७ वैशाख २०८१ शुक्रबार
राजनीति

दाहाललाई पुत्र शोक

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पुत्र शोक परेको छ । दाहालका छोरा प्रकाश (साकार) को लाजिम्पाटस्थित निवासमा आइतबार बिहान हृदयाघात भई निधन भएको हो ।

झापादेखि लाजिम्पाट आउँदासम्म, लाजिम्पाटदेखि नर्भिकसम्म जाँदा, नर्भिकदेखि पेरिसडाँडासम्म पुग्दा, पेरिसडाँडादेखि पशुपति आर्यघाट पुग्दासम्म दाहालका आँखा ओभानो भएनन्, रसाइरहे । पटकपटक चश्मा निकाल्दै उनी आँशु पुछिरहेका हुन्थे ।

प्रकाशको आइतबार नै आर्यघाटमा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरियो । पार्थिव शरीरमा बाबु दाहालले दागबत्ती दिए । ३६ वर्षका प्रकाश एक्ला छोरा थिए । उनी दाहालको सचिवालयमा स्वकीय सचिव पनि थिए ।
पारिवारिक स्रोतका अनुसार प्रकाशलाई तीन दिनदेखि ज्वरो आएको थियो । शनिबार राति खाना खाएर सुतेका प्रकाश बिहान अबेरसम्म नउठेपछि कोठाको ढोका खोली हेर्दा अचेत अवस्थामा ओछ्यानमा थिए । तत्कालै उनलाई पूर्वसांसद तथा हेडक्र्वाटर सचिवालयमा कार्यरत सन्तबहादुर दराईसहितले नर्भिक अस्पताल पु¥याएका थिए । लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरे । चिकित्सकका अनुसार उनलाई निवासमै हृदयाघात भएको थियो ।
चिकित्सकले प्रकाशको निधन भएको बताएपछि चुनावी सभाका लागि झापामा पुगेका बाबु दाहाललाई सुरक्षाकर्मीले  खबर गरेका थिए । पुत्र वियोगको दुःखद खबर सुनेलगत्तै दाहाल हेलिकोप्टरबाट काठमाडौं आएका थिए । काठमाडौं उत्रिएपछि उनी सिधै अस्पताल नगई लाजिम्पाट निवासमा बेहोस अवस्थामा रहेकी श्रीमती सीतालाई भेट्न पुगेका थिए । त्यसपछि दाहाल नर्भिक अस्पताल पुगेका थिए ।
दाहाल नर्भिक पुग्नेबितिक्कै अस्पतालले औपचारिक रुपमा प्रकाशको मृत्यु भएको घोषणा गरेको थियो । ‘अचेत अवस्थामा प्रकाशलाई ५ः५० बजे नर्भिक पु¥याइएको थियो । आकस्मिक कक्षका चिकित्सक डा. रवीन्द्रप्रसाद यादव, डा. विमलेश श्रेष्ठलगायतले प्रकाशको जाँच गरे । ‘जाँच गर्दा  पूर्णतया बेहोस भइसकेकोे, हात गोडाका सबै भाग निलो र कडा भइसकेको, शरीर पूरै चिसो भएको, श्वासप्रश्वास नरहेको, आँखाको नानी पूरै सुन्निएको (फुलेको, आँखामा प्रकाश पार्दा कुनै प्रतिक्रिया नआएको र इसिजी गर्दा पनि मुटुको गतिविधि  शून्य पाइयो,’ अस्पतालले भनेको छ, ‘त्यसपछि चिकित्सकको टोलीले बिहान ५ः५९ बजे उनको निधन भएको घोषणा ग¥यो ।’ चिकित्सकीय टोलीको प्रतिवेदन अनुसार अस्पताल पु¥याउनुपूर्व नै उनको आकस्मिक हृदयाघातका  कारण मृत्यु भएको हो । अस्पतालले औपचारिक रुपमा मृत्यु भएको घोषणा गरेपछि प्रकाशको पार्थिव शरीरलाई माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडा लगिएको थियो ।
दाहालभन्दा पहिला प्रकाशका श्रीमतीद्वय सिर्जना त्रिपाठी र बिना मगर अलगअलग समयमा अस्पताल पुगेका थिए । पतिको शव देखेर त्रिपाठी बेहोस भएकाले उनलाई अस्पतालमै भर्ना गरियो । चुनावी प्रचारमा कञ्चनपुरमा रहेकी मगर १०ः३० बजेतिर अस्पताल पुगेकी थिइन । उनी कञ्चनपुर–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार छिन । प्रकाशका दुवै श्रीमतीबाट १–१ छोरा छन् । त्रिपाठी सँगै नबसे पनि मगर भने प्रकाशसँगै बस्दै आएकी थिइन ।
