७ वैशाख २०८१ शुक्रबार
राजनीति

यस्ता छन् उम्मेदवारका एजेन्डा

काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र– ३ मा काठमाडौं महानगरपालिका वडा– ६, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी नगरपालिका वडा– १, २ र ३ पर्छन् । स्थानीय निर्वाचनको मत परिणाम हेर्दा यो क्षेत्रमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । 

स्थानीय निर्वाचनमा खसेको कुल १९ हजार सात सय ६० मतमध्ये लोकतान्त्रिक गठबन्धनले नौ हजार नौ सय ९८ र वाम गठबन्धनले नौ हजार ६ सय २१ मत पाएको थियो, जसमा वाम गठबन्धनभन्दा लोकतान्त्रिकले तीन सय ७७ मत बढी ल्याएको थियो । 

यो क्षेत्रबाट लोकतान्त्रिक, वाम गठबन्धन, विवेकशील साझा पार्टी लगायतले उम्मेदवारी दिएका छन् । यतिबेला सबै उम्मेदवारले घरदैलो अभियान तीव्र बनाएका छन् । प्रतिनिधि तथा प्रदेशसभामा उम्मेदवारी दिएका उम्मेदवारले कस्ता अजेन्डा उठाएर मत मागिरहेका छन् । के–के छन् त उम्मेदवारका अडेन्डा ?

‘झुक्याएर चुनाव जित्नु छैन’

अम्बिका बस्नेत
उम्मेदवार, प्रतिनिधिसभा 
लोकतान्त्रिक गठबन्धन

यस क्षेत्रमा बिपी कोइराला, गणेशमान सिंह, किसुनजी लगायतले लोकतन्त्रका लागि बन्दी जीवन बिताएका थिए । यो क्षेत्रका जनता लोकतन्त्रप्रति जानकार छन् । उनीहरू लोकतन्त्र संस्थागत गर्ने कुरामा साथ दिँदै आएका छन् । 
मेरो उम्मेदवारी पनि लोकतन्त्र संस्थागत गर्न र संविधान कार्यान्वयन गराउन हो । यस क्षेत्रको मुहार फेर्न, जनताको जीवनस्तर उकास्न जनतासँग प्रतिबद्धता गरेको छु । यसअघि जनतासँग गरेको प्रतिबद्धताबमोजिम संविधान जारी ग¥यौँ । समृद्ध देश बनाउनु अबको चुनौती छ । त्यसैका लागि चुनावी मैदानमा उत्रिएकी हुँ । 

चुनावमा महिलाका अजेन्डालाई पनि उठाएकी छु । महिलाको हकअधिकार जसरी सुनिश्चित भएका छन्, तिनलाई कार्यान्वयन गर्न महिला नेतृत्व तहमा पुग्न जरुरी छ । त्यसका लागि पनि जनतालाई मलाई जिताउनेछन् भन्नेमा पूर्ण आशावादी छु । 

अहिले सयौँ दाजुभाइ तथा दिदीबहिनी रोजगारका लागि बिदेसिन बाध्य छन् । त्यसकारण यहाँको सम्भावनालाई विकासमा रूपान्तरण गरी रोजगार दिलाउने काममा अग्रसर हुनेछु । जनताको समस्यालाई प्राथमिकता दिई विकास निर्माण अगाडि बढाउनेछु । पर्यटकीय क्षेत्र भएकाले यहाँको विकास गर्न पयटकीय केन्द्र आवश्यक छ । त्यसैले यस क्षेत्रलाई पर्यटकीय हब बनाउनेछु, जसबाट पर्यटक भिœयाएर वैदेशिक मुद्रा आर्जन गर्न सकियोस्। 

