७ वैशाख २०८१ शुक्रबार
राजनीति

धान काट्न खेतखेतमा उम्मेदवार

झापा-  एमाले प्रवेश गर्नासाथ टिकट पाएर चुनाव लडिरहेका पूर्व डिआइजी नवराज सिलवालदेखि कांग्रेसका चर्चित नेता विश्वप्रकाश शर्मासम्मले भोट माग्ने क्रममा धान काटेको फोटो सामाजिक सञ्जालमा भाइरल बन्यो । अरु थुप्रै नेता यस्तै चुनावी ‘स्टन्ट’ मा रमाइरहेका छन् । तर, चुनावको मुखमा नेताको रमाइलोका अघि किसानले धानको मूल्य नपाएको दुःख भने छोपिएको छ ।  

‘धान थन्क्याउने सिजनमा चुनाव परेको छ, हामीले धानको कहिल्यै उचित मूल्य पाएका छैनौं । यो बेला उम्मेदवारले त केही बोलिदेलान् भन्ने आशा हुन्छ । तर, भोट माग्न आउने नेताहरु पहिले आफूलाई जिताउनुहोला अनि सबै ठिक हुन्छ भन्छन् ।


 समाजवादी राज्य व्यवस्थाको सपना देखाउँदै मतदाता फकाइरहेका वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले आफ्ना पीडाबारे यस बेला केही बोलिदिने आशामा किसान मतदाता छन् । तर, हरेक उम्मेदवार पहिले आफू र आफ्नो पार्टीलाई भोट दिएर जिताउन अनि ‘किसानमैत्री’ वातावरण बनाउने सर्त तेस्र्याइरहेका छन् । ‘धान थन्क्याउने सिजनमा चुनाव परेको छ, हामीले धानको कहिल्यै उचित मूल्य पाएका छैनौं’, झापा मेचीनगरका किसान भगीरथ उपरकोटीको गुनासो छ, ‘यो बेला उम्मेदवारले त बोलिदेलान् भन्ने आशा हुन्छ । तर, भोट माग्न आउने नेताहरु पहिले आफूलाई जिताउनुहोला अनि त्यसपछि सबै ठिक हुन्छ भन्छन् ।’ उनका अनुसार जसरी पनि चुनाव जित्ने ध्येय पालेका उम्मेदवारहरुलाई किसानको समस्या सुन्ने धैर्य छैन ।
उनले सुनाएको गुनासो हरेक उम्मेदवार पाइलापाइलामा प्रमाणित गरेर देखाइरहेका छन् । बिहीबार झापा ज्यामिरगढीको गाइनबारीमा वाम गठबन्धनको चुनावी सभा चलिरहेको थियो । झापा–१ बाट उम्मेदवार बनेका माओवादी नेता राम कार्की सभालाई सम्बोधन गरिरहेका भेटिए । उनी वाम एकताको लक्ष्यबारे मतदातासामु बोलिरहेका थिए । ‘जब वामपन्थी सरकार आउनेछ, त्यसबेला किसानले आफ्नो उत्पादनको मूल्य आफैं तोक्नेछन्, व्यापारीको मनपरी चल्नेछैन’, उनी भन्दैथिए । तर, अहिले खेतखेतमा धान थुपारेका किसानले भोगिरहेको मूल्य समस्याबारे भने उनी केही बताउन चाहिरहेका थिएनन् । उनको आग्रहको सार एउटै थियो, ‘मलाई मत दिनुस् ।’
 मुलुक चुनावी रमाइलोमा होमिएका बेला खेतबारीबाटै आफूसहित अरू धेरैको खाद्य आवश्यकता टार्ने हजारौं किसान भने आफ्नो उत्पादनको मूल्य नपाएर झोक्राइरहेका छन् ।  हजारौं लगानी र मिहेनत खर्चेर उत्पादन गरेको धान सिजनको सुरुमै भुसजत्तिकै सस्तो छ ।  अहिले झापाको बजारमा धान प्रतिमन (४० केजी) सात सयदेखि नौ सय रुपैयाँसम्म किनबेच भइरहेको छ । जिल्लामा सबैभन्दा धेरै खेती हुँदै आएको रञ्जित धानको मूल्य नौ सय रुपैयाँ प्रतिमन छ । यसले लागत खर्च पनि नउठ्ने गुनासो किसानको छ । उनीहरुका अनुसार एक मन धान उत्पादन गर्न कम्तीमा १ हजार तीन सय रुपैयाँ खर्च हुन्छ । १३ सय जति खर्चेर उत्पादन गरेको धान नौ सय रुपैयाँमा बेच्नुपर्ने बाध्यता भएपछि