coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कस्ले जित्ला विश्वकप ?

पेरिस- अर्जेन्टिनाका कप्तान लियोनल मेसीले सन् २०१८ को रुस विश्वकपमा विश्व विजेता जर्मनी, ब्राजिल, फ्रान्स र स्पेनलाई बलियो दाबेदारका रुपमा लिएको बताएका छन् ।
‘सन् २०१८ को रुस विश्वकपमा विश्व विजेता जर्मनी, ब्राजिल, फ्रान्स र स्पेन बलिया टोली हुन् । उनीहरुले पछिल्ला वर्षहरुमा माथिल्लो स्तरको प्रदर्शन गरिरहेका छन् र उनीहरुका खेलाडीले व्यक्तिगत रुपमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्,’ गत साता अर्जेन्टिनाको एक टेलिभिजनसँगको कुराकानीमा मेसीले भनेका थिए ।
मेसीले पछिल्लो समय विभिन्न टोलीका प्रदर्शन र खेलाडीको क्षमताका आधारमा केही राष्ट्रलाई प्रतियोगिताको दाबेदार माने पनि विश्वकपमा छनोट भएका सबै ३२ राष्ट्र अप्रत्यासित नतिजा ल्याउन सक्षम भएकाले अहिल्यै बलियो टोली घोषणा गर्नु हतास हुन सक्छ ।
दाबेदार टोली
पछिल्ला १६ विश्वकपमध्ये यी पाँच राष्ट्रले १३ पटक विश्वकपको उपाधि जितिसकेका छन् । स्पेन र जर्मनीले छनोट चरणमा कुनै पनि खेल नगुमाइ समूह विजेताका रुपमा विश्वकपको टिकट काट्दा पाँच पटकको विश्व विजेता ब्राजिलले दक्षिण अमेरिकी छनोट चरणमा चार खेल बाँकी रहँदै विश्वकपमा स्थान पक्का गरेको थियो । ब्राजिल रुस विश्वकपमा छनोट हुने पहिलो टोली समेत बनेको थियो ।
फ्रान्सले पनि समूह विजेता बन्दै विश्वकपमा स्थान सुरक्षित गरेको थियो । यता अर्जेन्टिनाले भने विश्वकपमा स्थान पक्का गर्न कठिन संघर्ष गर्नु परेको थियो । छनोटको अन्तिम खेलमा इक्वेडरलाई पराजित गरेपछि मात्र अर्जेन्टिनाको विश्वकप यात्राले पूर्णता पाएको थियो । जहाँ आफ्नो देशलाई रुस यात्राको लायक बनाउन मेसीले ह्याट्रिक गरेका थिए । विश्वकपसम्म टोलीलाई डो¥याएपछि मेसीमाथि १९८६ यता पहिलो पटक उपाधि जिताउने दबाब पनि बड्ने छ । डिएगो म्याराडोनाको नेतृत्वमा विश्व च्याम्पियन भएपछि फेरी त्यस्तै सफलताका लागि प्रतिक्षा गरिरहेको अर्जेन्टिनालाई छनोट चरणको पछिल्ला खेलहरुमाजस्तै लय कायम राख्नुपर्ने चुनौती पनि छ । उच्च लय कायम राख्न नसके चार वर्षअघि नेदरल्यान्ड्ससँग स्पेन तथा जर्मनीसँग ब्राजिलले भोगेजस्तो स्तब्धतापूर्ण नतिजाको सामना गर्नु पर्न सक्छ ।
सुतेको महारथी
इङल्यान्डले १९६६ मा विश्वकप जितेको थियो । तर त्यसपछि विश्वकै सबभन्दा धनी लिग भएको देशले फुटबलमा ठूलो लगानी गरे पनि एक पटकमात्र विश्वकपको सेमिफाइनलसम्म पुग्न सकेको छ । प्रशिक्षक गारेथ साउथगेटले सानो उमेरका प्रतिभालाई समेटेर सफल युवा टोली तयार गरेका छन् । जुन इङल्यान्डले सुखद नतिजाका लागि आश गर्ने गतिलो आधार हुन सक्छ, तर २०१८ त्यसका लागि धेरै चाढो हुन सक्छ ।
फिफाका अनुसार विश्वकपलाई छानिएका ३२ देशमध्ये मेक्सिको ब्राजिल र जर्मनीपछि सबभन्दा बढि व्यावसायिक रुपमा दर्ता भएका खेलाडी भएको देश हो । तर १५ पटक विश्वकपमा सहभागिता जनाए पनि टोली क्वार्टरफाइनलभन्दा माथि उठन सकेको छैन ।
यसैगरी अर्को वर्षको प्रतियोगितामा उपाधिका लागि दाबी गर्ने ३२ देश मध्ये आयोजक रुस जनसंख्याका दृष्टीले सबभन्दा ठूलो (१४ करोड २० लाख) देश हो । तर जनसंख्यामा धनी देशले सोभियत युनियन कालमा एकपटक सेमिफाइनल पुग्नुभन्दा बढि उपलब्धि हासिल गर्न सकेको छैन । त्यो सफलता पाएको पनि धेरै भइसकेको छ । अहिले विश्व र फुटबल प्रविधिमा त्यतिबेलाको तुलनामा धेरै परिवर्तन भइसकेको छ । रुसमाथि आफैले विश्वकप आयोजना गर्दा खासगरी पछिल्लो समय विश्व खेलकुदमा आफू तानिएका सबैखाले विवादलाई मत्थर पार्नु पनि हुनेछ ।
साना देश, ठूला आशा