सांसद् हुँदा यस क्षेत्रमा अनगिन्ती काम गरेको छु । जनताको सुखदुःखमा साथ दिएको छु । जनताले जतिबेला बोलाउँदा पनि आफ्नो उपस्थिति देखाएँ । आवश्यकता अनुसार सहयोग सबैलाई गरेको छु । सडक, खानेपानी, ढल निर्माणलगायत विकास निर्माणसँगै यस क्षेत्रका दिदीबहिनीलाई सीपमूलक तालिम दिई स्वरोजगार बनाउने भूमिका खेलेँ । त्यसकारण पनि घरदैलोमा जाँदा मतदाता मत दिन आतुर रहेको पाएँ । अब पनि यसैगरी मतदाताको अनुहारमा खुसी छर्न चाहन्छु । गरिबीको रेखामुनि रहेका सर्वसाधारणको जीवनस्तर उकास्न, विकासको मूल फुटाउन चाहन्छु । मलाई थाहा छ, यो क्षेत्रमा गर्न सक्ने हो भने सुन फलाउन सकिन्छ । बाग्मतीजस्तो सभ्यता बोकेको नदी यहाँ छ । सुन्दरीजल, शिवपुरीजस्तो प्राकृतिकस्थल र बौद्धनाथजस्तो विश्वसम्पदा पनि यहाँ छ । यी सबै स्रोत र साधन प्रयोग गरेर यस क्षेत्रलाई नमुना बनाउँछु। 

यी प्रतिबद्धता चुनाव जित्न मात्रै मात्रै उठाएको होइन । मलाई यो क्षेत्रमा चुनाव जित्न कुनै सकस छैन । यो लोकतन्त्रको बलियो ठाउँ हो । यहाँका ९० प्रतिशत जनता लोकतन्त्रमा विश्वास गर्छन् । त्यसैले यो क्षेत्रको विकासका लागि योजना उठाएको हुँ । मैले गर्न नसक्ने योजना उठाएको छैन । अन्य पार्टीले सपना बाँडिरहेका छन् । गर्नै नसकिने सपना बाँडेर जनता झुक्याउने काम गरिरहेका छन् । मलाई झुक्याएर चुनाव जिती जनताको मन दुखाउने चेष्टा गर्नु छैन । 

‘राष्ट्र समृद्ध बनाउँछु’

कृष्ण राई
उम्मेदवार, प्रतिनिधिसभा
वाम गठबन्धन

म यस क्षेत्रका जनताको परिचित अनुहार हुँ। जनताको सुखदुःखमा साथ दिँदै आएको छु । यसैले होला, यहाँका जनताले मलाई ०५४ को स्थानीय निर्वाचनमै तत्कालीन जोरपाटी गाविसको उपाध्यक्ष बनाएर पठाएका थिए । त्यसबेला जनताका आवश्यकताअनुसार काम गरियो । त्यसपछि पनि जनताले मलाई माया गर्दै आइरहेका छन् । मैले राजनीतिक हिसाबमा मात्रै नहेरी सामाजिक हिसाबमा पनि अग्रणी भूमिका निर्वाह गरेर जनताको हितमा काम गरेँ । पूर्ण रूपमा राजनीतिक जीवनभन्दा बढी सामाजिक काम तथा कला, साहित्यमा केन्द्रित रहेँ । स्थानीय तथा राष्ट्रिय मात्रै नभएर अन्तर्राष्ट्रिय संघ–संस्थामा आबद्ध रहेर पनि जनताका लागि खटिरहेँ। 

मैले राजनीति गर्नुमा कुनै स्वार्थ छैन । म जनताका लागि केही गर्न राजनीति गरिरहेको हुँ । त्यसैले हामी आवश्यकता अनुसार अगाडि बढिरहेका छौँ । अबको आवश्यकता आर्थिक क्रान्ति हो । त्यसका लागि आवश्यक स्थायी सरकार हो । त्यसैका लागि वाम गठबन्धनको आवश्यकता छ । मेरो उम्मेदवारी समृद्ध राष्ट्र बनाउनका लागि हो । त्यसका साथै यो क्षेत्रलाई कसरी नमुना बनाउन सकिन्छ भन्नेमा म प्रतिबद्ध छु । अब स्थानीय, प्रदेश र केन्द्रको सरकार बन्छ । सबै सरकारसँग साझेदारी गरेर यो क्षेत्रलाई नमुना बनाउने पहिलो काम हुनेछ। 

