८ वैशाख २०८१ शनिबार
अन्य

५० वर्षपछि दमास्कस पुग्दा

कोलिन थब्रन

 

अहिलेको दमास्कस मैले उसबेला देखेको भन्दा निश्चय नै ठूलो छ । जनसंख्या नै चार गुणा बढिसकेछ । जुनवेला म यहाँ थिएँ, त्यसबेला मलाई मनपर्ने पुरानो सहरतर्फ नयाँ टोलहरू बन्ने क्रम बढ्दो थियो । पुरानो सहरभित्र होटल, रेस्टुरेन्ट र ब्यांक्वेटहरू देखिन थालेका थिए ।

उनीहरू आत्मघाती बमको कुरा गर्छन्, बालबालिका मारिएको बताउँछन् र घरहरू भत्किएको बिलौना गर्छन् । सबैभन्दा गहिरो घाउ भने मान्छेलाई परेको मानसिक आघात हो । उनीहरू आशा र सम्भावनाको अवसान महसुस गरिरहेका छन् ।


अहिले यी होटल कि त बन्द छन् कि खाली । यो युद्धको सहर हो । सबै सडकमा काँडेतार र सैन्य ट्यांक देखिन्छन् । म वास बसिरहेको रित्तो होटलदेखि एक माइलभन्दा कम दूरीमै विद्रोही नियन्त्रित क्षेत्र छ । त्यहाँ वासस्थानहरू जलिरहेको देखिन्छ ।
दमास्कस मानव सभ्यतापछि मानिस निरन्तर बसोबास गरिरहेको सम्भवतः पृथ्वीकै सबैभन्दा पुरानो सहर हो । मुसलमान समाजमा पनि यो खुला र सहिष्णु सहरका रूपमा विकसित भएको थियो । यहाँको एकचौथाइ जनसंख्या इसाई र अन्य सीमान्तकृत समूहको छ । सरकार र सेनामा प्रभावशाली पकड भएको सिया मुसलमान समुदाय अन्तर्गतको ‘अल्विटेज’ समूह समेत अल्पसंख्यकमै पर्छ । नचाहँदानचाहँदै पनि दमास्कस बसर अल–असद सत्ताको नियन्त्रणमा छ । सहर बाहिरका इस्लामिक समूहलाई साथ दिने हो भने दमास्कसवासीले घातक परिमाण भोग्नुपर्ने हुन सक्छ ।

