८ वैशाख २०८१ शनिबार
अर्थ

निगमको एयरबसमा चिल ठोक्कियो

काठमाडौं- राष्ट्रिय ध्वजावाहकको अन्तर्राष्ट्रिय उडान गर्ने एउटा ठूलो जहाज चील ठोक्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउन्डेड’ भएको छ । चिल ठोक्किएपछि जहाजको नाक (अगाडिको भाग) मा ठूलो क्षति पुगेको छ ।

भारतको नयाँदिल्लीबाट शनिबार मध्याह्न काठमाडौं आइपुगेको निगमको १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजको जहाजमा चिल ठोक्किएको थियो । जहाज अवतरण गरेर धावनमार्गमा कुदिरहँदा चिल ठोक्किएको थियो ।
‘निगमको एयरबस जहाजको अगाडिको भाग (नाक) मा एउटा चिल ठोक्किएपछि ग्राउन्डेड भएको छ,’ त्रिभुवन विमानस्थल स्रोतले आइतबार नागरिकसँग भन्यो, ‘जहाजको अगाडिको भागमा ठूलो क्षति पुगेको छ तर पाइलट बस्ने ककपिटमा भने कुनै क्षति भएको छैन । जहाजमा ठोक्किएको चिल पनि मरेको छ । जहाज अब मर्मत नगरी उड्न सक्दैन ।’
जहाजलाई क्याप्टेन श्रवण रिजालले कमान्ड गरेका थिए भने को–पाइलट भोगेन्द्र कठायत थिए । कलसाइन ‘९एन–एकेएक्स’ र ‘लुम्बिनी’ नाम भएको यो जहाजमा १ सय ३५ यात्रु थिए । यो जहाज निगमले दुई वर्षअघि युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग खरिद गरेको थियो । निगमसँग यही सिरिजको अर्को जहाज पनि छ ।
स्रोतका अनुसार मध्याह्न १२ः१० बजे निगम जहाजको नाकमा एउटा चिल ठोक्किएको थियो । त्यही बिहान ८ बजे नयाँदिल्ली गएको उक्त जहाज फर्केर आउने क्रममा घटना भएको हो । धावनमार्गमा कुदिरहँदा ट्याक्सी वे ‘ई’ र ‘डी’ को बीचमा जहाज पुगेका बेला एउटा चिल ठोक्किएको थियो ।
‘धावनमार्गको दक्षिणपट्टि कोटेश्वरमाथि आइपुग्दा अगाडि १५÷२० वटा चिलको बथान देखिएको थियो । अवतरण नगरी जहाजलाई ओभरसुट (एकैचोटि माथि उकास्ने) गरेको भए चिल इन्जिनमा ठोक्किन्थ्यो र इन्जिन फेल हुन्थ्यो,’ चालकदलका सदस्यलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘सही समयमा सही निर्णय लिन सकेका कारण ठूलो दुर्घटना हुनबाट जोगाउन सकियो । चिल ठोक्किनासाथ ठूलो आवाज आएको थियो तर हामीले यात्रुलाई नआत्तिकन बस्न आग्रह ग¥यौं ।’
ग्राउन्डेड जहाज अहिले त्रिभुवन विमानस्थलस्थित वायुसेवा निगमको जहाज राख्ने ‘ह्यांगर’ मा छ । निगमको इन्जिनियरिङ विभागले शनिबारै जहाज मर्मतका लागि निरीक्षण गरेको थियो । त्यसपछि इन्जिनियरिङ विभागले उक्त जहाज कम्तिमा तीन दिन उड्न नसक्ने जानकारी निगम व्यवस्थापनलाई दिएको छ ।
अहिले चिल ठोक्किएको जहाज त्यही हो जसमा २०७३ असार २३ गते पनि एउटा चरा ठोक्किएको थियो । त्यसबेला काठमाडौंबाट हङकङ जान धावनमार्गमा कुदिरहँदा एक्कासि जहाजको दायाँ इन्जिनमा चार ठोक्किएको थियो । उक्त जहाजमा ५६ यात्रु सवार थिए भने चालकदलका आठ सदस्य थिए ।
चरा ठोक्किना साथ चालकले जहाजलाई कुशलतापूर्वक रोकेर पार्किङ क्षेत्रमा ल्याउन सफल भएका कारण ठूलो दुर्घटना टरेको थियो । त्यसबेला जहाजको दायाँ इन्जिनको ‘ब्लेड’ कुच्चिएको थियो । चालकदल र सबै यात्रु सकुशल थिए । त्यसपछि यात्रुलाई अर्को जहाज व्यवस्था गरी हङकङ पठाइएको थियो ।  
निगमले चरा ठोक्किएको घटनाबारे जहाज निर्माता एयरबस र इन्जिन निर्माता इन्टरनेसनल एरो इन्जिन (आइएई) लाई जानकारी गराएको थियो । त्यसबेला जहाज मर्मत गर्न १० दिन लागेको थियो । चरा ठोक्किएको दसौं दिन जहाजले नियमित व्यापारिक उडान गरेको थियो ।
त्रिभुवन विमानस्थलमा जहाजसँग चरा ठोक्किने क्रम बढ्न थालेपछि यहाँ उडान गरिरहेका दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान सुरक्षाको आवश्यक व्यवस्थातर्फ सम्बद्ध निकायको ध्यानाकर्षण गराउँदै आएका छन् ।
त्रिभुवनसहित देशभरका विमानस्थलको प्रमुख सञ्चालक निकाय उड्डयन क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण हो । प्राधिकरणले चरालाई विमानस्थल र धावनमार्ग वरिपरि आउन नदिन शिकारीदेखि साइरनको व्यवस्था पनि गरेको छ । तर, तिनको पनि सही सदुपयोग हुन नसकेको एक वायुसेवा कम्पनीका अधिकारीले दाबी गरे ।
‘यस्तै घटनाबाट ठूलो जनधनको क्षति भयो भने त्यसको जिम्मेवारी विमानस्थल व्यवस्थापन वा प्राधिकरण कसले लिन्छ ?,’ ती अधिकारीले भने, ‘हामीजस्ता अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले क्षतिपूर्ति दाबी गर्दै मुद्दा हाले भने त्यसबाट के सन्देश प्रवाह हुन्छ भन्ने सम्बन्धित निकायले बुझेकै होला ।’
त्रिभुवन विमानस्थलमा हाल १४ देशबाट २८ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आइरहेका छन् । तिनले अहिले दैनिक ९० भन्दा बढी उडान–अवतरण गरिरहेका छन् । आन्तरिकतर्फ भने दैनिक ३ सय ५० उडान–अवतरण हुने गरेका छन् । विमानस्थल सामान्य दिनमा बिहान ६ बजे खुल्ने गर्छ भने राति साढे १२ बजे बन्द हुने गर्छ ।
 

प्रकाशित: ४ मंसिर २०७४ ०५:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App