मेरो क्षेत्रमा पूर्वाधार विकासले तीव्रता पाउन सकेको छैन । सडक निर्माण, खानेपानीलगायत पूर्वाधार अगाडि बढ्न सकेको छैन । त्यसको मार आमजनताले खेप्नुपरेको छ । यी समस्याको मध्यनजर गरेर विकास निर्माण अगाडि बढाउनेछु । अहिले यो क्षेत्रमा सडक विस्तार भइरहेको छ । सडक विस्तार हुँदा कतिपयको उठिवास लाग्ने अवस्था पनि सिर्जना भएको छ । यो समस्यालाई मध्यनजर गरी जनताको हितमा सडक विस्तार गरिनेछ । यो क्षेत्रमा अर्को मेरुदण्डका रूपमा रहेको बाग्मती नदीलाई सभ्यताको नदीका रूपमा विकास गर्नुपर्नेछ । यसका लागि आवश्यकता अनुसार सबै काम गर्ने प्रतिबद्धता मतदातासँग व्यक्त गरेको छु । मेरो क्षेत्रमा बौद्धनाथजस्तो विश्वसम्पदा पनि रहेको छ । यस क्षेत्रमा रहेको सुन्दरीजल प्राकृतिक रूपले सुन्दर छ । राष्ट्रिय सहिद पार्क पनि बन्दै छ । पार्क बनाउन वर्षौंंदेखि खट्दै आएको छु। त्यसैगरी गागलफेदी पार्क, कागेश्वरी धार्मिक स्थल, गोकर्णेश्वर महादेव, तारेभीरजस्ता चर्चित ठाउँको विकास तथा प्रर्वद्धन गर्नेछु। 

यी अजेन्डा पूरा गर्न कुनै कठिनाइ छैन । किनकि, गर्न नसक्ने अजेन्डा जनतालाई मैले बाँडेकै छैन । सधैँ जनतामाझ रहेर काम गरेको हुँ । त्यसैले गर्न नसक्ने काम बाँडेर जनताको मन दुखाउनु छैन । मैले उठाएका काम त अहिले म आफैँ सक्रिय भएर गरिरहेको पनि छु । अर्को कुरा म जनताको साथ रहेर काम गरिरहेको छु । उनीहरूको आवश्यकता अनुसार कदम चाल्ने गरेको छु । त्यसकारण यी काम गर्न मलाई कुनै चुनौती होला जस्तो लाग्दैन । किनकि, मैले जनताको अजेन्डा र आवश्यकतालाई उठाएको हुँ । स्थानीय जनता र सामाजिक संघ–संस्था तथा सरकारी निकायसँग मिलेर काम गर्दा सबै अजेन्डा पूरा हुनेछन्। 

अब वाम गठबन्धनको स्थायी सरकार बन्नेछ । स्थायी सरकार बनेपछि भने देश आर्थिक क्रान्तिमा होमिनेछ । त्यसका लागि यो क्षेत्रका जनताले मलाई बहुमतले जिताउनेमा विश्वस्त छु।

‘ऐतिहासिक स्थललाई पर्यटकीय क्षेत्र बनाउँछु’
सुमित्रसिंह लामा
उम्मेदवार, प्रतिनिधिसभा
विवेकशील साझा पार्टी

म डाक्टर तथा अनुसन्धानकर्ता हुँ । केही समय शिक्षण पेसामा पनि बिताएँ । मैले अहिलेसम्म हरेक काम इमानदार भएर गरेँ । 
अहिलेसम्म चुनिएका प्रतिनिधि जिम्मेवार र इमानदार नहुँदा विकास हुन सकेन । त्यसकारण परिवर्तन ल्याउने सोचले विवेकशील साझाबाट उम्मेदवारी दिएकी हुँ । 