५० वर्षअघि म यहाँ लगभग एक्लो थिएँ, किनकि त्यसबखत पर्यटक आउन थालेकै थिएनन् । अहिले पनि म यहाँ एक्लै छु, किनकि सबै पर्यटक यहाँबाट ज्यान बचाउन भागिसकेका छन् । युद्धावस्थामा पनि कुनै जादु भएझैँ पुरानो सहर जस्ताको जस्तै ठडिइरहेको रहेछ । मानव निर्मित दुर्घटनाबाट सिरियाकै एलेप्पो सहर ध्वस्त हुँदा पनि दमास्कस भने बच्न सफल छ ।
हरेक मध्यरात बसर सत्ताले विद्रोहीका बासमा गोला–बारुद बर्साइरहेको हुन्छ, जुन नेपथ्यमा सुनिएको होहल्लाजस्तो लाग्छ । अन्धकार रातमा म होटल बाहिर उभिएर गोला–बारुदका आवाज सुन्दै सोच्छु, ‘के यो यसरी नै निरन्तर चलिरहन्छ ?’ हरेक साता मोर्टार–सेल एकअर्कातर्फ  प्रक्षेपण भइरहेको हुन्छ ।
दिनभर गल्ली र पुराना स्मारकमा डुल्दा मलाई युवावस्थामा फर्केको महसुस भयो । युवा जोसका साथ पुराना मस्जिद र सुल्तानका मकबरा (चिहान) प्रवेश गर्दा कहिलेकाहीँ आफैँले आफैँलाई हेरिरहेको अनुभव समेत गरेँ ।
अहिले म अत्यन्त सावधान छु । बूढो भइसकेको छु । पहरा दिइरहेका सैनिकहरू कहिलेकाहीँ मात्र मलाई दुवै हात माथि उठाउन लगाई खानतलासी लिन्छन् । बजारका पसले वैदेशिक व्यापार वृद्धिको माध्यम बन्ने मान्छे पो आएको हो कि भन्ने भावले मतर्फ आँखा सोझ्याइरहेका हुन्छन् ।
म जातीय जटिलताले घेरिएको छु । खैरो कपाल र हरिया वा कुइरे आँखाहरू खोज्छु । तर, त्यहाँ त काला र सजातीय सहरी आप्रवासी र शरणार्थी मात्र देखिन्छन् ।  
पुरानो सहरका गल्लीमा अस्वाभाविक शान्ति छ । सोच्छु, यहाँ सधैँ यस्तै शान्ति थियो । तर, अहिले धेरै झ्याल भित्रतर्फ तानिएका छन्, ढोकामा भोटे ताल्चा लागेका छन् । मलाई थाहा छ, यी झ्याल र ढोकाभन्दा पछाडि मार्बल लगाएका आँगन छन्, तिनका बीचमा पानीका फोहोरा र छेउछाउमा कागतीका रूख छन् ।
गल्ली चहार्दै गर्दा कुनैबेला मैले चिनेका एक विद्यार्थीको घर भेटियो । उनको झ्यालबाट चिहाउने निरर्थक प्रयास गर्नुको अर्थ छैन, किनकि झ्याल बन्द छन् । घरको आँगनमा भवनबाट खसेका इँटा र निर्माण सामग्रीका टुक्रा असरल्ल छन् ।
मलाई कसैले पछ्याइरहेको छ वा छैन भन्ने आफैँले निश्चित गर्नुपर्ने हुन्छ । मानिसहरू पहिलेभन्दा सतर्क छन् । उनीहरू मसँग सावधानीपूर्वक कुरा गर्छन् । उसबेला इसाई धर्मावलम्बीले कफी वा मुसलमान धर्मावलम्बीले चियाको निम्तो नदिईकन म मुस्किलले सडकमा निस्कन्थे । अहिले चिया र कफीको निम्ता दिने आवाजहरू हराएका छन् ।
‘हामी यसको अन्त्य हुने छाँट देखिरहेका छैनौँ,’ मान्छेहरू मसँग भन्ने गर्छन्, ‘हामी पनि बग्दाद, काबुल वा त्रिपोलीवासीजस्तै भयाँै, यो युद्ध कहिल्यै सकिँदैन, महँगी भने बढिरहेको छ ।’
उनीहरू आत्मघाती बमको कुरा गर्छन्, बालबालिका मारिएको बताउँछन् र घरहरू भत्किएको बिलौना गर्छन् । सबैभन्दा गहिरो घाउ भने मान्छेलाई परेको मानसिक आघात हो । उनीहरू आशा र सम्भावनाको अवसान महसुस गरिरहेका छन् । अझै पनि पुरानो आत्मीय परम्परा र स्वागत संस्कृति भने मरिसकेको छैन । म लामो समयसम्म कसैको ढोकामा उभिएँ र तिनका पारिवारिक सदस्यबारे सोधनी गरेँ भने कसै न कसैले भित्र बोलाइहाल्छन् । ‘सिरिया विदेशीको खेलौना भयो,’ प्रायः उनीहरू भन्ने गर्छन्, ‘कफी लिनुस् ...तर सिरिया रगताम्मे भइरहेको छ ।’
सायद, सहरका मेरा साथी मारिए होलान्, मैले माया गर्ने घर भने अझै यथावत छन् । पुरानो सहरमा मोर्टार बमले भत्काएको एउटै मात्र सुल्तानको मकबरा भेटियो । जुन, क्रुसेड (क्रिस्चियन–मुसलमान धर्मयुद्ध)का वेला बहादुरी देखाएका सुल्तानको थियो ।
