८ वैशाख २०८१ शनिबार
राजनीति

यस्ता छन् उम्मेदवारका प्रतिबद्धता

उपत्यकाका निर्वाचन क्षेत्रमध्ये धेरै चर्चा पाएको क्षेत्रमध्ये पर्छ काठमाडौं निर्वाचन क्षेत्र–४ । यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका युवा नेता गगन थापा र वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका राजन भट्टराई उम्मेदवार छन् । विकेवशील साझा पार्टीले भने सुबुना बस्नेतलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा काठमाडौं महानगरपालिका वडा– १, ७, ८, ३० र बूढानीलकण्ठ नगरपालिका वडा– १, २, ८, ९, १०, ११, १२ र १३ पर्छन् । 

‘प्रदूषणमुक्त काठमाडौं बनाउँछु’
गगन थापा, प्रतिनिधिसभा
लोकतान्त्रिक गठबन्धन
म यस क्षेत्रको पूर्वसांसद् हुँ । यहाँका जनताले जिताएर पठाएपछि सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, खेलकुद, धार्मिक तथा सांस्कृतिक क्षेत्रको संरक्षणमा योगदान गरेको छु । सांसद् कोषमा आएको बजेट समेत त्यसैमा खर्च गरेको छु । स्वास्थ्यमन्त्री हुँदा गरेको कामले धेरै जनतालाई राहत मिलेको छ । अझै पनि धेरै काम गर्न बाँकी छ ।
अबका लागि मैले केही  प्रतिबद्धता गरेको छु । संविधान कार्यान्वयन गरी सुन्दर देश बनाएर समृद्धिका लागि विकासमा होमिने, शिक्षा, स्वास्थ्यमा राज्यको दायित्व गराएर शिक्षालाई रोजगारमुखी बनाउने, प्रदूषणमुक्त बस्नयोग्य काठमाडौं बनाउने, लगानीमैत्री वातावरण र रोजगारीको सिर्जनामा मेरो भूमिका रहनेछ।

आफ्नो क्षेत्रको कुरा गर्दा सडक निर्माणमा मात्र करिब सवा पाँच अर्ब रुपैयाँ बजेट विनियोजन गराएँ । सडकबाहेक स्वास्थ्य, शिक्षा, खेलकुद लगायत क्षेत्रमा अर्बभन्दा बढी बजेट विनियोजन गराएँ । सोहीअनुसार केही काम भएका छन् भने केही हुने क्रममा छन् । धोबिखोला करिडोरको गोपीकृष्णसम्म कालोपत्रे गर्न र गोपीकृष्णदेखि चुनिखेल भद्रकालीसम्म ट्र्याक खोल्ने लगायत काम भइरहेको छ। 

वायु प्रदूषण नियन्त्रण योजना, ग्रिन सिटी अभियान, स्वास्थ्य बिमा लगायत महत्त्वपूर्ण विषयलाई कार्यान्वयन गराउनुछ। त्यसैगरी, क्षेत्रगत हिसाबमा पनि यहाँ सञ्चालित साना–ठूला आयोजनाको कार्यान्वयन तथा सम्पन्न गराउनुपर्ने जिम्मेवारी छ। 

यस क्षेत्रका धेरै सम्पदा तथा सांस्कृतिक महत्त्वका ठाउँलाई जोडेर सांस्कृतिक सहरको रूपमा विकास गराउने प्रतिबद्धता गरेको छु । कपन तथा बूढानीलकण्ठमा अस्पतालको स्थापना तथा यहाँका सबै वडामा स्वास्थ्य केन्द्रको स्थापना गराउनुछ।

मैले १५ वर्षसम्म सक्रिय राजनीतिमा रहने संकल्प गरेको छु । त्यो भन्नुको अर्थ १५ वर्षभित्र देशलाई उन्नति पथमा दौडाएर समृद्धिको ढोका खुलेको देश अर्को पुस्तालाई हस्तान्तरण गर्नु हो । त्यसैले मेरो भूमिका नै तीव्रतम रूपमा देशलाई समृद्धिमा लैजानु हुनेछ । क्षेत्रगत विकाससँगै देशमा भएका विकृति, विसंगति र समृद्धि मुलुक बनाउन भूमिका खेल्ने हुँदा यहाँका जनताले बहुमत दिएर जिताउनेमा आशावादी छु।