मैले विदेशबाट अनाथ बालबालिकासम्बन्धी पिएचडी गर्ने मौका पाएको थिएँ । त्यसबेला नेपालमा रहेका अधिकांश अनाथ बालगृहमा पुगेको थिएँ । तर, त्यहाँ मैले सोचेकोभन्दा फरक भेटाएँ । बालगृहमा बस्ने अधिकांश बालबालिकाले आधारभूत आवश्यकता समेत पूरा नभएको पाएँ । त्यसपछि लर्डबुद्ध चिल्ड्रेन हेल्प फाउन्डेसन खोलेर बालगृहलाई सहयोग गर्न थालेँ। 

हामीले खासगरी बच्चाको स्वास्थ्यलाई ख्याल राखेर सहयोग गर्दै आएका छौँ । सन् २००७ यता करिब सात सय बच्चालाई सहयोग गरेका छौँ । मैले दीपाकर होलिडे होम चलाएको छु । नाफाको निश्चित अंश सामाजिक कार्यमा खर्च गरेकी छु । यस अलावा हामीले विभिन्न संघ–संस्थालाई सहयोग समेत गर्दै आएका छौँ । भूकम्पपछि १० बच्चालाई गागालफेदीमा सम्पूर्ण खर्च बेहोरेर पढाइरहेका छौँ । 

यी काम गर्दा पनि देशका लागि केही खास गर्न नसकेजस्तो लाग्यो । देशको अवस्था देखेर व्यक्तिगत रूपमा निरन्तर काम गरेर देशका लागि केही योगदान पुग्लाजस्तो लागेन । घरबाट निस्कँदा होस् या कतै जाँदा देशको अवस्थाले पोलिरह्यो । स्थानीय पूर्वाधार तथा समस्या देख्दा मन दुख्यो । यसैले नीतिगत स्तरमै गएर परिवर्तन गर्न राजनीतिमा होमिएकी हुँ । राजनीति मेरो रहर नभएर आवश्यकता ठानेको छु । चुनाव जिते यस क्षेत्रका ऐतिहासिक स्थलमा बाह्य पर्यटक भिœयाएर आम्दानी बढाउन पहल गर्नेछु । पूर्वाधार निर्माणसँगै स्थानीयको जीवनस्तर उकास्न तथा देशलाई समृद्ध बनाउन मेरो प्राथमिकता हुनेछ । यसअगाडि अन्य राजनीतिक दलले धेरै प्रतिबद्धता गरे पनि चुनाव जितेपछि ती प्रतिबद्धता कागजमै थन्किए । चुनाव जितेर उनीहरूले आफ्नो स्वार्थको राजनीति गरिरहे । यसले गर्दा हामीले धेरै समस्या खेपिरह्यौँ । त्यसैले देशलाई कागजमा प्रतिबद्धता बाँड्ने होइन, काम गर्ने मान्छे आवश्यक छ । काम गर्नका लागि नै उम्मेदवारी दिएको हुँ । हामी सबै मिलेर देश बनाउनु छ । अब आउने पुस्ताका लागि सुन्दर नेपाल हस्तान्तरण गर्नुछ। 

‘खेलकुदको विकास गर्नेछु’ 
 छिरिङ दोर्जे लामा
उम्मेदवार, प्रदेशसभा (क) 
लोकतान्त्रिक गठबन्धन

लोकतन्त्रमा विश्वास राखेर यसकै निम्ति लड्दै आएको व्यक्ति हुँ । यस क्षेत्रमा लामो समयदेखि सामाजिक रूपमा क्रियाशील रहेको हुँदा सबैमाझ परिचित पनि छु । जोस–जाँगर र केही गरौँ भन्ने भावना भएको व्यक्तिका रूपमा चिन्दै आएका छन् । मैले बौद्धनाथ क्षेत्र विकास समितिको कार्यकारी हुँदा ताका नै यहाँका जनताको मन जितेको छु । त्यसबेला मैले सांस्कृतिक पर्यटनलाई विकास गर्न भूमिका खेलेको थिएँ । बौद्धनाथ क्षेत्र आसपासको विकासमा समेत मेरो योगदान थियो । अहिले पनि म महŒवपूर्ण पदमा नभए पनि स्थानीय संघ–संस्था तथा सामाजिक क्लबमा रहेर समाजको हितका लागि काम गरिरहेको छु । नेपाल विद्यार्थी संघको सहमहामन्त्री रहँदा यस क्षेत्रका विद्यार्थीका निम्ति धेरै काम गरेको थिएँ । त्यसैले यस क्षेत्रमा जनताले मलाई रुचाउँदै आएका छन् । जनताको सुखदुःखमा पनि आफ्नो उपस्थिति जनाउँदै आएको छु । उनीहरूले बोलाएको सबै कार्यक्रममा सहभागी भएको छु । आर्थिक तथा सामाजिक सहयोग गरेको छु । त्यसैले यहाँका जनताले मलाई जिताउनेमा विश्वस्त छु।