जम्मा ३० लाख  जनसंख्या भएको उरुग्वेले दुई पटक विश्वकप उपाधि जितिसकेको छ । दक्षिण अमेरिकाको यो सानो देश विश्वकप उपाधिसंख्या यसपाली तीन बनाउन चाहन्छ । त्यसका लागि लुइस स्वारेज, डिएगो गोडिन र इडिन्सन काभानीजस्ता स्टारहरुको उपस्थितीले टोलीलाई थप हौस्याएको छ । खेलाडीको व्यक्तिगत क्षमताका आधारमा उरुग्वे विश्वको जुनसुकै विपक्षीलाई पनि हराउन सक्षम टोली हो ।
यसैगरी क्रोएसियाको टोलीमा लुका मोडरिच, इभान राकेटिच र इभान पेरिसिकजस्ता खेलाडी छन् । जुन टोलीका लागि राम्रो पक्ष हो । तर छनोट चरणमा आइसल्यान्डभन्दा पछि पर्नुले भने क्रोएसियाको कमजोरी झल्काउछ ।
पोर्चुगलसँग क्रिस्टियानो रोनाल्डो छन् । तर टोलीले इतिहासकै सबभन्दा ठूलो उपलब्धि हासिल गर्ने क्रममा गतवर्ष युरोपियन च्याम्पियनसिप जित्दा फाइनलमा तीन चौथाइभन्दा बढि समय रोनाल्डो मैदानमा थिएनन् । बेल्जियमसँग अहिले इतिहासमै खेलाडीहरुको स्वर्णिम पुस्ता छ भने स्विट्जरल्यान्ड र डेनमार्क पनि औसत खेलाडीका साथमा विश्वकपमा पुगेका छन् ।
जनसंख्याको दृष्टीमा पोल्यान्ड सानो देश होइन । तर फुटबलिङ सफलताको तराजुमा राख्दा पोल्यान्डको वजन खास देखिन्न । त्यसका बावजुद अहिले उनीहरुसँग रोबर्ट लेवान्डोवस्कीजस्ता उच्च क्षमतावान स्ट्राइकर छन् । लेवान्डोवस्की विश्वकप २०१८ को छनोट चरणका उच्च गोलकर्ता हुन् । उनले प्रतियोगितामा सर्बाधिक १६ गोल गरेका थिए ।
डरलाग्दा ‘अन्डरडग’
२००२ मा सहआयोजकद्धय जापान र दक्षिण कोरियाले अनपेक्षित रुपमा नकआउट चरणको यात्रा गरेका थिए । दक्षिण कोरियाले त सेमिफाइनलसम्मको ऐतिहासिक यात्रा गरेको थियो । यसपाली कुनै विश्वस्तरीय खेलाडी नभए पनि अस्ट्रेलिया अन्य विपक्षीका लागि छल्नुपर्ने टोलीका रुपमा अगाडि आएको छ ।
कोलम्बिया, सेनेगल र नाइजेरिया सधै स्किल, तिब्र गति र शारिरिक खेलका लागि चिनिन्छन् । सँगै यी टोलीहरु लापरवाहपूर्ण गल्ती र दूर्भाग्यका कारण प्रतियोगिताका सुरुआति चरणबाटै घर फर्किने भनेर पनि परिचित छन् ।
सर्बिया र मोरक्को दुवै यसपाली प्रभावशाली रुपमा विश्वकपलाई छानिएका टोली हुन् । तर दुवै टोलीमा खेललाई आवस्यक पर्दा नयाँ मोड दिन सक्ने स्टार खेलाडी छैनन् ।
सुखद पुनरागमन
कुनै बेला विश्वकपको नियमित सदस्य पेरु १९८२ यता विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा छानिएको थिएन । यसपाली बिहीबार अन्तरमहादेशीय प्लेअफमा न्युजिल्यान्डलाई हराएपछि भने टोली ३५ वर्षदेखिको प्रतिक्षामा पूर्णविराम लगाउन सफल भयो । फिफा विश्व वरियताक्रमको १०औं स्थानमा रहेको टोलीले यही वरियता रुस यात्रामा पनि अपेक्षा गर्नेछ ।
इजिप्ट अफ्रिकी महादेशीय कप सबभन्दा धेरै पटक जित्ने टोली हो । तर विश्वकपमा उनीहरुको इतिहास अत्यन्तै दूर्भाग्यजनक छ । विश्वकपमा यो इजिप्टको तेस्रो सहभागिता हो ।
प्रिय विपक्षी
ब्राजिल २०१४ मा अन्तिम आठ पुगेको कोस्टा रिका फिफा विश्व वरियताक्रमको २२औं स्थानमा छ । तर कोस्टारिकासँगै इरान र ट्युनिसियाले अझै पनि विश्व फुटबलमा आफूलाई बलियो टोलीका रुपमा स्थापित गर्न भ्याइसकेका छैनन् । त्यसैले ‘ड्र’ मा सबै टोलीले यिनलाई आफ्नो प्रतिद्वन्द्वीका रुपमा पाउने आशा राख्नेछन् ।
ट्युनिसिया र साउदी अरेबिया दुवैले विश्वकपमा चार पटक सहभागिता जनाउँदा जितको अनुभव बटुलिसकेका छन् । तर २००६ मा स्टुटगार्टमा २–२ को बराबरी खेलेका दुई टोलीले त्यसयता विश्वकपमा कुनै अंक जोड्न सकेका छैनन् ।
पानामाले आफूसँग भएको जादु गर्ने क्षमता छनोट चरणमै उपयोग गरिसकेको छ । कोस्टा रिकालाई हराउँदा समय सकिन दुई मिनेट बाँकी रहँदा पानामाले गोल गरेको थियो । जसका कारण विश्वकपको नियमित सहभागि अमेरिका वाहिरिएको थियो भने पानामा विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितालाई पहिलो पटक छानिएको थियो ।

प्रकाशित: २ मंसिर २०७४ ०४:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App