‘रोजगारी सिर्जना गर्छु’
राजन भट्टराई, प्रतिनिधिसभा
वाम गठबन्धन
चार दशकयता राजनीतिमा सक्रिय छु । यस क्षेत्रमा हुर्किएर लामो समय सामाजिक कार्यमा लागेँ । यस क्षेत्रका सबै सामुदायिक विद्यालयमा योगदान गरेको छु । शिक्षा सुधारका लागि भूमिका खेलेको छु । यहाँका जनताले सम्झिरहने गरी काम गरेको हुँदा यसपटक पनि जनताले मलाई खोजेका छन्।

परिवर्तनका लागि लड्दा पटकपटक जेल र मुद्दा पनि खेपियो । लामो समयदेखि जनताको साथमा रहेर काम गरेको हुँदा मलाई यहाँका जनताले राम्रैसँग चिन्छन् । यहाँका जनताका समस्या पनि धेरै छन् । ती समस्या समाधानका लागि मैले पनि सक्दो भूमिका खेलिरहेको छु। 

म जनप्रतिनिधि भएर आएपछि यहाँका सबै समस्यामा जनतासँगै रहेर समाधानमा लाग्छु ।  दीर्घकालीन योजना बनाएर अगाडि बढेपछि अहिले झेलिरहेका समस्या फेरि झेल्नुपर्ने दिन आउनेछैन । पूर्वाधारको विषयमा मात्रै नभएर यहाँका युवालाई रोजगार सिर्जना गर्नु अर्को प्राथमिकता हो । पशुपतिनाथजस्तो सम्पदा पुनर्निर्माण मात्रै होइन, त्यसलाई समयनुसार कसरी परिवर्तन गर्ने भन्नेमा पनि केन्द्रित हुनेछु । जनताको आवश्यकता र समयको माग मेरो प्राथमिकता रहनेछ। 

बूढानीलकण्ठजस्तो धार्मिक तथा पर्यटकीय केन्द्र पनि मेरो क्षेत्रमा छ । यस्ता धेरै ठाउँ रहेका कारण पर्यटकीय केन्द्रको रुपमा विकास गरी यहाँका जनताको जीवनस्तर उकास्न सकिने कुरालाई पनि मध्यनजर गरेको छु । यो क्षेत्र अत्यधिक जाम हुने क्षेत्र पनि हो । ट्राफिक व्यवस्थापनको योजना नै बनाएर लाग्ने छु भनी जनतासँग प्रतिबद्धता गरेको छु । त्यसका लागि आवश्यक ठाउँमा सुरुङमार्ग बनाउने योजना पनि हामीले अघि सारेका छौँ। 

म वाम गठबन्धनको साझा उम्मेदवार हुँ । अब देशका लागि आवश्यक शक्ति पनि वाम नै हो । स्थायी सरकार भए मात्रै समृद्ध मुलुक सम्भव हुन्छ । त्यसका लागि वाम शक्ति आवश्यक रहेको जनताले बुझेका छन् । मलाई बहुमतले जिताउने माहोल यो क्षेत्रका जनताले नै बनाएकाले मेरो जित सुनिश्चित भएको महसुस गरेको छु ।
‘साना उद्योग विस्तार गर्ने योजना छ’

सुबुना बस्नेत, प्रतिनिधिसभा 
विवेकशील साझा पार्टी 
राजनीतिलाई सुसंस्कृत बनाउन चुनावी मैदानमा आएकी हुँ । मेरो उम्मेदवारीले युवा पनि मूलधारको राजनीतिमा नयाँ सोच बोकेर आउनुपर्छ भनेर देखाउँछ। 

मेरो पार्टीमा उद्यमशीलता विभाग गठन गरेर त्यसैको नेतृत्व गर्दै आएकी छु । उक्त विभागले अहिलेसम्म झन्डै २५ सय युवालाई स्वरोजगार बनाउने भूमिका खेलेको छ। 

