७ वैशाख २०८१ शुक्रबार
विचार

असहज क्यान्सर रोग

‘क्यान्सर’ रोग सुन्नेबित्तिकै जो कोहीको पनि आङ सिरिंग हुन्छ । मानव शरीर अनेक प्रकारका कोष, तन्तु र अंगप्रत्यंगबाट बनेको हुन्छ । यी प्रत्येक अंगप्रत्यंगमा क्यान्सर हुन सक्छ । शरीरको कुनै अंग पनि त्यस्तो छैन, जसमा क्यान्सरको असर नपरोस् । मानव शरीरका सबै अंगमा क्यान्सरको संक्रमण हुन सक्छ। 

मानव शरीरमा कोषहरूको प्रकृतिअनुसार उत्पत्ति हुन्छ र वृद्धि हुन्छ साथै कोषहरूले गर्नुपर्ने कार्य गर्छन् र समय पुगेपछि कोषको अन्त निश्चित रूपमा हुन्छ । फेरि नयाँ कोषको सिर्जना हुन्छ । यो चलिरहन्छ । ‘क्यान्सर’ पनि यिनै कोषबाट उत्पत्ति हुने रोग हो । यस्ता कोषहरूले कुनै पनि नियमलाई पालन नगरी विकास भइरहेका हुन्छन् । यसरी नियमको पालना नगरी बढ्ने कोषलाई क्यान्सर सेल भनिन्छ । यो क्यान्सर सेल एकदमै चाँडो बढ्ने गर्छ । यो क्यान्सर कोष, गलगाँड, रुद्रघन्टी, जिब्रो, अरू अंग र ग्रन्थिहरूमा उत्पत्ति भएमा चाँडो बढ्ने हुनाले यसको असर परेका अंग फुल्ने तथा सतहमा घाउसमेत हुन सक्छ । अतः यो बहुरूपी पाराले देखापर्छ। 

बेतालले कोष बढ्ने क्रममा अरू कोष तथा तन्तु र अंगलाई चाहिने खाद्य तथा अरू पदार्थलाई उपभोग पनि यिनै क्यान्सरका कोषहरूले गरिदिन्छ । फलस्वरूप स्वास्थ्यलाई हानि पु¥याई रोगको लक्षण देखापर्छ र बिरामीको मृत्युसम्म हुन्छ । ‘क्यान्सर’ रोग पृथ्वीका मानव जातिलगायत जनावर, वनस्पतीमा पनि हुन सक्छ। 

यो रोग कुनै पनि अंगमा चाँडो बढ्ने तथा नियम नमानी बढ्ने भएकाले नै यसलाई अर्बुद रोग पनि भन्ने गरिन्छ । यो रोग शरीरमा जस्तैः छाला, श्वासनली, मुख, जिब्रोको सतह, स्तन आदिमा प्रचुर मात्रामा भएको पाइएको छ । शरीरको साधारण क्रियाजस्तै लाग्ने हुनाले यसलाई सुरुआतमा पत्ता लगाउन निकै कठिन हुन्छ ।  अतः सुरुमा लक्षण देखा नपरेका कारण मान्छे स्वास्थ्य परीक्षण पनि गर्न चाहँदैन । तर जब लक्षण देखापर्छ तब यो रोग धेरै बढिसकेको हुन्छ । अतः स्वास्थ्य जाँच गरिरहनु जरुरी छ। 

क्यान्सर बहु कारणले लाग्ने रोग हो । क्यान्सर ३३ प्रतिशत वातावरणबाट र १० प्रतिशत जाति वंशाणुगत भएको पाइएको छ । यो रोग बढ्ने क्रममा छ । मान्छेको आनीबानीले पनि फरक पार्छ यसमा । खानानलीबाट, पेय पदार्थबाट भित्रिएर वा क्यान्सरमा सेवा पुर्‍याउने क्यान्सर पैदा गर्ने रसायन भएका फ्याक्ट्रीमा काम गर्नेमा क्यान्सर देखिन्छ या भएको छ। साँच्चै मानवको बानी, आचरण, व्यवहार कुलतबाट यो रोग हुने भएकाले यसलाई बहुकारक रोग पनि भनिएको हो। यद्यपि यसको उपचार पनि बहु माध्यमबाट मात्र सम्भव छ । जस्तै : चिरफार, औषधि उपचार र रेडियो थेरापीबाट गरिन्छ । आजको विज्ञानको खोज तथा आविष्कारका कारण क्यान्सरसँग लड्न हौसला मिलेको छ। 

जिब्रोमा भए वरिपरि सबै ग्रन्थिमा भए ग्रन्थिबाट लिम्फबाट, रगतको ठूला ठूलानली हुँदै शरीरको विभिन्न भागमा सर्ने गर्छ । नाक, कान, घाँटी लगायत टाउकोमा भएमा पत्ता लगाउन असाध्यै कठिन हुन्छ । कुनै बिरामीलाई गलाको क्यान्सर साथै फोक्सोको पनि क्यान्सर उही प्रकारको हुन सक्छ । यसलाई सिन्क्रोनस क्यान्सर भनिन्छ । अर्को गलाको क्यान्सर र खानानलीको अर्को प्रकारको रोग हुनसक्छ । त्यस्तालाई मेताक्रोनस क्यान्सर भनिन्छ । यसरी नै गर्दनको गण्डमाला जस्तै हुने रोग पनि असहज क्यान्सर हो । क्यान्सरको उपचार गरेर निको नहुने तर जीवित रहेका बिरामीलाई मानव जीवन चलुन्जेलसम्म त माया, ममता, हेरविचार, निगरानी राख्न जरुरी छ । चाहे घरैमा होस्, अस्पतालमा होस्, उपचार गर्ने वैज्ञानिक विधि अपनाएर वा मनोचिकित्सकको संलग्नतामा गर्नुपर्छ। 

प्रकाशित: ३ मंसिर २०७४ ०४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App