सर्वप्रथम प्रदेशको नामाकरण गर्ने कुरामा यहाँको पहिचान झल्किने गरी राख्न पहल गर्नेछु । यहाँको विकास निर्माणका लागि भने यहाँकै जनतासँग छलफल गरेर आवश्यकता अनुसार अगाडि बढाउने योजना बनाएको छु । यो क्षेत्र पयर्टकीय नगरका रूपमा विकास गर्न सकिन्छ । त्यसैले सांस्कृतिक सहरका रूपमा विकास गर्ने लक्ष्य रहेको छ । बाग्मती सभ्यता कायम गराउन पनि मैले भूमिका खेल्ने प्रतिबद्धता यहाँका जनतामाझ गरेको छु । यस क्षेत्रमा सडक, ढल, खानेपानीको व्यापक समस्या रहेको पाइयो । यस्ता समस्याबारे स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई लगेर तत्कालै अगाडि बढाउन प्रक्रिया समेत थालेका छौँ । हामीले समस्या भएका ठाउँमा योजना समेत परेका छन् । तर, आचारसंहिताले अगाडि बढाउन सकिएको छैन । ती योजना पार्न मैले पनि भूमिका खेलेको छु। 

त्यसैगरी, यो क्षेत्र खेलकुदको उर्वरभूमि हो । यहाँबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेको छ । तर, अहिले यो क्षेत्र खेलकुदमा सुस्ताएको छ । त्यसैले यो क्षेत्रको खेलकुद विकासका लागि काम गर्ने प्रतिबद्धता गरेको छु । सीपमूलक रोजगारी तथा प्राविधिक शिक्षाको व्यवस्था गरेर यहाँका जनतालाई रोजगारी दिलाई जीवनस्तर उकास्न भूमिका खेल्नेछु । त्यसका लागि यहाँका जनताले बहुमतले विजयी गराउँछन् भन्नेमा विश्वस्त छु।

‘जनताको आवश्यकताअनुसार काम गर्नेछु’

विमल ठकुरी
उम्मेदवार, प्रदेशसभा (ख) 
लोकतान्त्रिक गठबन्धन

म राजनीतिक संस्कारमा हुर्किएको व्यक्ति हुँ । स्वर्गीय बुबा चक्रबहादुर ठकुरीको प्रेरणाले म ०४६ देखि राजनीतिमा क्रियाशील छु । म स्थानीयस्तरका जनताको सुखदुःखमा साथ दिँदै आएको छु । नेपाल मेडिकल कलेज जोरपाटीमा रहँदा यस क्षेत्रका जनताको स्वास्थ्य सेवाका लागि निरन्तर सक्रिय रहेँ । आर्थिक अवस्था कमजोर भएकाले उपचार नपाउने अवस्था रहेन । अहिले पनि म निरन्तर जनताको स्वास्थ्य सेवाका लागि क्रियाशील छु । त्यसैगरी, मैले युवाको मुद्दामा पनि साथ दिँदै आएको छु । घरदैलोमा जाँदा युवाको साथ पाएको छु । त्यसैले पनि मैले ठूला सपना होइन, गर्न सकिने अजेन्डा मात्रै अघि सारेको छु । जनताको आवश्यकता अनुसार काम मेरो प्राथमिकतामा रहेको छ । युवाका क्षेत्रमा र रोजगारीका लागि काम गर्ने योजना बनाएको छु। 