राजनीतिमा लागेर देश बनाउने हाम्रो योजना हो । हामीलाई आफ्नो चिन्ता होइन, देशको चिन्ता छ । देशमा विद्यमान विकृति तथा गलत प्रवृत्ति हटाउने जिम्मेवारी हाम्रो काँधमा छ । त्यही जिम्मेवारी निर्वाह गर्ने साहस बोकेर इमानदारिताको राजनीति गर्न आएकी हुँ । जनताले पनि परिवर्तन चाहेका छन् । घरदैलोमा पुग्दा हामीजस्तो युवापुस्ता नयाँ सोच बोकेर राजनीतिमा आएकामा जनता खुसी छन् । त्यसैले पनि यो क्षेत्रका जनताले देश बनाउन मलाई जिताउने छन् भन्नेमा विश्वस्त छु । मलाई विजय गराएमा यहाँका जनताले झेल्दै आएका समस्यालाई पहिलो प्राथमिकता राखेर काम गर्नेछु । यहाँ सडक, खानेपानी, फोहोर लगायत समस्या छ । यी मुद्दालाई समाधान गर्दै यहाँका जनताको जीवनस्तर उकास्ने तथा रोजगार बनाउने भूमिका रहनेछ । यस क्षेत्रमा लथालिंग रूपमा रहेका सांस्कृतिक तथा धार्मिक सम्पदा उठाउने, वृद्ध तथा बच्चाका लागि पार्क बनाउने, साना उद्योगको विस्तार गर्ने योजना छ । जनताको सुखदुःखमा साथ दिएर साँच्चिकै जनप्रतिनिधि भएको आभास दिलाउनेछु । देशमा विद्यमान विकृति हटाउनेछु । हिजोको दिनमा पनि डा. केसीको आन्दोलन होस् वा लोकमानसिंह कार्कीविरुद्धको अभियान, नेपाल बन्द विरुद्धको अभियान सबैमा अग्रपंक्तिमा रहेर काम गर्दै आएकी छु । भूकम्पका बेला १६ सय स्वयंसेवक परिचालन गरेर देशभर उद्धार तथा राहतमा जुट्दा नेतृत्व मैले नै गरेकी थिएँ । यसअघि गरेका काम र हाम्रो पार्टीको नयाँ भिजन तथा युवाशक्तिको जोस–जाँगरलाई हेरेर पनि जनताले हामीलाई हेर्नेछन् भनेर विश्वस्त छु ।

‘पशुपतिलाई अन्तर्राष्ट्रिकरण गर्छु’
नरोत्तम वैद्य, प्रदेशसभा– ४ (क) 
लोकतान्त्रिक गठबन्धन
म यस क्षेत्रका लागि परिचित व्यक्ति हुँ । यहाँका जनताको मनमा बस्ने गरी काम गरेको छु । मेरो काम गर्ने शैलीकै कारण यहाँका जनताले पटकपटक वडाध्यक्ष बनाए । वडाध्यक्ष हुँदा गरेका उदाहरणीय कामको अहिले पनि चर्चा हुने गरेको छ । पशुपति क्षेत्र विकास कोषको सदस्य भएँ, कोषाध्यक्ष भएँ । यो बेला कोषमा ठूलै परिवर्तन गरेँ । कोषाध्यक्ष भएर गरेको कामको सर्वत्र चर्चा भएको थियो । मैले पशुपतिमा जम्मा हुने भेटीको व्यवस्थापन तथा पारदर्शी बनाएँ । साथै, भेटीलाई कसरी सदुपयोग गर्ने भनेर पनि खाका बनाएँ । भट्ट तथा पुजारीको पारिश्रमिक व्यवस्थापनमा पनि भूमिका खेलेँ । अहिले पनि मेरो प्राथमिकता पशुपति क्षेत्र नै रहन्छ । पशुपतिनाथलाई अन्तर्राष्ट्रिकरण गरी संसारका हिन्दूहरु पशुपतिमा भिœयाउने योजना छ । यसो गर्न सके विश्वमा नेपालको चिनारी हुने र पयर्टकीय क्षेत्रको रुपमा यसलाई विकास गर्न सकिन्छ । योसँगै जनताको दुःखसुखमा साथ दिनु त जनप्रतिनिधिको काम भइहाल्यो । यहाँको विकास निर्माण तथा पूर्वाधार विकासको काम पनि जनप्रतिनिधिले गर्ने कुरा भइहाल्यो । प्रदेशको विकास गर्ने कुरामा केन्द्रित रहनेछु । मेरो प्रदेशमा भएका प्राकृतिक स्रोतलाई परिचालन गरेर देशलाई समृद्ध बनाउन लाग्नेछु । त्यसका लागि हिजोका दिनमा मैले गरेको योगदान तथा नेपाली कांग्रेसले देश र जनताका लागि गरेको योगदानका आधारमा पनि मलाई विजयी गराउनु हुनेमा विश्वस्त छु ।

