८ वैशाख २०८१ शनिबार
राजनीति

ओखलढुंगामा निर्वाचनका लागि एक हजार १२८ कर्मचारी खटाइने

ओखलढुंगा – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ओखलढुंगा जिल्लामा एक हजार १२८ जना कर्मचारी खटाइने भएको छ। 

पहिलो चरणअन्तर्गत आगामी मंसिर १० हुन लागेको निर्वाचनका लागि यस जिल्लामा एकहजार १२८ कर्मचारी खटाउन लागेको ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत कैलाश केसीले जानकारी दिए। 

मुख्य निर्वाचन अधिकृत केसीका अनुसार निर्वाचनका लागि खटाइने कर्मचारीको नामावली तयार पारिसकिएको छ। यही मंसिर ७ गते तोकिएको मतदान केन्द्रहरुमा पुग्ने गरी कर्मचारी परिचालन गरिनेछ। 

एकसय ४१ मतदान अधिकृत, १४१ जना सहायक मतदान अधिकृत निर्वाचनमा खटिएका छन्। निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृतसहित एक मतदान केन्द्र बराबर चार सहायक कर्मचारी र दुईजना सहयोगी कर्मचारी गरी आठजना कर्मचारी खटाइने मुख्य निर्वाचन अधिकृत केसीले बताए। 

निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री जिल्ला आइपुगिसकेका छन् भने निर्वाचन सामग्री सम्बन्धित निर्वाचनस्थलहरुमा पठाउने तयारी भइरहेको छ। जिल्लामा एक नगरपालिकासहित सातवटा गाउँपालिकाभित्र १४१ मतदान केन्द्रमार्फत मतदान हुँदैछ। प्रतिनिधिसभाको चुनावमा एक लाख दुई हजार २६३ जना मतदाताले मतदान गर्दैछन्। 

निर्वाचनको सुरक्षाका लागि सम्पूर्ण मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी खटिएका छन्। निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ। 

प्रकाशित: १ मंसिर २०७४ ०५:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App