पारिवारिक स्रोतका अनुसार दाहालले शनिबार राति १० बजेतिर झापाबाट प्रकाशलाई फोन गरेर स्वास्थ्य अवस्था सोधेका थिए । ‘राति फोन गरेर सञ्चोबिसञ्चो सोध्नुभएको रहेछ, तीन दिनसम्म ज्वरो निको नहुदाँ पनि अस्पताल नगएको भन्दै चिन्ता व्यक्त गर्नुभएछ, भोलि (आइतबार) बिहानै अस्पताल जान सुझाव दिनुभएछ,’ पारिवारिक स्रोतले भन्यो, ‘जाउलो खाएर सुतेका प्रकाशले आइतबार बिहानसम्म निको नभए अस्पताल जाने वचन बाबुलाई दिएको रहेछ तर बिहान नहुँदै दुःखद घटना भयोे ।’ प्रकाशको निधनको खबर सुनेलगत्तै चितवनलगायत विभिन्न ठाउँमा रहेका आफन्त काठमाडौं आए ।
‘चितवनका चुनावी सभामा सहभागी हुने क्रममा ज्वरो आएकाले काठमाडौं आएर कतै नगई घरमै आराम गरेर बस्नुभएको थियो । शनिबार साँझ जाउलो खाएर सुुतेका प्रकाशका बारे बिहान अप्रिय समाचार सुनियो’, माओवादी नेता अग्नि सापकोटाले सञ्चारकर्मीसँग भने ।
दाहालका आँखाबाट आँशु बगिरह्यो
दाहालको एक्ला छोरा थिए प्रकाश । युद्धकालका सबै मोर्चामा प्रकाश बाबु दाहालसँगै थिए । छोरालाई एकपटक केही समयमात्रै छाडेका (बिना मगरसँग बिहे गरेताका)  दाहालले अघिपछि सधैं सँगै राखेका थिए । ‘अध्यक्ष (बाबु दाहाल) लाई तलमाथि हुनसक्ने खतरा सदैव छ, त्यसैले म अध्यक्षलाई कहिल्यैं छाडदिनँ्, बाँचुन्जेल म अध्यक्षलाई बलियो बनाउन लाग्ने छु’ प्रकाशले पटकपटक भन्ने गर्थे । बाबु–छोराबीच राम्रो सम्बन्ध थियो । एकाएक छोरा गुमाउनुपर्दा दाहाल पीडामा डुबेका छन् ।
छोराको निधनपछि झापादेखि लाजिम्पाट आउँदासम्म, लाजिम्पाटदेखि नर्भिकसम्म जाँदा, नर्भिकदेखि पेरिसडाँडासम्म पुग्दा, पेरिसडाँडादेखि पशुपति आर्यघाट पुग्दासम्म दाहालका आँखा ओभानो भएनन्, रसाइरहे । पटकपटक चश्मा निकाल्दै उनी आँशु पुछिरहेका हुन्थे ।
पेरिसडाँडामा श्रद्धाञ्जली कार्यक्रम सकिएपछि दाहाल आर्याघाट गएका थिए । पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दाँयाबायाँ राखेर आर्यघाटमा छोराको शव कुरिरहेका दाहालले पटकपटक आँशु पुछेको दृश्य देखियो । सँगै रहेका अर्का नेता श्रेष्ठले पनि आँशु झारेका थिए ।
आर्यघाटमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र लोकेन्द्रबहादुर चन्द, वामदेव गौतम, विष्णु पौडेल, डा. प्रकाशशरण महतलगायत  नेता समवेदना प्रकट गर्न पुगेका थिए । आर्यघाट परिसरमा आफन्तजन र पार्टीका नेताकार्यकर्ताको पनि घुइँचो लागेको थियो ।
ज्वाइँहरू जीवन आचार्य, अजुर्न पाठक र प्रकाशका अनन्य मित्र मदन चुँडालले पनि आर्यघाट पुगेर अन्तिम श्रद्धाञ्जली दिए । ज्वाँई जीवन भने दाहालसँगै झापाबाट काठमाडौं आएका थिए । जीवन मोरङबाट प्रदेशसभा सदस्य उम्मेदवार छन् ।
आर्यघाटमा शव पु¥याउँदा बितिक्कै फूलमाला चढाएका दाहालले केही मिनेटमा नै छोरालाई दागबत्ती दिए । दागबत्ती दिएका दाहालले शवयात्रामा सहभागीलाई हात उचालेर धैर्यधारण गर्न आग्रह गरेका थिए । दागबत्ती दिएको केही समयपछि दाहाल त्यहाँबाट बाहिरिए । शव नजल्दासम्म ज्वाइँ जीवनलगायत आर्यघाटमा बसेका थिए ।  शव जलाएर आफान्त सबै लाजिम्पाट पुगेका थिए ।

