८ वैशाख २०८१ शनिबार
ब्लग

आफ्नै नामबाट चिनिन चाहन्थे प्रकाश

काठमाडौं- प्रकाश दाहाल खासमा आफनो पिता पुष्पकमल दाहालको नामवाट चिनिन चाहदैँनथे, उनी आफ्नै छुट्टै पहिचान छ भन्ने भन्ने मान्थे। त्यसैले पनि, उनी प्राय पुष्पकमल दाहाललाई वुवा नभनी अध्यक्ष भनेर सम्बोधन गर्न रुचाउँथे।

‘म पनि सँगसँगै युद्धमा लागेकाले मेरो पनि आफ्नै छुट्टै पहिचान छ तर सवैले मलाई प्रचण्डको छोरा भनेर भनिदिन्छन, यो छाप हटाउन नै सकिन’ पंक्तिकारसँग उनको यो दुखेसो थियो। प्रकाश चाहान्थे– ‘प्रचण्ड पुत्र’ नभनी अध्यक्ष दाहालको स्वकीय सचिव वा निजी सचिव भनेर पत्रकारले पनि समाचारहरुमा लेखि दिउन । तर, बावुको व्यक्तित्वको ओजको अगाडी प्रकाशको त्यो इच्छा कहिल्यै सम्भवः भएन, हुन पनि सकेन । त्यो इच्छा अधुरै राखेर आकस्मिक रुपमा प्रकाश सबैलाई छाडेर सदाका लागि विदा भए।

प्रकाशका बारेमा जति वाहिर हल्ला हुन्थ्यो, खासमा त्यति उनी ‘बदमास’ थिएनन, उनको पार्टी र युद्धमा समेत अरुको भन्दा कम्ति योगदान पनि थिएन।

प्रकाशले ०५७ साल देखी नै भुमिगत भए, युद्धकाल भरी बाबु सँगसँगै हेडक्वाटरको सचिवालयमा रहेर काम गरे। भारतमा बुवासँगै भूमिगत जीवन विताएका उनी प्रचण्डसँगै नेपाल आएका थिए।

शान्ति प्रक्रियामा आए पछि पनि प्रकाश बाबुसँगै रहेर काम गरे। ‘हेडक्वाटर (अध्यक्ष)लाई केही तलमाथी भई हाल्छ कि नराम्रा मानिसहरुले प्रभावमा पारिहाल्छन कि भनेर सदैव सचेत रहने र बाबुलाई साथ दिने काम प्रकाशवाट भयो’ प्रकाशका अनन्य मित्र मदन चुडाल सम्झन्छन्। पुष्पकमलका छोरा नभई पार्टीको जिम्मेवार कार्यकर्ता र हेडक्वाटरको सचिवालयको रुपमा चिनाउनका लागि दर्जनौ स्टाटस लेखेका पनि छन्।

प्रकाश खासमा सोझो र इमान्दार व्यक्तिका रुपमा उनका सहकर्मी र संगतीहरुले बुझदै आएका छन् । सगरमाथा आरोहणमासमेत सँगसँगै रहेका प्रकाशका अनन्य मित्र चुडाल प्रकाश सोझो, इमान्दार र बफादार पार्टी भित्रका युवा नेताको रुपमा सम्झन्छन। २०३८ असार १७ गते शिवनगर चितवनमा जन्मेका दाहालले अन्तिम समयसम्म पुष्पकमल दाहालको सचिवालय सम्हाल्ने काममा व्यस्त रहे। पितासँगै युद्धमा होमिएका प्रकाशले ११ कक्षा भन्दा बढी पास गर्न सकेनन । उनी भन्थे, ‘हजारौं जनताका छोराछोरी नपढी युद्धमा छन्, मैले पढे भने तीनले यत्रो आन्दोलनको नेतृत्व गर्ने अध्यक्षलाई प्रश्न गर्दा अध्यक्षले के जवाफ दिने ? मैले नपढे पनि मुलुकमा यत्रो ठूलो राजनीतिक परिवर्तन भएको छ, यसैमा खुसी छु।’

