coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजधानी दाबी चितवनबाट मकवानपुर सर्दै

चितवन- ‘देशको मध्य भागमा रहेका कारण यसलाई राजधानी बनाइनेछ ।’ यो चितवनमा हुने हरेक सभा र कार्यक्रममा नेता र विकासे कार्यकर्ताले प्रायः नछुटाउने वाक्य हुने गथ्र्यो । केही समययता भने चितवनमा ‘राजधानी’ को चर्चा पनि हुन छाडेको छ । संघीय अर्थात् केन्द्र सरकारको राजधानी नभए पनि प्रदेशको राजधानी बनाउने मुद्दा दोस्रो संविधानसभा सदस्य निर्वाचनमा उठेको थियो । अहिले यो सन्दर्भ कसैले सम्झँदैनन् ।

संघीय अर्थात् केन्द्र सरकारको राजधानी नभए पनि प्रदेशको राजधानी बनाउने मुद्दा दोस्रो संविधानसभा सदस्य निर्वाचनमा उठेको थियो । अहिले यो सन्दर्भ कसैले सम्झँदैनन् । बरु मकवानपुरमा क्रियाशील दलले हेटौंडालाई प्रदेश राजधानी बनाउने मुद्दा उठाइरहेका छन् ।

उता चितवनसँग जोडिएको मकवानपुरमा भने राजधानीको मुद्दा सबैले उठाउने गरेका छन् । निर्वाचनअघि नै राजधानी माग गर्दै अभियान चलेको मकवानपुरमा यो विषय दलहरूको चुनावी मुद्दा पनि बनेको छ । मकवानपुरको हेटौंडालाई प्रदेश नम्बर ३ को राजधानी तोक्नुपर्ने माग त्यहाँ क्रियाशील दलहरूको छ ।
    चितवनमा रहेका तीन निर्वाचन क्षेत्रमा पाँचजना निवर्तमान सांसद प्रतिनिधिसभा सदस्यका लागि मैदानमा छन् । मुख्य तीन दलमध्येको एक नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल चितवनबाटै चुनावमा उठेका छन् । एकजना मन्त्री, एक राज्यमन्त्री र एक पूर्वमन्त्रीले प्रतिस्पर्धा गरेको जिल्लामा पहिलेको मुद्दा अर्थात् चितवनलाई राजधानी बनाउने भन्ने विषय उठ्न छाडेको छ ।
    मुख्य दलमध्येका दुई दलका जिल्ला अध्यक्ष नै उम्मेदवार छन् तैपनि चितवनलाई राजधानी बनाउने भन्ने दाबी दोहोरिनसकेन । चितवन क्षेत्र नं. ३ बाट वाम गठबन्धनका उम्मेदवार दाहालले त प्रतिबद्धतापत्र नै सार्वजनिक गरेका छन् । उनको प्रतिबद्धतापत्रमा चितवनलाई राजधानी बनाउने भन्ने विषय अट्न सकेन ।
    अरु उम्मेदवारले पनि मतदाता भेट्न घरदैलोमा जाँदा हातहातमा दिन पर्चा छपाएका छन् । राजधानीको चर्चा ती पर्चामा पनि देखिँदैन । २०७० मंसिरमा संविधानसभाका लागि दोस्रो पटक निर्वाचन हुँदै गर्दा भने अवस्था अर्कै थियो । त्यो बेला चितवनमा कांग्रेस र एमालेले स्थानीय घोषणापत्र निकालेका थिए । दुवै पार्टीले चितवनलाई राजधानी बनाउने प्रतिबद्धता गरेका थिए । कांग्रेसको घोषणापत्रमा चितवनलाई प्रान्तीय राजधानी बनाउने उल्लेख थियो । एमालेको घोषणापत्रमा चितवनलाई नवलपरासीको दाउन्नेपूर्वको भूभाग नवलपुरसम्म फैलाएर बृहत् बनाउँदै यसलाई प्रदेशको राजधानी बनाउने बाचा गरिएको थियो । तर यसपटकको निर्वाचनमा राजधानीको विषयमा सबै मौन छन् । चितवन क्षेत्र नं. २ मा कांग्रेसले निवर्तमान सांसद शेषनाथ अधिकारीलाई प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बनाएको छ । उनी २०७० सालको निर्वाचनमा विजयी भएका थिए ।
