८ वैशाख २०८१ शनिबार
राजनीति

माझी गाउँको सन्देश : भोजभतेरमा बिक्दैनौं, वाचा पूरा गर्नेलाई भोट

घर बनाउन व्यस्त स्थानीय माझी समुदायका सदस्य। तस्विरः ध्रुव

माझी गाउँ (सिन्धुपाल्चोक)— चौतारा–दोलालघाट सडकको बन्देउबाट धुले सडक हुँदै केही अघि बढेपछि आउने जामुने गाउँका माझी युवा टहरोमा दलीय झण्डा गाढ्दै थिए। अलिपर एक्लेबेँसीमा उम्मेदवारका प्रचार सामग्री टाँस्न व्यस्त माझी युवाको अर्को टोली भेटियो। इन्द्रावती फाँटको झुम्म बस्ती महादेवटार अझ रंगिन थियो। टहरोको धुरीमा दलीय झण्डा फहराउँदै पाखा, भित्तैभरी छपक्क प्रचार सामग्री टाँसेर माझी समुदाय स्वागत साथ चुनावको व्यग्र प्रतिक्षा गरिरहेका छन्।

साँगाचोक, भीमटारस्थित पिछडिएका अल्पसंख्यक माझी समुदायलाई चुनावी सरगर्मीले ह्वात्तै छोपेको छ। गाउँमा सबै उम्मेदवार आइदिइन् भन्ने चाहिरेका उनीहरु कसलाई भोट दिने भनेर अहिलेसम्म खुलिसकेका छैनन्। सबै उम्मेदवारको बाचा सुनेपछि मात्र खुल्ने पक्षमा देखिए उनीहरु।

‘जति मरिहत्ते गरुन, भोजभतेरमा बिकेर भोट खस्नेवाला छैन,’ माटो र बाँसको टहरोअघि गाँसकै चिन्ताले घोत्लिरहेकी ७० वर्षीया सीता माझीले आक्रोश पोखिन्, ‘मासु र रक्सीमा बिकेर भोट हाल्ने चलनलाई इन्द्रावती नदीले बगाइसक्यो।’ बिगतका चुनावमा भोजभतेरमा बिक्दा गाउँ विकासमा पछाडि परेको दुःखेसो उनले पोखिन्।

‘जति मरिहत्ते गरुन, भोजभतेरमा बिकेर भोट खस्नेवाला छैन,’ माटो र बाँसको टहरोअघि गाँसकै चिन्ताले घोत्लिरहेकी ७० वर्षीया सीता माझीले आक्रोश पोखिन्, ‘मासु र रक्सीमा बिकेर भोट हाल्ने चलनलाई इन्द्रावती नदीले बगाइसक्यो।’ बिगतका चुनावमा भोजभतेरमा बिक्दा गाउँ विकासमा पछाडि परेको दुःखेसो उनले पोखिन्।

सीताले सबै कुरा बताउन नपाउँदै भोट माग्न राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति सम्शेर राणा आइ पुगे । सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका उनी यो माझी गाउँ आइ पुग्ने पहिला उम्मेदवार रहेछन्। उनका विकासे बाचा सुन्न घरधन्दा र घर बनाइरहेका स्थानीय आइपुगे। राणा भोट माग्दै आफ्ना प्रतिवद्धता सुनाएर हिँडे। तर स्थानीय खुलेनन् । उनीहरुले भोट दिन्छु, दिन्न भनेर केही पनि भनेनन्।

बिगतका निर्वाचनमै दलका नेता, तथा उम्मेदवारहरुले गरेको बाचा एउटै पूरा नभएपछि माझी समुदायमा आक्रोश रहेछ।  ‘गाउँका महिलालाई पानीको कम्ति दुःख छैन,’ पुनः समस्या सुनाउँदै बृद्ध सीताले भनिन्, ‘यत्रो फाँट सिञ्चाइ नपाएरै बाँझो छ। अहिलेसम्म कसैले केही गर्देका होइनन्।’ गाउँमूनिबाट इन्द्रावती बहिरहे पनि खानेपानी र सिञ्चाइ सुविधाबाट बञ्चित हुनु परेको उनले सुनाइन्।