एकेडेमिक कोर्ष पुरा गर्न नसके पनि प्रकाशको रुची प्रावधिक विषयमा भने निकै नै थियो, खासमा उनी अब्बल पनि थिए । हतियार चलाउने देखी विज्ञान र प्रवृद्धिका अनेक विषयमा उनी अब्बल ज्ञान राख्थे र चाँडै सिक्न सक्ने क्षमता पनि थियो । युद्धकाल देखी नै कुशल व्यवस्थापकको रुपमा पार्टी भित्र परिचित प्रकाश एक पटक मात्रै सचिवालयवाट वाहिर रहन पुगेका थिए, त्यो पनि विना मगरसँग भागी विवाह गरे पछि पार्टी कारवाहीमा परेकाले मात्र। वैवाहिक जीवनको सवालमा उनी पटक पटक चुकेका छन्। सगरमाथा आरोहीको समेत परिचय बनाएका दाहालले विद्यार्थी नेतृ विनासँग तेस्रो विवाह गरे, जुनवेला उनको सिर्जना त्रिपाठीसँग विवाह भई सन्तानसमेत जन्मेको अवस्था थियो। तर, सगरमाथा आरोहणको क्रममा सहयात्री विनासँग भागेर तेस्रो विवाह गरे पछि उनलाई पार्टीले ६ महिनासम्म जिम्मेवारीवाट निलम्वन गरेको थियो। केही समय सचिवालयबाट अलग भएतापनि दोस्रो पटक प्रधानमन्त्री भए पछि पुष्पकमलले प्रकाशलाई सचिवालयमा पुनः भित्राएर जिम्मेवारी दिएका थिए। वैवाहिक जीवन वाहेक अन्य कुनै पनि विषयमा उनलाई खोट देखाउन हम्मे नै पर्छ।

प्रकाशकी तीन दिदी मध्ये एक दिदी ज्ञानुको ०७० चैत १३ गते क्यान्सरवाट निधन भएको थियो । उनकी अर्की दिदी रेणु भरतपुर महानगरपालिकामा मेयरको जिम्मेवारीमा छिन भने अर्की दिदी गंगा सामान्य गृहणीको रुपमा रहेकी छिन। आमा सिताले प्रकाशलाई असाध्यै माया गर्दथिन, मानौं सिताको सवैभन्दा ठुलो कमजोरी हो, छोरा प्रकाशको कुरा हत्तपति आमाले काट्दैनथिन्। केही दिन यता ज्वरोले ग्रस्त छोरा प्रकाशको हेरचाहमा सिता लाजिम्पाटमा नै थिइन । शनिवार राती जाउलो पकाएर खुवाएकी आमाले विहान छोरालाई अचेत अवस्थामा ओच्छयानमा भेटेकी थिइन । ‘एउटा सामान्य जीवनशैली जिएर प्रकाश हामीसँग विदा भयो, सायद उसको जीवन यही समयसम्मका लागि लेखिएको थियो,’ भिनाजु जीवन आचार्य सम्झन्छन्।

युद्धकालको पृष्ठभुमीवाट आए पनि प्रकाश मिडिया मैत्रीसमेत थिए, उनी सूचना लुकाउनु हुन्छ भन्ने पक्षमा कदापी पनि थिएनन, देखिएनन । सदैव, पत्रकारलाई सुचना दिनुपर्छ भनेर उनी तत्कालै प्रेस विज्ञप्ति पठाउने देखी अध्यक्ष दाहालको भाषणको फेसवुक लाइभ पनि गरेर मिडियालाई सहयोग गर्दथे।

प्रकाशले एकदिन यस पंक्तिकारलाई भनेका थिए– ‘मेरो बारेमा भ्रम चिरिदिनुहोस ।’ मैले सोधेको थिए, ‘के भ्रम छ र तपाईका बारेमा ?’ उनले भनेका थिए, ‘सवैले मलाई प्रचण्डको मात्रै छोरा भन्छन– बुझछन, म पार्टीको असल र जिम्मेवार कार्यकर्ता पनि हुँ नि, यसमा कुनै मिडियाले लेख्दैन, यो बुझाई दिनु पर्‍यो ।’ मैले भनेको थिए, ‘तपाईले यो पीडावाट मुक्त हुन कहिल्यै सक्नु हुन्न।’

उनले जवाफमा भनेका थिए, ‘तर, एकदिन त्यसवाट मुक्त हुने गरी म काम गर्नेछु।’ तर, उनको इच्छा अधुरो नै भयो। आफ्नो बाबुको नामवाट भन्दा अलग पहिचान वनाएर आफुलाई चिनाउन खोजेतापनि माओवादी केन्द्रका पोलिटव्युरो सदस्य प्रकाश दाहाल जीवनभर पुष्पकमल दाहालको पुत्र भनेर सर्वत्र चिनिए, अब पनि चिनेन नै छन् । हार्दिक श्रद्धाञ्जली। 

 

प्रकाशित: ४ मंसिर २०७४ ०९:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App