‘तीव्र गतिमा विकास गर्छु’
साधुराम खड्का, प्रदेशसभा– ४(ख)
लोकतान्त्रिक गठबन्धन
शान्ति, समृद्धि, स्थायित्व र संविधान कार्यान्वयनका लागि नै म चुनावी मैदानमा होमिएको हुँ । देशलाई अब आर्थिक क्रान्तिको बाटोमा लैजानुपर्छ । यसमा अग्रसर नेपाली कांग्रेस नै हो । मेरो उम्मेदवारी पनि त्यसैका लागि हो । नेपाल पहिलोपटक प्रादेशिक संरचनामा गएको छ । यसलाई कार्यान्वयन गराउन पनि भूमिका खेल्नेछु । अहिले राजनीतिको बिग्रँदो छवि छ । हामीजस्तो इमानदार मान्छे नेतृत्वमा आउँदा जनताको पनि राजनीतिक दृष्टिकोण बदल्न मद्दत पुग्छ । हिजोका दिनमा पनि मैले समाजमा रहेर धेरै काम गरेको छु । ०४० सालदेखि  देश र जनताकै लागि भनेर खटिरहेको हुँ । मलाई यहाँको बारेमा सबै जानकारी छ । यहाँका जनताले भोगिरहेका समस्यामा पनि परिचित छु । यहाँ खानेपानी, ढल, सडकको ठूलै समस्या छ । यस्ता विकास निर्माणको अस्तव्यस्ततालाई हटाएर तीव्र गतिमा विकासका लागि लाग्नेछु । यो क्षेत्र पयर्टकीय, धार्मिक र प्राकृतिक हिसाबमा अगाडि छ । त्यसैले पर्यटक क्षेत्रका रूपमा विकास गर्दा यहाँका जनताको जीवनस्तर उकास्न मद्दत पुग्छ । सार्वजनिक यातायातको पनि उत्तिकै समस्या छ । समाजमा हुने सबै खालका समस्यालाई जनताको आवश्यकताअनुसार सहज बनाउँदै लैजानेछु । त्यसैगरी गरिबी, बेरोजगारीजस्ता समस्या समाधानका निम्ति पनि भूमिका खेल्नेछु । त्यसका लागि मलाई जिताउनेमा विश्वस्त छु ।

‘सुरुङमार्ग बनाउँछु’
निर्मल कुइँकेल, प्रदेशसभा–४(क)
वाम गठबन्धन
चार दशक पहिलेदेखि राजनीतिमा सक्रिय छु । विद्यार्थी राजनीतिबाट यो क्षेत्रमा आएको हुँ । समाज विकासका लागि म राजनीतिमा आएको हुँ । त्यसैले यो समाज विकासका लागि दिनरात नभनी खटिरहेको छु । मलाई परिवारले नै राजनीतिमा पठाएको हो । अहिले पनि परिवारले सहयोग गरिरहेको छ । मैले जनताका दुःखसुखमा साथ दिएको छु । पशुपति क्षेत्र विकास सरोकार समितिमा रहेर धर्म–संस्कृति मात्रै नभएर पशुपति क्षेत्रको विकासका लागि भूमिका खेलेँ । अहिले पनि म निरन्तर समाजका लागि केही गर्न अगाडि बढिरहेको छु । मेरो क्षेत्रमा पशुपतिजस्तो ऐतिहासिक धार्मिक सम्पदा छ । चन्द्रविनायक गणेश मन्दिर छ । यस क्षेत्रलाई सांस्कृतिक सहरको रूपमा विकास गर्न सकिन्छ । समृद्धितिर उन्मुख गराउन सकिन्छ । त्यसैगरी जनताका आम समस्या समधानको भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी त छँदै छ । 
मेरो क्षेत्रमा अत्यधिक जाम पनि पर्छ । त्यसका लागि सुरुङमार्ग बनाएर जाम हटाउने दीर्घकालीन योजना हामीले अघि सारेका छौँ । तिलगंगा–गुह्येश्वरी ताम्रागंगामा सुरुङमार्ग बनाउने प्रतिबद्धता गरेका छौँ । त्यसैगरी, रातोपुल–सिनामंगल र तिलगंगा–गोपीकृष्णमा सुरुङमार्ग बनाउने पहिलो प्राथमिकता रहनेछ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर लथालिंग अवस्थामा छ । त्यहाँ साहित्यिक संग्रहालय बनाउने अर्को महŒवपूर्ण योजना अघि सारेको छु । जनताले स्थायी सरकारका लागि वाम गठबन्धनलाई रोज्दै छन् । स्थायी सरकार बनेका खण्डमा देशलाई समृद्धिमा लैजान यस्ता विकासका अवधारणा देशैभर हुनेछन् । त्यसका लागि वामलाई मत दिएर जिताउन जनतासँग अनुरोध गर्छु ।