छोरासहित सिर्जना आर्यघाट पुगिन्
अस्पतालमा बेहोस भएर लडेकी श्रीमती सिर्जना त्रिपाठी छोरासहित आर्यघाट पुगेकी थिइन् । पतिको पार्थीव शरीर हेर्न आर्यघाट पुगे पनि उनले हेर्न पाइनन् । जलिहरेको शव हेर्नेबितिकै उनी बेहोस भएकी थिइन् । यस्तो अवस्था देखेका दाहाल नातिलाई लाजिम्पाट ल्याइदिन निर्देशन दिएर निस्केका थिए ।
आमा सीता लाजिम्पाटमा बेहोस
पुत्रवियोगमा आमा सीता लाजिम्पाटमा अर्धचेत अवस्थामा छिन् । उनी घरिघरि बेहोस हुन्छिन् । उनको हेरचाहका लागि केही चिकित्सक खटाइएको छ ।
 

पेरिसडाँडा पुगेर श्रद्धाञ्जली दिए भिभिआइपीले
पार्टी मुख्यालय पेरिसडाँडा पुगेर भिआइपी र भिभिआइपीले प्रकाशप्रति श्रद्धाञ्जली तथा अध्यक्ष दाहालप्रति समवेदना प्रकट गरेका थिए । उपराष्ट्रपति नन्दकिशोर पुन, सभामुख ओनसरी घर्तीमगर, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, मन्त्री, मोहन वैद्य पार्टी मुख्यालय पुगेका थिए । भारतीय राजदूत मञ्जिवसिंह पुरीलगायत कूटनीतिक नियोगका अन्य प्रमुख पनि पेरिसडाँडा पुगेका थिए ।
अपराह्न १ बजे पेरिसडाँडा पु¥याइएको पार्थीव शरीरमा दाहालले पार्टी झन्डा ओढाएका थिए । दिदी रेणु र गंगा पनि भाइलाई श्रद्धाञ्जली दिन पेरिसडाँडा पुगेका थिए ।
माओवादी केन्द्रका नेता मात्रै होइन, अन्य पार्टीका नेता पनि जिल्ला जिल्लाका चुनावी कार्यक्रम स्थगित गरी काठमाडौं आएका थिए । गोरखाबाट प्रतिस्पर्धामा रहेका बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ कार्यक्रम छाडेर काठमाडौं आए ।  त्यसैगरी, माओवादी नेताहरू जनार्दन शर्मा, शिवकुमार मण्डल, मातृका यादवलगायत दर्जनौं नेता आआफना कार्यक्रम रद्द गरी काठमाडौं आए । प्रकाशको निधनको खबरलगत्तै सामाजिक सञ्जाल  श्रद्धाञ्जलीले भरिए ।

प्रकाशित: ४ मंसिर २०७४ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App