७ वैशाख २०८१ शुक्रबार
अन्य

‘हाम्रालाई होइन, राम्रालाई भोट’

चुच्चेपाटीबाट महांकाल पानी ट्यांकी हुँदै कपनतर्फ लाग्दा बाटोमा भेटिन्छ, एउटा ठूलो चौतारो । अग्लो स्थानमा रहेको चौतारोबाट हेर्दा काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र– ४ का अधिकांश भूभाग प्रस्टै देखिन्छन् ।  

फुर्सदिला सर्वसाधारण हरेक दिन चौतारामा बसेर बाघ र बाख्राको खेल अर्थात् बाघचाल खेलिरहेका भेटिन्छन् ।   अचेल बाघचाल खेल्नेबीच पनि चुनावी गफगाफ बढेका छन् । चौतारीमा कतिपय सर्वसाधारण आफ्नो क्षेत्रको चुनावी प्रतिस्पर्धालाई बाघचालसँग दाँज्दै बाघ र बाख्रा होइन, बाघैबाघको खेल हुने विश्लेषण गरिरहेका भेटिन्छन् ।
यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गगन थापा  र वाम गठबन्धनका तर्फबाट राजन भट्टराई उम्मेदवार छन् । उनीहरूबीच कडा प्रतिस्पर्धा हुने स्थानीयको बुझाइ छ । यसै क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा रहेकी विवेकशील साझा पार्टीकी सुबुना बस्नेत पनि युवामाझ चर्चामा छन् । यस क्षेत्रमा लोकप्रियता, बौद्धिक क्षमता र नयाँ आशाबीच प्रतिस्पर्धा हुने कतिपय मतदाताको विश्लेषण छ ।  
‘युवाबीच प्रतिस्पर्धा छ, जसले जिते पनि राम्रो गर्छन् भन्ने विश्वास छ,’ जम्दारचोकका ८४ वर्षीय गुरुप्रसाद रिजालले भने, ‘राम्रो होला भन्ने आशामा भोट हाल्न जाने योजनामा छु ।’ हारजित जे भए पनि सबै मिले यस क्षेत्रको विकास सजिलै हुने उनको बुझाइ छ । ‘जित हार त भइहाल्छ,’ उनले भने, ‘चुनावमा उठेकाले मिलेर काम गरे भने यो क्षेत्रमा कायापलट हुनेछ ।’
खोटाङको एैसेलुखर्कबाट बसाइँसराइँका क्रममा यहाँ आएका रिजालले भोट हाल्ने उमेर पुगेयता विगतका सबैजसो चुनावमा सहभागी हँुदै आएको सुनाए । उनले दुर्गमको समस्या र सुगमको अप्ठेरा दुवै झेलेका छन् । सडक नहुँदाका पीडा भोगेका उनी यसपालि जित्ने उम्मेदवारले आफ्नो टोलमा गतिलो सडक बनाइदिनेमा आशावादी छन् । ‘०१५ देखि भोट हाल्दै आएको छु,’ उनले  भने, ‘यसपटकका उम्मेदवार देखेर झनै खुसी भएको छु ।’
यस क्षेत्रमा राम्रो काम गर्नेलाई भोट हाल्ने मनस्थितिमा धेरै भेटिए । खानेपानी, ढल, सडकलगायत स्थानीय समस्यासँगै बेरोजगारी र राजनीतिक अस्थिरता लगायत हल खोज्नेलाई भोट दिने उनीहरूको मनस्थिति छ । ‘अब हाम्रोलाई होइन, राम्रोलाई भोट हाल्ने हो,’ कपन तेन्जिङ चोककी गृहिणी माइली गुरुङले भनिन्, ‘राम्रो कुरा गर्ने तर काम नगर्नेलाई भोट हाल्दैनौँ ।’ वाचा गरेर पूरा नगर्ने नेताको बानीप्रति उनको पनि गुनासो छ । ‘चुनावअगाडि त सबैले ठूला कुरा गर्छन्,’ उनी भन्छिन्, ‘पछि सबै बिर्सन्छन् ।’
यस क्षेत्रमा काठमाडौं महानगरपालिका वडा– १, ७, ८, ३० र बूढानीलकण्ठ नगरपालिका वडा– १, २, ८, ९, १०, ११, १२ र १३ पर्छन् । स्थानीय निर्वाचनमा यस क्षेत्रमा काठमाडौं महानगरपालिकाका दुई वडामा नेकपा एमाले र दुईवटामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए । बूढानीलकण्ठ नगरपालिकाका ८ वडामध्ये आठवटैमा एमाले उम्मेदवार विजयी भएका थिए । स्थानीय निर्वाचनमा कुल ४५ हजार तीन सय २७ मत खसेको थियो । खसेको मतमध्ये वामगठबन्धनले २४ हजार पाँच सय २४ र लोकतान्त्रिक गठबन्धनले २० हजार १२ मत पाएका थिए ।
अहिलको माहोलमा यो तथ्यांकले खासै ठूलो प्रभाव नपार्ने कतिपयको बुझाइ छ । ‘युवाका विषयमा जसले राम्रो भिजन राख्छ, हाम्रो भोट उसैलाई हो,’ नक्साल भगवती बहालका सुजन हेजु भन्छन्, ‘बिदेसिने युवालाई स्वदेशमै रोक्ने वातावरण तयार गर्न सक्ने व्यक्तिको खाँचो छ ।’
भत्केको पुलका केशव भण्डारी भने यसपटक फरक उम्मेदवारलाई रोज्ने सुनाउँछन् । पटकपटक भोट हाले पनि परिस्थिति नसुध्रिएकाले उनले यसपटक सोच बदलेको बताए । ‘मत नहाल्ने भन्दा पनि फरक सोच बोेकेकालाई हाल्ने इच्छा छ,’ उनी भन्छन्, ‘जसले मुलुकलाई नयाँ बाटो देखाओस् ।’

प्रकाशित: ४ मंसिर २०७४ ०६:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App