रो सांकेतिक विरोध निरन्तर रुपमा रहिरहेको छ,’ बमले नागरिकसँग भने, ‘उम्मेदवारमाथि आक्रमण उनीहरुले नै मिलिभगतमा गराइरहेका छन् र दोष हाम्रो पार्टीलाई दिइएको छ । यो गलत छ ।’ बमका अनुसार उम्मेदवारमाथि भएका शृंखलाबद्ध आक्रमणको सत्यतथ्य छानबिन गरे आफैं खुलस्त हुनेछ ।

प्रकाशित: १ मंसिर २०७४ ०२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App