यो क्षेत्रमा ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल छन् । तर, विविध कारण प्रचार–प्रसार हुन सकेका छैनन् । त्यस क्षेत्रमा सडक सुविधा पनि छैन । त्यसकारण ती क्षेत्रबाट आर्थिक लाभ उठाउन सकिएको छैन । त्यसैले सर्वप्रथम यहाँको सडकलाई जनताको चाहनानुसार विकास गरेर पर्यटकीय केन्द्रका रूपमा यस क्षेत्रलाई विकास गर्ने योजना छ । यसअघि चुनाव जितेकाले केही नगरेको जनताले हामीलाई विजयी गराउने प्रतिबद्धता गरेका छन् । लोकतन्त्र बलियो बनाउन तथा संविधान कार्यान्वयन गर्न हाम्रो जित आवश्यक छ । त्यसकारण जनमतको कदर गर्दै जनताका साथमा रहेर आवश्यकता अनुसार यस क्षेत्रको विकास गर्ने प्रतिबद्धता गरेको छु । जनताको सुखदुःखको साथी बन्नु नै मेरो प्राथमिकता हुनेछ । 

‘यहाँका सम्भावनालाई विकासमा रूपान्तरण गर्नेछु’

रुद्र बराइली
उम्मेदवार, प्रदेशसभा (क) 
वाम गठबन्धन

म १३ वर्षदेखि काठमाडौंमा बस्दै आएको छु । मैले यस क्षेत्रका सामाजिक संघ–संस्थामा काम गर्दै आएको छु । मैले यस क्षेत्रमा सडक निर्माण, सोलारबत्ती जडान, फोहोर मैला व्यवस्थापन जस्ता काम गरेको छु । मैले निःस्वार्थ रूपमा राजनीति गरेकाले यहाँका जनताले मलाई रुचाएका छन् । जनताको साथ पाएरै चुनावमा होमिएको हुँ। 

समाजसेवा गरेकाले साथीहरूले सक्रिय राजनीतिमा पठाउन लागेका हुन् । त्यसैले यहाँका जनताले विजयी गराउनेछन् भन्नेमा विश्वस्त छु।

यस क्षेत्रमा बागद्वारजस्तो ऐतिहासिक ठाउँ छ । शिवपुरीजस्तो रमणीय स्थल छ । बौद्धजस्तो विश्वसम्पदा छ । बाग्मतीजस्तो सभ्यता बोकेको नदी छ । त्यसकारण यहाँका अथाह सम्भावनालाई आर्थिक विकासमा रूपान्तरण गर्न आवश्यक छ । यी काम गर्न मैले उम्मेदवारी दिएको हुँ । त्यसैले यस क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्न चाहन्छु । त्यसका लागि हामीले केवलकारको योजना अघि सारेका छौँ । सुन्दरीजलबाट शिवपुरीसम्म केबलकारको अवधारणा अघि सारेका छौँ । यो योजना सम्पन्न गरेर यहाँको पर्यटकीय विकास तथा यहाँका जनताको जीवनस्तर उकास्न मद्दत गर्नेछ । त्यसैगरी, सुन्दरीजलदेखि चोभारसम्म मेट्रो रेल चलाउने अजेन्डा पनि हामीले प्राथमिकताका साथ राखेका छौँ । त्यसैगरी घरघरमा निःशुल्क वाइफाईको सुविधालाई पनि अजेन्डामा समावेश गरेका छौँ । यी अजेन्डा पूरा गर्नका लागि नै वाम गठबन्धनको आवश्यकता हो । स्थायी सरकारले मात्रै अजेन्डालाई पूरा गर्छ । त्यसैले यहाँका जनतालाई वाम गठबन्धनलाई मत दिएर बहुमतले जिताउन अनुरोध गर्छु । जिताएको खण्डमा सबै सँगै रहेर काम गर्ने हो । मतदाता समक्ष आवश्यकता अनुसार काम गर्न वाचा गरेको छु । 

‘पर्यटकीय क्षेत्र पहिलो प्राथमिकता’