भयले काप्दै म सहरको सबैभन्दा भव्य स्मारक अर्थात् आठौँ शताब्दीमा निर्मित ओम्मायाद मस्जिदमा पुगेँ । यो मुसलमान समुदायले प्राचीन रोमको बृहस्पति मन्दिर (जुपिटर टेम्पल)कै शैलीमा बनाएको विश्वकै पहिलो भव्य मस्जिद हो । एलेप्पोमा रहेको यसैको भगिनी मस्जिद (सिस्टर मस्क) भने महिना दिनअघि मात्र ध्वस्त भएको थियो । यहाँ भने यत्रो ठूलो मस्जिद परिसरमा कहीँकतै केही नभई पुरानै अवस्थामा रहेको पाएँ । यसमा ‘जोन द ब्याप्टिस्ट’ अर्थात् इसाई, मुसलमानलगायत धर्मका एक देवदूतको काल्पनिक शिर समेत राखिएको विश्वास गरिन्छ । भक्तजन मस्जिदमा लगाइएको सुनको जलपयुक्त रेलिङमा बिस्तारै छुने गर्छन् । यो तीर्थस्थलप्रति इसाई र मुसलमान दुवैको उत्तिकै श्रद्धा छ ।
मस्जिदको आँगनमा विभिन्न फल र फूलका बिरुवाले बुट्टेदार बनाइएको बगैँचा जस्ताको तस्तै रहेछ । हरियो र सुनौलो रङ मिसिएको यो बगैँचा एकदमै सुन्दर देखिन्छ । कुनै पनि जीवित आकृतिविनै यहाँ जोर्तिमय मोतीको लालटिनका साथ सुखको सुन्दर नदी बगिरहेको देखिन्छ । सायद यो दमास्कसलाई खानेपानी आपूर्ति गर्ने बरदा नदीको चित्रण हुन सक्छ, वा मुसलमान धर्मग्रन्थमा वर्णन गरिएको स्वर्गको काल्पनिक चित्र ।
बाइबलकालीन पुस्तक यसायाहामा भनिएझैँ अझै पनि दमास्कस सिरियाको शिर हो । तर, यो सिरिया फरक छ, सहर अशान्त छ । सहरका द्वार र रेलिङमा सहादत प्राप्त सैनिकका ठूला र नमिल्दा तस्बिर टाँसिएका छन्, बजारभर बसर अल–असदका फोटो झुन्डिएका छन्, जो आफैँ सिरियाको यो अवस्थाप्रति मतलब गरिरहेका छैनन् । असदको काल्पनिक सिया भक्तिले इरानको समर्थन भने बढाइरहेको छ ।
‘तपाईं अचेल ती मानिसलाई जताततै देख्नुहुन्छ,’ एउटा मान्छेले मसँग गुनासो ग¥यो, ‘सियाहरू अहिले शक्तिशाली छन् ।’
मैले पनि तिनीहरूलाई देख्न थालेको छु । विशेषगरी इराकी र इरानीहरू मोहम्मद परिवारका काल्पनिक सदस्यको मकबरामा नमाज पढिरहेका हुन्छन् । तिनीहरू प्रतिबन्धित समाधिस्थललाई च्याप्प समाउँछन् र आफूलाई सहिद इमाम हुसैनको शिर गाडिएको स्थानबाट अलग गर्छन् । अनि सहर किनाराको बाब अल–साघिर समाधिस्थलतर्फ पाइला लम्काउँछन् ।
म बाब अल–साघिर समाधिस्थलतर्फ पनि जान्छु । यस पवित्र स्थलमा बम पड्कँदा ४० जना भक्तजन मारिएका थिए । अहिले यहाँ आधुनिक हतियार सहितका सेनाले गस्ती गरिरहेका छन् ।
हरियो रङको सानो समाधिस्थलमा मोहम्मदको मुइज्जिन बिलाल अर्थात् मुसलमानलाई प्रार्थनाका लागि बोलाउने पहिलो व्यक्तिलाई गाडिएको छ । दिउँसो अकस्मात् प्रार्थनाको आवाज आयो र एउटा मिनारदेखि अर्को मिनारसम्म फैलँदै गयो, जहाँ मलाई वर्षौंपहिले प्रवेश दिइएको थियो । अहिले ‘अल्लाह अकबर’को यो आवाज सुन्दा चिहानका ढुंगा एकापसमा रोइरहेजस्तो लाग्छ । आज पनि म यो आवाजलाई कुनै वेला गरेझैँ प्रेम गर्न चाहन्छु ।
मेरो विचारमा यो मुलुक सेनाले होइन, मुखाबरात नामक खुफिया सर्भिसले चलाउँछ । अग्लो स्थानबाट सहरको तस्बिर लिइरहेका वेला सादा पोसाकका दुई व्यक्तिले मलाई पछ्याए । उनीहरूले मलाई गरिबका घरबीच एउटा कोठामा कैद गरे । मलाई कैद गरेपछि सादा पोसाकका मानिसको संख्या पाँच गुणा बढ्यो । सुरुमा उनीहरूले सम्मानपूर्वक सोधखोज गर्न थाले । तिनले सूत्रबद्ध अंग्रेजी बोल्न थाले । उनीहरूले सोध्न थाले, ‘तपाईं हाम्रो पाहुना हो, नडराउनुस् । यहाँ के गर्दै हुनुहुन्थ्यो ? कसरी आइपुग्नुभयो ?’
उनीहरूलाई मैले सञ्चार मन्त्रालयले प्रदान गरेको भिसामा आएको जानकारी गराएँ । तिनले मेरा पासपोर्ट र क्यामेरा मागे । पासपोर्टमा सिरियाका सीमा क्षेत्रसहित लेबनानका लागि पनि प्रवेशको अनुमति दिइएको थियो । उनीहरू उत्सुकतापूर्वक मेरो क्यामेरा स्क्रोल गर्न थाले । क्यामेरामा दमास्कसका गल्ली, सहरी द्वारमा टाँसिएका पोस्टर, सहिदको सम्मानमा लेखिएका नारालगायत तस्बिर थिए । मप्रति तिनको आशंका बढ्दै गयो ।
उनीहरूले बाँकी तस्बिर पनि हेरे । क्यामेरामा हामीले ब्रिस्टोल क्यानलस्थित लुन्डी टापुमा बिदा मनाएका तस्बिर पनि थिए । त्यहाँ हेडफोन लगाएर हेलिकोप्टरको ककपिटमा बसिरहेकी एक महिलाको तस्बिर समेत थियो ।

