७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेश–४ : सुरक्षा निकायको ध्यान गोरखामा

पोखरा- कुनै बेला माओवादी पार्टीभित्र सहयोद्धा रहेका नयाँशक्तिका संयोजक बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठ गोरखा–२ का उम्मेदवार हुन् । कांग्रेसको साथ लिएर भट्टराई र एमालेसँगको गठबन्धनमा श्रेष्ठ मैदानमा आमनेसामने छन् । त्यसले गर्दा सबैको चासो गोरखा–२ मा छ ।

प्रदेश ४ भित्रको गोरखा–२ ले उम्मेदवारका कारण चर्चा त बटुलेको छ नै, सबैभन्दा बढी सुरक्षा चुनौती रहेको भन्दै सुरक्षा निकायको नजरमा पनि उत्तिकै परेको छ ।


प्रदेश ४ भित्रको गोरखा–२ ले चर्चा बटुलेको त छ नै, सबैभन्दा बढी सुरक्षा चुनौती रहेको भन्दै सुरक्षा निकायको नजरमा पनि उत्तिकै परेको छ । प्रदेशभित्रको सबैभन्दा बढी सुरक्षा चुनौती त्यही क्षेत्रमा रहेको भन्दै सुरक्षा निकाले विशेष निगरानीसहित पूर्वतयारी गरेको छ । पूर्वप्रधानमन्त्री भट्टराई र पूर्वउपप्रधानमन्त्री श्रेष्ठ एकै मैदानमा भिड्दाको अवस्थामा सुरक्षा चुनौती बढेको सुरक्षानिकायको निष्कर्ष छ ।
केही दिनअघि पोखरामा भएको प्रदेशस्तरीय सुरक्षा भेलामा पनि गोरखा–२ मा सबैभन्दा बढी सुरक्षा चुनौती रहेको भन्दै निगरानी बढाउने निर्णय भएको थियो । त्यसै अनुसार सुरक्षा निकायले जनशक्ति परिचालनको योजना बनाएको छ । प्रदेश ४ का प्रहरी प्रमुख एआईजी कमलसिंह बमका अनुसार गोरखा–२ मा ९२ मतदानस्थल र १ सय ३३ मतदान केन्द्र छन् । ४९ वटा अति संवेदनशील, ४१ संवेदनशील र २ वटा मात्र सामान्य सुरक्षा चुनौती भएका मतदानस्थलको रुपमा सुरक्षा निकायले पहिचान गरेको छ ।
‘निर्वाचनमा होमिएका उम्मेदवारको स्टाटसका कारण गोरखा–२ बढी चुनौतीपूर्ण छ,’ बमले नागरिकसँग भने, ‘उम्मेदवारको कडा प्रतिस्पर्धाका कारण राजनीतिक दलका कार्यकर्ता कुनै पनि बेला झडपमा उत्रिन सक्छन् । त्यसले समस्या ल्याउन सक्ने हुँदा हाम्रो नजर बढी परेको हो ।’ उनले प्रदेश ४ भित्र सबैभन्दा बढी सुुरक्षा चुनौती रहेको जिल्ला गोरखा रहेको उनले बताए । उनका अनुसार दलका कार्यकर्ताबीचको झडपबाहेक विप्लव समूहबाट पनि गोरखामा उस्तै चुनौती छ । ‘ठाउँठाउँमा विप्लव समुहले उम्मेदवारमाथि आक्रमण गरेका छन् । सबैतिर चासो रहेको, हाई प्रोफाइल उम्मेदवार मैदानमा भिडेको र कडा प्रतिस्पर्धा भएकोले गोरखा–२ मा कुनै तवरले अवरोध पु¥याउन सक्छन्,’ उनले भने, ‘अधिक प्रतिस्पर्धा हुँदा दलकै कारण जोखिम हुन्छ भने बाहिरी पक्षले पनि अवरोध गर्न सक्छ ।’
उनका अनुसार गोरखा–२ पछि लम्जुङ र म्याग्दी चुनौतीपूर्ण जिल्ला हुन् । ती जिल्लामा उम्मेदवारको प्रतिश्पर्धा भन्दा पनि विप्लव समुहको चुनौती छ । म्याग्दीमा अति संवेदनशीलमा २५, संवेदनशीलमा ३६ र सामान्यमा ११ मतदानस्थल छन् । सबै गरी ७२ मतदानतस्थल र १ सय ७ केन्द्र छन् ।
लम्जुङमा १८ अति संवेदनशील, ६९ संवेदनशील र ३६ वटा सामान्य गरी १ सय २३ मतदानस्थल र १ सय ६५ केन्द्र छन् ।
एआईजी बमका अनुसार मतदानस्थलमा म्यादी, प्रहरीबाहेक सशस्त्र र सेनाले पनि सुरक्षा दिनेछ । अति संवेदनशील मतदानस्थलमा १५, संवेदनशीलमा ११ र सामान्यमा ८ जना प्रहरी खटिँदैछन् । एक मतदान केन्द्रमा ४ जनाको दरले थप सुरक्षाकर्मी खटिनेछन् । ‘प्रहरी मतदानस्थलमा खटिन्छ, सशस्त्र र सेना बाहिरी घेरामा रहेर सुरक्षा दिन्छ,’ उनले भने ।
एक वरिष्ठ सुरक्षा अधिकारीका अनुसार गोखरा–२ निर्धारित भन्दा निकै बढी सुरक्षाकर्मी परिचालन गरिँदैछ । उनका अनुसार डिएसपीको कमान्डमा आरुघाट र पालुङटारमा २०–२० जनाको टोली थपिएको छ । त्यस्तै प्रदेशबाट रिजर्भ टोली पनि त्यही परिचालन गर्ने तयारी छ । छिमेकी जिल्ला तनहुँबाट पनि इन्सपेक्टरको कमान्डमा टोली खटिँदैछ । त्यसबाहेक जिल्लाले समेत बढी जनशक्ति गोरखा–२ मै खटाउँदैछ । डिएसपीको कमान्डमा केन्द्रबाट टिम खटिसकेको ती सुरक्षा अधिकारीले बताए । ‘सुरक्षा निकायको ध्यान नै गोरखा–२ मा छ । गोरखा–१ मा रहेको टिम पनि २ कै लागि हो,’ उनले भने, ‘उच्च तहका नेताबीचको प्रतिस्पर्धा रहेकोले बेलैमा सचेत हुनैप¥यो ।’
पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले बाहिरबाट हेर्दा विप्लव समुहको चुनौती देखिए पनि दलबीचको प्रतिस्पर्धाले समेत सतर्क बन्नुपरेको बताए । ‘दलबीचको प्रतिस्पर्धाले सुरक्षा चुनौती थपिएको छ,’ अर्यालले भने, ‘स्थानीय तहमा भन्दा निकै बढी चुनौती अहिले छ ।’ अन्यत्रको तुलनामा गोरखा–२ बढी चुनौतीपूर्ण हुनुमा भौगोलिक र हाई प्रोफाइल उम्मेदवारबीचको प्रतिस्पर्धा मूल कारण रहेको उनको भनाइ छ । अर्यालका अनुसार कुनै पनि मतदातस्थलबाट तीन किलोमिटरभित्र सशस्त्र प्रहरीको सुरक्षा हुनेछ । त्यस्तै ५ किलोमिटरभित्र सेना खटिनेछ ।

प्रकाशित: १ मंसिर २०७४ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App