रामेश्वर फुयाँल
उम्मेदवार, प्रदेशसभा (ख) 
वाम गठबन्धन

विद्यार्थीको होस् वा कर्मचारी आन्दोलन सबैमा मेरो नाम अग्रस्थानमा आउँछ । त्यसैगरी सामाजिक कार्यमा पनि मेरो ठूलो योगदान छ । साहित्य, कलामा समेत म परिचित छु । बैदारबाट अधिकृतसम्म सरकारी जागिरको भूमिका रहेँ । ०४८ सालदेखि निरन्तर रूपमा राजनीतिबाट देश विकासमा लागिरहेको छु । त्यसैले ०४९ को स्थानीय चुनावमा तत्कालीन आलापोट गाविस अध्यक्षमा विजयी भएँ । त्यसपछि ०५४ को स्थानीय चुनावमा पनि पुनः अध्यक्षमा विजय भएँ । मेरो कामका आधारमा सरकारले आलापोट गाविसलाई सरकारले नमुनाकै रूपमा घोषणा समेत गरेको थियो । 
म नेपाली मौलिकतामा आधारित विकास गर्न रुचाउने मान्छे हुँ । जनताको आवश्यकता अनुसार जनतालाई साथमा राखेर विकास गर्नेछु । त्यसैले मैले ठूला अजेन्डा अघि सार्नभन्दा पनि जनताको आवश्यकता अनुसार काम गर्छु । अर्को कुरा, देशमा अब आर्थिक क्रान्ति खाँचो भएको छ । समृद्ध नेपाल आवश्यक बनेको छ । त्यसका लागि उत्पादन बढाउनुपर्छ । सहकारी, उद्यम र जिम्मेवारीपूर्ण सरकारी निकायको विकास गर्न देशलाई मजस्तो व्यक्ति आवश्यक छ । यो क्षेत्रलाई पयर्टकीय केन्द्र बनाएर यहाँका जनताको जीवनस्तर उकास्ने मेरो पहिलो प्राथमिकता हो । रोजगारमुखी शिक्षाको विकास गर्ने अर्को काम मेरो काँधमा छ । म जनमुखी तथा जनआधारित विकास चाहन्छु । मैले सांसद् भएर पनि यस क्षेत्रमा धेरै काम गरेको छु । घरघरमा राष्ट्रिय झन्डा, जनजनमा ‘जय नेपाल’ भनेर राष्ट्रलाई माया गर्ने अभियान, प्रत्येक व्यक्तिले पाँच फिट अग्लो दुई रूख रोप्ने, दुई फूल रोप्ने र दुई थुन्चे फोहोर व्यवस्थापन अभियान, दाइजो नदिने र नलिने अभियान जस्ता सामाजिक परिवर्तनका अभियान थालेर यहाँका जनताको मन जितेको छु। 

मैले बाग्मतीमा रूख रोपेर बाग्मतीको सफाइसँगै राजनीतिको सफाइ गर्ने प्रतिबद्धता गरेको छु । त्यसका लागि भ्रष्टाचारमुक्त राज्य, भनसुन नलाग्ने प्रशासन बनाउने अभियान हुन्छ । त्यसैगरी, कागेश्वरी र बाहिरी चक्रपथ बनाउन भूमिका खेलेको छु । हिजो गरेका कामलाई पनि हेरेर र नमुना सहर बनाउन जनताले मत दिनुहुनेछ भन्नेमा विश्वस्त छु । 

‘देशकै नमुना क्षेत्र बनाउँछु’

