४ वैशाख २०८१ मंगलबार
राजनीति

एउटा मतदान केन्द्रमा भए पनि स्वदेशी भोटिङ मेसिन प्रयोग गरिदिन आग्रह

काठमाडौं- उपयोगी प्रविधिको अनुसन्धान र विकासमा संलग्न जुम्ल्याहा राम–लक्ष्मण रिमालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एउटै मात्र मतदान केन्द्रमा भए पनि स्वदेशी भोटिङ मेसिन प्रयोग गरिदिन निर्वाचन आयोगसँग आग्रह गरेका छन्।

आयोगले अनुमति दिए मतदाता शिक्षा लगायत विद्युतीय मेसिनबाट मतदान गराउँदा लाग्ने सम्पूर्ण खर्च आफैंले बेहोर्ने पनि उनीहरुले प्रस्ट पारेका छन् । आइतबार दिउँसो काठमाडौंको बबरमहलस्थित साफ फल्चामा आयोजित नमुना मतदान तथा पत्रकार सम्मेलनमा उनीहरुले नुवाकोटको बेलकोटगढी–१२ स्थित भृकुटी मावि मतदान केन्द्रमा मेसिन प्रयोग गर्ने अनुमति मागे । सो क्षेत्रका उम्मेदवारहरु विद्युतीय मेसिनबाट मतदान गराउन राजी भएको र उनीहरुले यस विषयमा लिखित सहमति जनाइसकेको राम–लक्ष्मणले बताए।

उक्त मतदान केन्द्रमा मेसिन प्रयोग गर्न निर्वाचन आयोगलाई पत्र लेखेको तर आयोगले आफूहरुको पत्र बुझ्न नमानेको उनीहरुको भनाइ छ । ‘आज पत्र लिएर आयोग गएका थियौं, उहाँहरुले पत्र लिनै मान्नुभएन,’ जुम्ल्याहामध्येका लक्ष्मण रिमालले भने, ‘उहाँहरुलाई पनि प्राविधिक अप्ठेरो होला ।’

स्वदेशमा तयार भएको मेसिनले सरकारी निकायबाट वैधता पाओस् भनेर केही मतदान केन्द्रमा प्रयोग गर्न खोजेको उनीरुले प्रस्ट पारे। पत्रकार सम्मेलनमा लक्ष्मण रिमालले भने, ‘मेसिनको प्रभावकारिता र विश्वसनीयताका लागि पनि हामीले आम निर्वाचनमा प्रयोग गर्नु आवश्यक छ।’

निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले यो मेसिन आफूले सोचेभन्दा बढी स्मार्ट भएको बताए। ५५ वटा संस्थागत निर्वाचन त्रुटिरहित तरिकाले सम्पन्न गराइसकेको मेसिन प्रयोग गर्न सरकार र आयोग हिच्किचाउन नहुने उनको भनाइ थियो। ‘आयोगले गर्वका साथ प्रयोग गर्नुपर्छ,’ उप्रेतीले भने, ‘यसले निर्वाचनमा हुने ठूलो रकम बचाउँछ ।’ उनका अनुसार अहिले एउटा चुनाव सम्पन्न गराउँदा निर्वाचन आयोगले मात्रै १२–१३ अर्ब रुपैयाँ खर्च गरिरहेको छ र यो आगामी दिनमा अझ बढ्ने छ ।

मेसिन प्रयोग गर्न कुनै किसिमको कानुनी अड्चन नरहेको पनि पूर्वप्रमुख आयुक्त उप्रेतीले जानकारी गराए । निर्वाचनसम्बन्धी कानुनमै मेसिनले मतदान गराउन सकिने व्यवस्था रहेको र विगतमा पनि आयोगले मेसिन प्रयोग गरिसकेको जानकारी दिए।

 

प्रकाशित: ३ मंसिर २०७४ १४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App