coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पाँचथरमा नेम्वाङ र आङ्देम्बेबीच टक्कर

पाँचथर – पाँचथर जिल्लाको राजनीतिक चहलपहल उत्कर्षमा पुगेको छ। प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट एमाले नेता वसन्तकुमार नेम्वाङ तथा लोकतान्त्रिक गठबन्धनबाट काँग्रेस नेता भीष्मराज आङ्देम्बे चौथोपटक चुनावी मैदानमा उत्रिएका छन्। 

यी दुई बलिया उम्मेदवारबीच पहिलोपटक एउटै चुनावी मैदानमा प्रतिस्पर्धा हुन लागेको हो। यसअघि दुई वटा निर्वाचन क्षेत्र रहेको पाँचथरबाट एमाले नेता नेम्वाङले दुईपटक चुनाव जितेका थिए भने काँग्रेस नेता आङ्देम्बेले चारपटक चुनाव लड्दा एकपटक जितेका थिए । अहिले एउटै चुनाव क्षेत्र भएपछि उनीहरू एउटै मैदानमा चुनावमा प्रतिस्पर्धा गर्दै छन्। 

आगामी मंसिर १० मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पाँचथरमा यी दुई प्रतिस्पर्धी दलका उम्मेदवारहरूले मतदाताका घर घरमा पुग्ने कार्यलाई तीव्ररूप दिएका छन्। 

मतदाताले भने घर घरमा आउने दलका नेता तथा उम्मेदवारसँग परिवारका सदस्यलाई जागिरदेखि लिएर पूर्वाधार निर्माण, शैक्षिक विकास र भरपर्दो स्वास्थ्य सेवासम्मका माग अघि सारेका छन् । एमालेका नेम्वाङले मुलुकमा आर्थिक समृद्धिको नेतृत्व गर्न वाम गठबन्धन बनेको बताए। सडक, विद्युत्, पुल, खानेपानी, सिँचाइ, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका विकास निर्माणका पूर्वाधारलाई उनले विकासे एजेण्डा बनाएका छन्। 

पूर्व सांसद एवं एमाले ऊर्जा विभाग सचिव नेम्वाङले जलविद्युत्को क्षेत्रमा लगानी गरेर पाँचथरका टोल टोलमा उज्यालो पुर्‍याउने दाबी गरेका छन् भने काँग्रेस केन्द्रीय सदस्य आङ्देम्बले जनताको सेवाकै लागि आफूले नेतृत्व लिन लागेको बताए। 

विभिन्न जातजाति आदिवासी जनजातिको भाषा, संस्कृतिको संरक्षणको जिम्मेवारी पनि आफ्नै भएकोले आफू पहिचानवादीका रूपमा परिचित हुन चाहेको उनको भनाइ छ। 

त्यसैगरी संघीय समाजवादीका उम्मेदवार प्रेमराज लावती संविधान संशोधन, शान्ति, समृद्धि, विकास, परिवर्तन र अधिकारका निम्ति आफ्नो उम्मेदवारी भएको बताउँछन्। 

यता वाम गठबन्धन दलबाट माओवादी केन्द्रका पाँचथर (क) का प्रदेशसभा सदस्य उम्मेदवार इन्द्र आङ्बो पनि अहिलेसम्मको उपलब्धि वामपन्थीको नेतृत्वमा भएकाले आर्थिक समृद्धि पनि वामपन्थीकै नेतृत्वबाट हुने दाबी गर्छन्। 

वाम गठबन्धनबाट पाँचथर (ख) का एमाले उम्मेदवार गणेश काम्बाङ पनि पाँचथरको समग्र विकासमा निष्ठापूर्वक काम गरेकाले आफूलाई जनताले निर्वाचित गराउने विश्वास व्यक्त गरे। 

त्यसैगरी लोकतान्त्रिक गठबन्धनबाट प्रदेश (क) का काँग्रेस उम्मेदवार नरेन्द्र केरुङ लोकतन्त्रमा मात्रै कृषि, सिँचाइ, पर्यटनको विकास, आत्मसम्मान र अधिकार सम्भव हुने भन्दै पाँचथरवासीले आफूहरूलाई नै नेतृत्व प्रदान गर्ने बताउँछन्। 

काँग्रेसबाटै प्रदेश (ख) बाट उम्मेदवार बनेका सुरेन्द्र दाहाल तमोर जलाशयुक्त जलविद्युत् आयोजना निर्माणमा पहल गर्नेमा जोड दिन्छन्। 

प्रकाशित: ४ मंसिर २०७४ ०६:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App