रमेशकुमार पुडासैनी 
उम्मेदवार, प्रदेशसभा (क) 
विवेकशील साझा पार्टी

दुई दशकयता म शिक्षा क्षेत्रमा निरन्तर लागिरहेको छु । मलाई राजनीति गर्ने रहर होइन । तर, समयको मागले हामी राजनीतिमा आएका हौँ । राजनीतिमा नाम र दाम होइन, देशको सान बचाउन आएका हौँ । नेपाल विश्वमै सुन्दर भएर पनि पछि परेको देश हो । हाम्रो नेतृत्वले यो देशलाई विकास गर्नुको सट्टा पछाडि धकेलिरहेको छ । देशको अवस्था देखेर छटपटी भएपछि हामी युवा पार्टीमा होमिएका हौँ । सु–संस्कृति राजनीति गरेर देशलाई माथि उठाउनु हाम्रो पहिलो प्राथमिकता हो । अहिलेसम्म अन्य राजनीति दलले देशलाई सकाउने काम गरे । अब हामी देशलाई बचाएर माथि उठाउने काम गर्छाैं । अहिलेसम्म घरदैलो गर्दा मतदाताको प्रतिक्रिया राम्रै पाएका छौँ । मतदाताले परिवर्तन खोजेको कुरा स्पष्ट छ । हामीजस्तो जोस–जाँगर भएका युवालाई पाउँदा मतदातामा खुसी छाएको छ । हाम्रो चाहना प्रत्येक नेपालीको ओठमा खुसी ल्याउनु हो । देशलाई समृद्ध बनाउनु हो । असल समाजको निर्माण गर्नु हो । अहिलेसम्म हामी आफ्ना लागि दौड्यौँ, अब देशका लागि दौडिन आएका हौँ । आउने पुस्ताका लागि नेपाललाई समृद्ध बनाउन आएका हौँ । मतदाताले पनि यही कुरा बुझेर मत दिनुहुनेछ भन्ने विश्वास लिएका छौँ । मैले बाल्यकालदेखि यो क्षेत्रमा हुर्किएर यहाँका आवश्यकता तथा विकासलाई बुझिरहेको छु । त्यसैले यहाँका जनताको चाहना र आवश्यकता स्वरूप काम गर्न चाहन्छु । म यो क्षेत्रलाई देशको नमुना बनाउन चाहन्छु । त्यसका लागि जनताले बहुमतले जिताउनेमा विश्वस्त छु । 

‘जनताको आवश्यकता अनुसार सेवा र विकास’

महेशकुमार श्रेष्ठ
उम्मेदवार, प्रदेशसभा (ख) 
विवेकशील साझा पार्टी

म ३० वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय छु । ०४५ सालदेखि भगवान् युवा क्लब आबद्ध भएर समाज विकासमा होमिएको हुँ । त्यस अलावा माइक्रो फाइनान्स सञ्चालन गरेर पनि समाज विकासमा लागेको छु । तर, युवाले आफ्नो ठाउँबाट जति राम्रो काम गरे पनि देशको विकास नहुने रहेछ । नेताले देश विकासको सट्टा कुरीति, भ्रष्टाचार, घुसखोरीलाई मात्रै बढुवा दिए । त्यसकारण हामीजस्ता युवा जागरुक हुनुपर्ने आवश्यकता देखियो । सोहीअनुसार जन्मिएको यस पार्टीमार्फत राजनीतिमा आएको हुँ । नेपाली जनताले परिवर्तन खोजेका छन् । नेपालले आर्थिक क्रान्ति खोजेका छन् । त्यसका लागि हामी एकबद्ध भएर लाग्नुपर्छ । त्यसैले यहाँका जनताले मलाई विजय गराउँछन् भन्ने विश्वास लिएको छु । चुनाव जिते देश समृद्ध बनाउने अभियानसँगै यस क्षेत्रको विकास गर्नेछु । जनतासँग मिलेर विकासका काम अगाडि बढाउनेछु । त्यसैले यो क्षेत्रको विकासका लागि कागजमा सपना बाँड्नुभन्दा जनताको घरदैलोमा पुगेर आवश्यकता अनुसारको विकास तथा सेवा दिनु नै मेरो पहिलो प्राथमिकता हुनेछ । अर्को महŒवपूर्ण कुरा, काम सुरु हुन्छ । तर, सम्पन्न हुँदैन । यो किन वा कसरी हुन्छ भन्ने जनताले बुझ्न सकेका छैनन् । राजनीतिक नेतृत्वले पनि यसबारे चासो दिँदैनन्। 

 

प्रकाशित: १ मंसिर २०७४ ०८:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App