‘विकासको तालिका बनाएरै अगाडि बढ्नेछु’
कुसुम कार्की, प्रदेशसभा–४(ख)
वाम गठबन्धन
०४९ सालमा यहाँका जनताले मलाई महांकाल गाविसको उपाध्यक्षमा विजयी गराए । जनप्रतिनिधि भएर गएपछि यहाँका जनताको मन जित्न सफल भएँ । जनताको आवश्यताअनुसार काम गरियो । त्यसपछि पनि निरन्तर जनताको समस्यामा साथ दिएर समाज विकासमा खटिएँ । यसरी जनतासँग राम्रो सम्बन्ध बनाएको छु । मसँग अन्य पार्टीका साथीहरू समेत नजिक छन् । मिलनसार स्वभावले गर्दा सबैलाई साथी बनाएको छु । वाम गठबन्धन र मेरो व्यक्तिगत कारण पनि चुनाव जित्नेमा शंका छैन। 

जनप्रतिनिधिको साथ नपाएको यहाँका जनताको गुनासो छ । विजयीपछि यहाँका जनताको साथमा रहेर आवश्यक काम गर्ने प्रतिबद्धता गरेको छु । विकास पूर्वाधारको तालिका बनाएरै अगाडि बढ्ने योजना छ । यस क्षेत्रले सडकका कारण नाकाबन्दीजस्तो अवस्था झेलेको छ । पहिलो काम नै यहाँका सडकको अवस्था सुधार गर्न भूमिका खेल्नेछु । मेरो क्षेत्रलाई नमुना बनाउने योजना रहेको छ । प्रदेशको संरचना बनाउन पनि उचित भूमिका रहनेछ । यस क्षेत्रको पहिचान हुनेगरी संरचना बनाउनेछु । अबको अजेन्डा नै आर्थिक विकास हो । त्यसका लागि स्थायी सरकार आवश्यक छ । अहिले त्यसैका लागि वाम शक्ति एक ठाउँमा उभिएका छन् । जनताले पनि त्यसको आवश्यकता महसुस गरेका छन् । त्यसैले वामलाई बहुमतले जिताए क्षेत्र मात्र होइन, देशकै मुहार फेर्ने प्रतिबद्धता गरेका हौँ । 