किसान निराश छन् । रञ्जितबाहेक मोटो जातका अन्य धानको मूल्य त योभन्दा पनि कम्ती छ । सोना मन्सुली, मन्सुली, आउ मन्सुलीजस्ता धानको मूल्य सात सय हाराहारीमा छ । छिट्टै पाक्ने जातका धान लगाउन थालेका किसानका लागि धान नै सम्पूर्ण आयको स्रोत हो । कात्तिक दोस्रो सातादेखि नै झापामा धान थन्क्याउने क्रम सुरु भइसकेको छ । भएभरको धान बेच्दा पनि लागत खर्चै नउठ्ने गरी व्यापारीले तोकेको भाउले किसान विकल्पहीन बनेका हुन् ।  
व्यापारीले सिन्डिकेटको आडमा आफूखुसी मूल्य तोकेर किसानको पसिनामा खेलवाड गरिरहेका छन् । तर, तिनै किसानसँग भोट मागेर मुलुक हाँक्ने सपना देखिरहेका उम्मेदवार र दलहरु भने यसबारे पूरै मौन छन् । ‘हामीबाट नेताले पाउने भनेको एक भोट हो, व्यापारीहरुले चुनाव खर्च नै दिन्छन्’, बिर्तामोड–४ का किसान लीलावल्लभ बरालको आक्रोश छ, ‘त्यही भएर कोही नबोलेका होलान् । धान काट्दै गरेको ठाउँमा गएर हँसिया समातेर फोटो मात्रै खिचेर के गर्नु ?’ अन्यत्रका धेरै उम्मेदवारले धान काटेजस्तो गर्दै फोटो खिचेको सुनेका बरालले भने, ‘मेरो बारीमा आए भने कि दिनभरी काट्न सघाउनु भन्छु, नत्र किसानको समस्याको हल खोज्नतिर लाग भन्छु । यस्तो नाटकले हाम्रो समस्या समाधान हुँदैन ।’  
किसानका अनुसार सबै उत्पादनको मूल्य उत्पादक स्वयम्ले तोक्छन् । तर, कृषि उपजका हकमा भने ठिक उल्टो हुने गर्छ । ‘अहिले व्यापारीको एक मुख छ, व्यापारीले बोलेको भरमा हाम्रो उत्पादनको दाम कायम हुन्छ’, मेचीनगरका किसान भगीरथ उपरकोटीले भने, ‘शासन गर्ने दलहरुले किसानको धान यो भन्दा तल्लो कलममा किनबेच गर्न नपाइने नियम बनाइदिनुपर्छ ।’ उनको अपेक्षा सिजनको सुरुतमै सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकिदियोस् भन्ने हो । बेला घर्किसकेपछि अर्थात पुसमाघतिर सरकारले न्यूनतम समर्थन मुल्य निर्धारण गर्ने गरेको छ । त्यो पनि निर्धारण मात्रै हुन्छ, अनुगमन अभावमा कार्यान्वयन हुँदैन । ‘पोहोर सरकारले तोकेको भाउ माग्दा गएर सरकारलाई नै बेच्नु भन्दै व्यापारीले थर्काए’, उनले भने, ‘व्यापारीको मनपरी रोक्न सक्ने दलहरू हुन् । उनीहरुले त्यसमा चासो नै दिँदैनन् ।’
तर, दलका नेता र उम्मेदवारहरु भने आफू किसानको समस्या र पीरमर्काबारे जानकार रहेको र समस्या समाधानमा लागिरहेको दाबी गर्छन् । ‘हामीले किसानको हितका लागि धेरै लडाइँ गरेका छौं’, कांग्रेसबाट झापा ४ मा प्रतिनिधिसभा उम्मेदवार बनेका देउकुमार थेवे भन्छन्, ‘कांग्रेस मात्रै किसानमैत्री पार्टी पनि हो ।’
यसबाहेक कसरी किसानमैत्री भन्ने विषयमा न उनीसँग जबाफ छ, न उनका प्रतिस्पर्धी कसैसँग छ । ‘दल र नेता किसानमैत्री भए अहिले किसानले मूल्य पाइनँ भन्दै कोकोहोलो गर्नुपर्ने थिएन’, धुलाबारी क्याम्पस राजनीतिशास्त्रका उपप्राध्यापक भुवन आचार्य भन्छन्, ‘दलहरु किसानको समस्याबारे गम्भीर नभएर सधैं आक्रामक बनेका हुन् ।’

 

प्रकाशित: १ मंसिर २०७४ ०४:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App