यहाँका बस्ती जामुने, भीमटार, एक्लेबेँसी, महादेवस्थानमा माझी समुदायको मात्र बसोवास छ। उनीहरु २ सय भन्दाबढी घरधुरीमा बाँडिएर बसेका छन्। कमाइले तीन महिना भन्दा बढी खान नपुग्ने उनीहरु आर्थिक, सामाजिक र शैक्षिक रुपमा निकै पछाडि पारिएका छन्। ‘गाउँमा नेताहरुसँग निकै आक्रोश छ,’ स्थानीय अहिलेसम्म नखुल्नुको कारण बताउँदै ४१ वर्षीय तेजबहादुर माझीले भने। गाउँलेले यो पटक न्यूनतम खानेपानी र सिञ्चाइ दिने बाचा गर्ने विश्वासिलो नेतालाई मात्र भोट हाल्न चाहेको उनले सुनाए । ‘सबै उम्मेदवारका बाचा सुनेपछि गाउँ सल्लाहमा एउटा साझा उम्मेदवारलाई भोट दिने तयारी छ,’ उनले भने।

अधिकांश माझीसँग घरघँडेरी बाहेक जग्गा छैन। केही स्थानीयसँग केही जग्गा भए पनि सिञ्चाइ अभावमा अधिकांश समय बाँझै रहन्छन्। इन्द्रावतीमा माछा मार्ने मुख्य पेशा भएका उनीहरु भूकम्पले घर ढाले झन् प्रताडित छन्। दाताले सहयोग गरेपछि भूकम्पको ३० महिनापछि बल्ल स्थानीय घर बनाउन जुटेका छन्। गाउँमा विकासको नाममा मुश्किलले गाडी चल्ने धुले सडकबाहेक अरु केही देख्न पाईँदैन।

२ सय माझी बालबालिका पढ्ने भूकम्पले ढालेको विद्यालय अझै पुनर्निर्माण भएको छैन । इन्द्रावतीबाट ढुंगा, गिटी निकालेर गुजारा गर्न उनीहरु पाउँदैनन्। नदीमा गुण्डाराज चल्दा बगरको स्वामत्विबाट माझी समुदाय बञ्चित हुनु परेको तेजबहादुरको गुनासो छ । उनका अनुसार गाउँलेले नदीमाथिको स्वामित्वलाई पनि भोट दिने शर्त बनाउने छन्।

माझी गाउँमा पहिलो पटक एसएसली उत्तीर्ण गर्ने गणेश माझी अहिले स्थानीय विद्यालयमा शिक्षण गर्छन्। २०५७ मा उनले यो सफलता प्राप्त त्यसपछि २० जतिले मात्र एसएलसी उत्तीर्ण गरेका छन्। उनका अनुसार गाउँमा विद्यालय भए पनि ८ कक्षासम्म मात्र पढाइ हुन्छ । ‘त्यसमाथि पढ्न दुई घण्टा पैदल हिँडेर साँगाचोक भञ्याङ पुग्नुपर्छ,’ उनले भने।

गाउँले अशिक्षित रहँदा पहिला–पहिलो भोजभतेरमा भोट दिने प्रवृत्ति रहेको उनी सुनाउँछन् । गाउँलेले धेरै कुरा बुझिसकेको र पछिल्लो समय गाउँमा चेतना लहर फैलिरहेकाले यो पटक त्यस्तो नहुने उनी बताउँछन् । ‘आश्वासनमात्र बाँड्नाले गाउँलेमा नेताप्रति आक्रोश छ,’ उनी भन्छन्, ‘त्यसैले पनि यो पटक भोजभतेरमा भोट बिक्दैन ।’

गत स्थानीय तह निर्वाचनमा स्थानीयले माझी एकता देखाएका थिए। आ–आफ्ना पार्टी नभनी उनीहरुले वडाध्यक्षमा आफ्नै समुदायका सुशील माझीलाई जिताए । अरुले भन्दा गाउँको दुःख बुझेको गाउँलेबाटै विकास हुने बुझाइले उनीहरुले सल्लाहमै उनलाई जिताएका थिए । ‘यो पटक पनि यस्तै एकता देखाउँदै,’ माझी समुदायको एउटै नारा छ, ‘अन्तिममा निर्णय गरेर बाचा पूरा गर्नेलाई भोट दिन्छौँ।’

प्रकाशित: १ मंसिर २०७४ १२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App