‘भ्रष्टाचार नियन्त्रण गर्छु’
दीपेश श्रेष्ठ वैद्य, प्रदेशसभा–४(क)
विवेकशील साझा पार्टी
उच्च शिक्षाका लागि केही वर्ष विदेशमा बिताएँ । त्यसबेला मैले त्यहाँको सरकार र देशबारे राम्रोसँग बुझेँ । सरकारको भूमिका थाहा पाएँ । बेलायत र मेरो देशको सरकारको अवस्था तुलना गर्दा नेपालको सरकारले गर्नुपर्ने केही गरेजस्तो लागेन । त्यसपछि हामीजस्तो युवा राजनीतिमा आउन आवश्यक छ भन्ने ठानिरहेको थिएँ । विदेशमा सिकेको ज्ञान नेपालमा ल्याउने सोचिरहेको थिएँ । त्यहीबेला विवेकशील पार्टी खुलेपछि यही पार्टीबाट राजनीतिमा आएको हुँ । विदेशमा रहँदा पनि भूकम्प आउँदा होस् वा अन्य बेला सामाजिक कार्यका लागि आर्थिक संकलन गरेर पठाएँ । नेपाल आएपछि पनि कुलमान घिसिङलाई समर्थन अभियान, डा. गोविन्द केसी आन्दोलन र लोकमानसिंह कार्कीविरुद्धको अभियानमा सामेल भएर भूमिका निर्वाह गरेँ । योसँगै समाजका रहेका समस्या पनि समाधान गर्ने विषयमा भूमिका खेलेँ । देशले पनि नयाँ अनुहार खोजिरहेको छ । समाजले पनि त हामीलाई रुचाइरहेका छन् । घरदैलो अभियानमा जाँदा मतदाताबीच उत्साह छ । जनताले हामीलाई जिताउने विश्वास लिएको छु । जितेपछि देशलाई समृद्ध बनाउन लाग्नेछु । यस क्षेत्रका जनतासँग छलफल गरी सँगसँगै रहेर जनताका आवश्यकता पूरा गर्ने प्रतिबद्धता गरेको छु । भ्रष्टाचारको जालो तोड्न भूमिका खेल्छु । त्यसका लागि प्रविधिको विकास गर्नेछु । प्रविधिको विकासले नै समाजको विकास हुन्छ । प्रविधिले नै समाजमा हुने भ्रष्टाचार रोक्न सहयोग पु¥याउँछ । त्यसैले यसपटक तराजुमा भोट दिएर विवेकशील साझा पार्टीलाई विजय गराउन अनुरोध गर्छु ।

‘उद्योगधन्दाको विकास गर्छु’

मधुसुधन कार्की, प्रदेशसभा–४(ख)
विवेकशील साझा पार्टी
सामाजिक क्षेत्रमा चिनिएको मान्छे हुँ । मैले मेरो टोल, क्षेत्रमा वर्षौंदेखि काम गर्दै आएको छु । मेरो क्षेत्रमा आवश्यक विकास, निर्माणमा पनि सचेत छु । यस क्षेत्रमा हुने विकास निर्माणमा पारदर्शिताको कुरा उठाउँदै आएको छु । वर्षौंदेखि यस क्षेत्र लथालिंग छ । यहाँका जनताले दुःख झेल्दै आएका छन् । तैपनि हिजो यहाँबाट विजयी भएर जाने नेताहरु वास्ता गर्दैनन् । जनताको मर्का बुझ्दैनन् । यहाँको जनताका समस्या बुझेर क्षेत्रको विकास गर्न नसक्नेले देशको विकास गर्न सक्ने कुरै भएन । देशको अवस्था झन् बिग्रँदै गयो । यो देखेर मन पोलेपछि देशका लागि केही गरौँ भनेर राजनीतिमा आएको हुँ । देशमा भ्रष्टाचारको जगजगी छ । जसले गर्दा सीमित वर्ग मोटाउने तर आमजनता पिरोलिने अवस्था छ । नेपाल सुनको खानी हो । यहाँ सजिलै सुन फलाउन सकिन्छ । तर, यहाँको सरकारले यसमा ध्यान नदिएका कारण हामीले दुःख झेलिरहेका छौँ । त्यसैले यसपटक यहाँका जनताले मलाई जिताउने अपेक्षा गरेको छु । यहाँका जनताले जिताएर पठाए यस क्षेत्रको पूर्वाधारप्रति मेरो पहिलो प्राथमिकता रहनेछ । अहिले यस क्षेत्रका सडक हिँडिनसक्नु भएका छन् । खानेपानीको पनि उस्तै समस्या छ । यी सबै समस्या पहिलो प्राथमिकताका साथ समाधान गर्नेछु । त्यसैगरी, देशलाई समृद्धि बनाउने तथा रोजगारी बढाउने उद्योगधन्दाको विकास गर्नेछु । लगानीमैत्री वातावरण बनाउने योजना रहेको छ ।

प्रकाशित: ४ मंसिर २०७४ ०९:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App