७ वैशाख २०८१ शुक्रबार
समाज

पोषण अवस्था सुधार्न अमेरिकाले सघाउने

काठमाडौं- नेपाल सरकारको कृषि विकास रणनीति तथा बहुक्षेत्रीय पोषण योजनालाई सघाउने उद्देश्यले अमेरिकाले विश्व खाद्य सुरक्षासम्बन्धी पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ । नेपालको कृषि विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग साझेदारी गर्दै अमेरिकाले उक्त रणनीति सार्वजनिक गरेको हो ।
‘नेपालको कृषि उत्पादन तथा पोषण स्थितिमा सुधार ल्याउने उद्देश्यका साथ अमेरिकी सरकारले विश्व खाद्य सुरक्षासम्बन्धी पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ,’ काठमाडौंस्थित अमेरिकी दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अमेरिकी सरकारको फिड त फ्युचर कार्यक्रमको थप हिस्साको रुपमा रहेको उक्त रणनीतिले नेपाल सरकारको कृषि विकास रणनीति तथा बहुक्षेत्रीय पोषण योजनालाई सघाउनेछ ।’
यो रणनीति कार्यान्वयनका लागि अमेरिकाले विश्वभर छनोट गरेको १२ मात्र राष्ट्रमध्ये नेपाल पनि एक हो । विगत पाँच वर्षमा अमेरिकाको फिड द फ्युचर कार्यक्रमले नेपालमा कृषि उत्पादन तथा पोषणको स्थितिमा सुधार गर्दै झन्डै १० लाख नेपालीको आय वृद्धिमा सहयोग गरेको दाबी अमेरिकाले गरेको छ । उक्त कार्यक्रम सञ्चालन गरिएका दक्षिण पश्चिम तथा मध्य क्षेत्रका २४ जिल्लामा सन् २०१३ देखि २०१५ बीच गरिबीमा ३६ प्रतिशत कमी आएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यस्तै अमेरिकी कार्यक्रमद्वारा सन् २००६ मा ४९ प्रतिशत रहेको पुड्कोपन २०१६ मा ३६ प्रतिशतमा झरेको छ र कृषकको औसत बिक्री प्रतिवर्ष २ सय ५० अमेरिकी डलबरबाट वृद्धि भई अन्दाजी ७ सय डलर पुगेको विज्ञप्तिमा उल्लेख छ ।
‘उत्पादकलाई बजारसँग अझै राम्ररी जोड्न कृषिसँग सम्बन्धित सबै क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने कुरामाथि यस नयाँ रणनीतिले जोड दिएको छ,’ नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत माइकल गोन्जालेसले भनेका छन्, ‘यसले गर्दा सुरक्षित तथा गुणस्तरीय खाद्यान्नमाथिको पहुँचमा सुधार हुनेछ र खासगरी युवाका लागि आयआर्जन र रोजगारका अवसर सिर्जना हुनेछन् ।’
पोषणको अवस्थामा सुधार गर्दै नेपालको कृषि क्षेत्रमा वृद्धि र रोजगारलाई गति दिन आगामी पाँच वर्षभरि यस रणनीतिले सरकार, दातृ निकाय, व्यवसाय र नागरिक समाजसँग नयाँ साझेदारी विकास गर्दै तिनीहरुसँगको सहकार्य बलियो बनाउने विश्वास अमेरिकाको छ ।

प्रकाशित: २ मंसिर २०७४ ०३:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App