    सोही क्षेत्रको प्रदेशसभा (क) मा कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठ उम्मेदवार छन् । अधिकारी र श्रेष्ठले संयुक्त रुपमा निकालेको हाते पर्चामा ‘यो चुनाव लोकतान्त्रिक शासन व्यवस्था र अधिनायकवादी शासन व्यवस्थाबीचको जनमत संग्रह’ भन्ने राजनीतिक वाक्य राख्दा राजधानीको विषयमा केही पनि उल्लेख छैन ।
    वाम गठबन्धनको प्रमुख नेताको हैसियतमा रहेका दाहाल चुनाव जितेमा प्रधानमन्त्रीसमेत हुन सक्छन् । दाहालले मंगलबार साँझ प्रतिबद्धतापत्र जारी गर्दा चितवनलाई मेडिकल राजधानीसम्म बनाउने कुरा उल्लेख गर्न भ्याएका छन् । त्योभन्दा अघि सोमबार बिहानमात्रै दाहालसँग चितवनका पत्रकारले राजधानीको विषयमा कुरा राखेका थिए तर उनले यो विषयमा ठोस कुरा राखेनन् ।
    चितवनलाई राजधानी बनाउने विषयमा माओवादीको योजना के छ त ? दाहाल भन्छन्, ‘चितवन राजधानी बनाउन उपयुक्त ठाउँ हो भनेर धेरै पहिलेदेखि भूगर्भविद्ले नै भनेका हुन् । हाम्रो पार्टीले यो कुरालाई अगाडि ल्याएको पनि हो । अहिले निर्वाचनको मुखमा मैले यो कुरालाई ठोस रुपमा भन्ने आधार भने भइसकेको छैन ।’
पूर्वाधार बन्दै गए, रेलमार्ग र सुरुङ मार्ग बने त्यति बेला सबैले चितवनलाई राजधानी मान्ने अवस्था आउने दाहालले बताए । प्रदेशको राजधानीका बारेमा चर्चा चलेको हुँदा एउटा सहमति हुने उनले बताए । देशको लगभग मध्य भागमा पर्ने भएका कारण चितवनलाई केन्द्रीय राजधानी बनाउन उपयुक्त हुन्छ भने पनि प्रदेशको सन्दर्भमा परिस्थिति केही भिन्न भने छ ।
चितवन हाल प्रदेश नम्बर ३ मा परेको छ । यो प्रदेशमा उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरसहित धादिङ, काभ्रे, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, रामेछाप, मकवानपुर र चितवन पर्छन् । प्रदेशमा रहेका समग्र जिल्लालाई हेर्दा चितवन दक्षिण छेउमा रहेको छ । त्यसैले सबै जिल्लाको पायक पर्ने ठाउँमा छैन । यही कारणले पनि होला, राजधानीको दाबी कमजोर हुँदै गएको छ ।
उता मकवानपुरमा क्रियाशील दलहरूले भने पाटन उच्च अदालतको इजलास कायम भइसकेको मकवानपुरको हेटौंडा राजधानी बन्न सक्ने आशा छाडेका छैनन् । कांग्रेस र राप्रपा सम्मिलित लोकतान्त्रिक गठबन्धनले जारी गरेको १४ बुँदे प्रतिबद्धतापत्रमा हेटौंडालाई प्रदेश नम्बर ३ को राजधानी बनाउने विषय प्रमुख रुपमा उठाइएको छ ।

प्रकाशित: १ मंसिर २०७४ ०३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App