coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

रहेनन् होचा कदका कलाकार

काठमाडौं- होचो कलाकार दीपेन शाहको बिहीबार बिहान निधन भएको छ । धादिङको कार्यक्रम सकेर चार दिनअघि ललितपुरको घर फर्किएका दीपेन अस्वस्थ्य भएपछि किस्ट अस्पताल भर्ना भएका थिए । उनले अस्पतालमै बिहीबार बिहान ७ बजे अन्तिम सास फेरेका हुन् ।
दीपेनलाई टेलिश्रृंखला ‘झ्याइँकुटी झ्यार्इं’मार्फत दर्शकमाझ ल्याएका निर्देशक शेखर खनालका अनुसार धादिङबाट फर्किएपछि दीपेनले परिवारलाई छाती दुखेको बताएका थिए । ‘त्यसपछि उसलाई अस्पताल भर्ना गरियो । बुधबारसम्म स्वास्थ्य अवस्था ठिकै थियो । तर, सोही रात रोगले च्यापेपछि बिहान उनको निधन भयो,’ दीपनले ‘गुरुबा’ मान्ने शेखरले भने, ‘चिकित्सकले उसको किड्नीमा इन्फेक्सन देखिएको बताएका छन् । त्यसको असर मुटुमा परेको हुनसक्छ ।’ टेलिश्रृंखला ‘झ्याइँकुटी झ्यार्इं’मा झन्डै डेढ सय भागसम्म अभिनय गरेका दीपेनले कमेडियन महादेव त्रिपाठीको फिल्म ‘जोकर’मा पनि ‘हिरो’कै भूमिकामा अभिनय गरेका थिए ।
दोलखाको मकैबारीमा २० वर्ष अघि जन्मिएका दीपेन ललितपुरको इमाडोलस्थित रातामकै चोकमा परिवारका साथ बस्दथे । उनले कला यात्रामा झन्डै १२ वर्ष बिताइसकेका छन् । सानैदेखि अभिनयमा रूचि राख्ने दीपेन उनकै अभिभावकको आग्रहमा आफ्नो टेलिश्रृंखलामा अनुवन्धित भएको शेखरले बताए । ‘दीपेनमा सानैदेखि अभिनयको मोह रहेछ । उनका बुवाआमाले छोरालाई कलाकार बनाइदिनुप¥यो भनेपछि अर्का निर्देशक दमन रुपाखेतीसँगको सल्लाहमा टेलिश्रृंखलामा खेलायौं,’ शेखरले भने, ‘स्क्रिप्टको संवाद प्रष्ट बोल्न सक्ने र आफूहरुले दिएको निर्देशन अनुसार अभिनय गर्न सक्ने भएकाले पनि छोटो समयमै आम दर्शकमाझ ऊ चिनियो ।’
पछिल्लो समयमा दीपेन विभिन्न जिल्लामा हुने महोत्सवमा अभिनय गर्न, नाच्न सक्रिय थिए । उनी प्रायः कमेडियन महादेव त्रिपाठीसँग विभिन्न जिल्लाको महोत्सवमा सहभागिता जनाउँथे । होचो कलाकारका रूपमा दीपेनको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता गराउन ‘दीपेन शाह फाउन्डेसन’ नामक एक तदर्थ समिति बनाइएको थियो । जसको संयोजक शेखर नै थिए । उनका अनुसार दर्ताको प्रक्रिया अन्तिम चरणमा थियो ।
दीपेनको निधन भएको खबर सार्वजनिक भएपछि नेपाल चलचित्र कलाकार संघले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा अन्तिम श्रद्धाञ्जलीका लागि राख्न चाहेको थियो तर डबली जिर्णोद्धार भइरहेकोले प्रतिष्ठानले ठाउँ नदिएपछि उनको पार्थिव शरीरलाई चाबहिलस्थित चलचित्र विकास बोर्डमा राखिएको थियो ।
दीपेनेसँगै विभिन्न महोŒसवमा पुगिरहने कमेडियन महादेवले जतिसुकै बिरामी भए पनि ऊ महोŒसवका कार्यक्रममा जान उत्साहित हुने गरेको सम्झिए । ‘अस्वस्थ भए पनि म अभिनय गर्न सक्छु भन्ने उसमा आत्मविश्वास थियो,’ उनले भावुक हुँदै भने, ‘दुई चारदिन अघि मात्र धादिङमा सँगै कार्यक्रम गरेको मान्छेको निधनको खबर सुन्दा म स्तब्ध भएँ । हामी रामलक्ष्मण दाजुभाइ जस्तै मिलेर हिँड्थ्यौं ।’
कलाकार तथा निर्देशक दमन रुपाखेतीले दीपेनको जोश र जाँगर देख्दा अन्य कलाकारलाई पनि काम गर्ने प्रेरणा मिल्ने दाबी गरे । ‘उसको प्रतिभा अनौठो किसिमिको थियो । काम गर्ने शैली पनि भद्र थियो,’ उनले सुनाए, ‘यति राम्रो कलाकार भएर पनि उसलाई न त सरकारले नै केही सहयोग ग¥यो न त चलचित्र विकास बोर्डले नै ।’
अभिनेत्री बसुन्धरा भुषाल, चैत्यदेवी, कलाकार रविन्द्र खड्का, निर्देशक ऋषि लामिछानेलगायतले उनीप्रति अन्तिम श्रद्धाञ्जली दिए । उनको बिहीबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । दीपेनको परिवारमा आमाबाबु, दुई दिदी र एक दाजु छन् ।

प्रकाशित: १ मंसिर २०७४ ०५:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App