‘यो को हो ?’
‘मेरी पत्नी हुन् ।’
‘उनी जहाजमा के गरिरहेकी छन् ? कानमा लगाएको के हो ?’
‘कानमा लगाएको हेडफोन हो, उनी लुन्डी टापु गइरहेकी छन् ।’
‘के उनी एमटिएन वा सिरियाटेल सुनिरहेकी छन् ?’ एमटिएन र सिरियाटेल सिरियाली दूरसञ्चार सेवाप्रदायक कम्पनी हुन् ।
‘होइन, लुन्डी टापुमा सिरियाटेल छैन, उनी पाइलटलाई सुनिरहेकी छन् ।’
उनीहरूले मलाई अझ कडा नजरले हेर्न थाले । तिनको शंका बढेको थियो । उनीहरूले क्यामेराका थप तस्बिर हेर्न थाले । त्यहाँ समुद्रका तस्बिर थिए ।
‘यी के हुन् ?’
‘यी सिल हुन् ।’
‘किन तिनले हेरिरहेका छन् ?’
उनीहरूले फ्याउराको जस्तो अनुहार भएको एक वरिष्ठ अधिकारीलाई बोलाए । त्यसपछि मलाई गाडीमा राखेर सहरको भित्री भागमा अवस्थित एक कम्पाउन्डमा पु¥याए । त्यहाँ सैनिकले कडा पहरा दिइरहेका थिए । मलाई भित्र लैजाँदै गर्दा टायल लगाइएको साँघुरो र फोहोर भ¥याङबाट दुर्गन्ध आइरहेको थियो । त्यो दुर्गन्धलाई मैले चिन्न सकिनँ ।
मलाई जेलको एउटा कोठामा राखियो । कोठाको फलामे ढोका खुला थियो । दराजमा लहरै फाइल राखिएका थिए । भित्तामा बसर अल–असदका तीन फरक–फरक तस्बिर बाँधेर झुन्ड्याइएका थिए । मलाई डर लाग्यो । उनीहरूलाई ममाथि शंका बढिरहेको थियो । मसँग भिसा प्रदान गर्ने सञ्चार मन्त्रालयका अधिकारीको टेलिफोन नम्बर भए पनि कसैले तिनलाई फोन गरिदिएनन् । एउटा डाकाको सरदारजस्तो देखिने कालो गन्जी लगाएको व्यक्ति भित्र आउँदै र बाहिर जाँदै गरिरहेको थियो । अरु कैयौँ सोधपुछकर्ता आउँदै मलाई नानाथरी कुरा सोध्दै जाँदै गरे । मेरो मुटुको ढुकढुकी बढिरहेको थियो ।
अन्त्यमा मलाई एउटा ठूलो कोठामा लगियो । त्यहाँ एक बर्दीधारी सैनिक बत्तीतर्फ पिठ्युँ फर्काएर मेचमा बसिरहेको थियो । त्यहाँ लुन्डी टापु र सिलबारे कुनै कुरा भएन । ‘मैले कुनैवेला एकदमै माया गर्ने सहरमा आएको मात्रै हुँ,’ मैले भने ।
उसले मेरो पासपोर्ट र क्यामेरा मेचमा राख्यो र भन्यो, ‘यी बिदा मनाउँदाका तस्बिरजस्तो लाग्छन् ।’
एक घन्टापछि मात्र म स्वतन्त्र भएँ । त्यसपछि फ्याउरे अनुहार भएको व्यक्तिले गाडीमा राखेर सञ्चार मन्त्रालय पु¥याइदियो । त्यहाँ अर्को ठूलो मेचपछाडि बसेकी एक सुन्दर महिलाले मेरो असुविधाप्रति क्षमा माग्दै सबै ‘मिस अन्डरस्टान्डिङ’ मात्र भएको बताइन् ।

(बेलायती लेखक थब्रनले ‘मिरर टु दमास्कस’ किताब लेखेको ५० वर्ष पुग्यो । यसबीच सिरियाको राजधानी दमास्कसमा धेरै परिवर्तन भइसकेका छन् । हाल गृहयुद्धले जर्जर सिरियाको राजधानीमा युद्धबाहेक पनि धेरै परिवर्तन देखिन्छन् । बिबिसी अनलाइनमा प्रकाशित थब्रनको सिरिया अनुभवलाई विष्णु पोखरेलले भावानुवाद गरेका हुन् ।)

प्रकाशित: २ मंसिर २०७४ ०६:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App