८ वैशाख २०८१ शनिबार
राजनीति

प्रत्यक्ष निर्वाचनतर्फ महिलाको उम्मेदवारी शून्य

रामपुर–आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ठूला राजनीतिक दलबाट महिलाको उम्मेदवारी शून्य रहेको छ। 

जिल्लामा नेपाली काँग्रेस र वाम गठबन्धनबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाको संख्या शून्य छ। गएको स्थानिय तहको निर्वाचनमा महिलालाई गाउँपालिका र नगरपालिकामा प्रमुख वा उपप्रमुख पदमा अनिवार्य स्थान दिएका राजनीतिक दलले अहिले महिला उम्मेदवारलाई प्रत्यक्षतर्फको निर्वाचनमा नेतृत्वका लागि वञ्चित गराएका छन्। 

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाले नेतृत्व गर्ने चाहना गरे पनि ठूला दलले नै उम्मेदवारीका लागि टिकट नदिएको महिलाको गुनासो छ। नेतृत्व तहमा पुग्नका लागि ठूला राजनीतिक दलले महिलालाई स्थान नदिँदा सधैँ पछाडी परेको उनीहरुको गुनासो छ। 

पुरुषले महिलालाई अगाडि बढ्न नदिने र नेतृत्व आफ्नै हातमा लिने प्रवृत्तिले गर्दा अझैपनि महिलाले अवसर पाउन नसकिरहेको क्षेत्र नं १ पाल्पाकी नेपाल महिला संघ क्षेत्रीय सभापति विष्णुमाया ढकालले बताए। निर्वाचनमा नेतृत्व गर्नका लागि योग्य र सक्षम हुँदाहुँदै पनि विभिन्न बहाना बनाएर महिलाको उम्मेदवारीलाई खारेज गरी टिकट लिने गरेका उनले आरोप लगाए। 

प्रदेशसभा सदस्यका लागि साना दलकातर्फबाट क्षेत्र नं १ (क) बाट संघीय समाजवादी फोरमका उम्मेदवार उषा परियार र ‘ख’बाट संघीय समाजवादी फोरमकै मनिसरा आले उम्मेदवार हुनुुहन्छ। क्षेत्र नं २ को प्रदेश (क) बाट नेपाल मजदुर किसान पार्टीका कमला विक र एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीबाट सावित्री कुमारी राना चुनावी मैदानमा छन्। 

जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेश सभामध्ये क्षेत्र नं १ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ११ जना र प्रदेशसभा (क) तर्फ ७ र प्रदेश(ख) तर्फ सातजना, क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ १० र प्रदेशसभा (क)तर्फ १२ तथा प्रदेश(ख)तर्फ ६ जना उम्मेदवार चुनावी मैदानमा छन्। 

जिल्लामा काँग्रेस र वाम गठबन्धनबीच नै मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ। जिल्लामा एक लाख ८१ हजार २४६ मतदाता रहेका छन्। महिला मतदाता ९४ हजार ८२९ महिला, पुरुष मतदाता ८६ हजार ४१६ पुरुष र एकजना तेस्रो लिंगी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी थमनबहादुर सारुले बताए। 

प्रकाशित: ४ मंसिर २०७४ ०६:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App