६ वैशाख २०८१ बिहीबार
राजनीति

बम विस्फोटमा बल्लबल्ल बाँचें: रामचन्द्र पौडेल

पोखरा- निर्वाचन विरोधी समूहको आक्रमणमा परेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले उम्मेदवारको भरपर्दो सुरक्षा प्रबन्ध गर्न नसकेको गुनासो गरेका छन्।

तनहुँबाट लम्जुङ जाने क्रममा शनिबार दिउँसो बम विस्फोटमा परेका पौडेलले उम्मेदवारमाथि श्रृंखलावद्ध आक्रमण हुनुको कारण सुरक्षा निकायले पत्ता लगाउन नसकेको बताए। ‘मलाई चोट मात्र नलागेको हो । बल्लबल्ल बचे,’ पौडेलले टेलिफोनमा नागरिक न्यूजसँग भने, ‘गाडीको पछिल्लो सिटमा बसेको थिए, मुस्किलले जोगिए । माथिको बनमा लुकेर आक्रमण गरियो।’

उम्मेदवारमाथि आक्रमण कहाँबाट कसरी भयो भन्ने सुरक्षा निकायले मेसो पाउन नसकेको उनले बताए । ‘सुरक्षा प्रबन्ध हुनै सकेन। सरकारले सुरक्षाको तयारी गरेको भनेको थियो, तर, कमजोर व्यवस्थापन भयो ।’ उनले कांग्रेसको सरकार भएपनि सुरक्षाका लागि चनाखो हुन नसकेको बताए।

पौडेल सवार गाडीलाई लक्षित गर्दै तनहुँमा शनिबार दिउँसो साढे ३ बजेति विस्फोट गरिएको छ । विस्फोटमा परेर पौडेल चढेको गाडीमा सामान्य क्षति पुगेको छ । पौडेललाई भने कतै चोटपटक लागेको छैन । पोखरास्थित प्रदेश प्रहरी कार्यालयका एसपी बसन्त कुँवरका अनुसार तनहुँको भानु गाउँपालिका–१० नेपालडाँडामा दिउँसो बम विस्फोट भएको हो। ‘विस्फोटमा परेपनि पौडेल सकुशल हुनुहुन्छ,’ उनले भने, ‘पौडेल सवार सवारीमा सामान्य क्षति भएको छ।’ पौडेल बा १३ च ३७४६ नम्बरको जिपमा सवार थिए।

उनका अनुसार पौडेललाई स्कर्टिङ गरिरहेको प्रहरीको गाडीमा सवार एकजना प्रहरीलाई पनि सामान्य चोट लागेको छ । कुँवरका अनुसार पौडेल तनहुँमा चुनावी कार्यक्रम सकेर लम्जुङ जाँदै थिए । ‘बाटोमा लुकाई राखेको बम विद्युतीय तारमार्फत विस्फोट गराईएको हो,’ उनले भने ।

सुरक्षा निकायले पौडेलको सुरक्षार्थ स्कर्टिङमा १० जना सशस्त्र प्रहरीको टीम अगाडी थियो । त्यसबाहेक थप ११ जना नेपाल प्रहरी पनि उनको सुरक्षामा खटिएका थिए। ‘लुकेर बसेको समुहले विद्युतीय तारमार्फत बम विस्फोट गराएको हो,’ एसपी कुँवरले भने, ‘तत्काल आक्रमणकारीको खोजी भईरहेको छ।’

प्रकाशित: २ मंसिर २०७४ १०:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App