१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसद्को निर्देशनअनुसार रद्द गरेको कांग्रेस स्पष्टोक्ति

काठमाडौं- नेपाली कांग्रेसले व्यवस्थापिका संसद्अन्तर्गतका समितिहरुको निर्देशनअनुसार सरकारले बूढीगण्डकी आयोजनाको ठेक्का रद्द गरेको स्पष्ट पारेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचन परिचालन समितिले बिहीबार पत्रकार सम्मेलन गरी पुष्पकमल दाहाल नेतृत्व सरकारले ठाडो आदेशमा दिएको ठेक्का मात्र रद्द गरिएको जनाएको हो ।
‘आयोजना रद्द गरिएको होइन,’ पत्रकार सम्मेलनमा निर्वाचन परिचालन समिति संयोजक बालकृष्ण खाँणले भने, ‘कामचलाउ भइसकेको तत्कालीन पुष्पकमल दाहाल नेतृत्व सरकारले प्रक्रिया मिचेर दिएको ठेक्का रद्द गरिएको आयोजना यथावत् छ ।’
ठेक्का प्रक्रियामा आर्थिक चलखेल भएको हुनसक्ने आशंका व्यक्ति गर्दै नेता खाँणले प्रक्रिया पूरा गरेर आयोजनाको ठेक्का तत्काल लगाएर अघि बढ्ने बताए । ‘ठेक्काका प्रकरणलाई लिएर विभिन्न विषय बाहिर आएका छन्, त्यसको खोजी गर्ने काम तपाईं(पत्रकार) हरुको जिम्मामा छाड्न चाहन्छु,’ उनले भने, ‘अर्बौंको प्रोजेक्ट प्रक्रिया मिचेर दिइएको र प्रतिस्पर्धा गर्दा लागत कम हुन सक्ने अवस्था छ ।’
केन्द्रीय सदस्यसमेत रहेका नेता खाँणले संविधानसँगै राजनीतिक क्रान्तिको अभियान पूरा भएकाले अब कांग्रेस आर्थिक क्रान्तिको अभियानमा लाग्ने दाबी गरे । ‘राजनीतिक, आर्थिक र सामाजिक न्यायको अजेन्डा एकैसाथ बोकर कांग्रेसले देशलाई समृद्धिको मार्गमा लैजान सक्छ,’ उनले भने ।
नेकपा एमाले, माओवादी केन्द्रसहितका दलबाट मुलुकको आर्थिक विकास र समृद्धि सम्भव नहुने बताउँदै खाँणले उनीहरुबाट आर्थिक उदारवाद  र न्यायपूर्ण समतामूलक समाज निर्माणको लक्ष्य प्राप्त नहुने दाबी गरे ।
विश्वबाट असान्दर्भिक बनिसकेको शासन व्यवस्था नेपालमा प्रयोग गर्न कम्युनिस्ट दलहरु लागि परेको आरोप लगाउँदै खाँणले वामपन्थी दलहरुले चुनाव जितेमा पार्टी र सम्बन्धित कार्यकर्ताहरुको मात्र हित गर्ने बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले  कांग्रेसको सान्दर्भिकताबारे बुधबार दिएको तुच्छवाणीप्रति खाँणले अपशोच व्यक्त गरे ।

प्रकाशित: १ मंसिर २०७४ ०३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App