८ वैशाख २०८१ शनिबार
राजनीति

मन्त्रीको घरमा बम विस्फोट

राज्यमन्त्री खड्काको घरमा गराईएको बम विस्फोटबाट क्षति भएको ठाउँ ।

बागलुङ– सहकारी एवं गरिबी निवारण राज्य मन्त्री चम्पादवी खड्काको घरमा बम बिस्फोट भएको छ । बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा उम्मेदवार समेत रहेकी खड्को बागलुङ नगरपालिका—२ लालीगुराँस चोकमा घरमा गयराती करिब पौने ११ बजेको समयमा विस्फोट भएको हो ।

घरको भुइँतलामा गराइएको विस्फोटबाट पर्खाल भत्किएको छ । कुनै प्रकारको मानवीय क्षति भने भएको छैन । निर्वाचनको मुखैमा आएर गरिएको बम विष्फोटन बिप्लव समूहले गरेको हुनसक्ने आशंका गरिए पनि त्यसको पुष्टि भने भएको छैन । गन पाउडरको प्रयोग गरेर विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । ‘एउटा भाँडोमा गन पाडर राखेर धमाका गरेर तर्साउनका लागि मात्रै विस्फोट गराएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रवक्ता डिएसपी विश्वराजसिंह थापाले भने, ‘कसले विस्फोट गराएको भनेर भन्न सकिने अवस्था छैन । हामी अनुसन्धानकै क्रममा छौं ।’

मन्त्रीकै घरमा बम विस्फोट हुनुमा सुरक्षा कमजोरी भएको समेत उनले स्वीकार गरे । ‘सोमबार धेरै मान्छेहरु भेट्न आएका थिए भन्ने सुनियो, सबैलाई सहजै एक्सेस दिनु हाम्रो सुरक्षा कमजोरी भएको छ,’ उनले भने,‘त्यस बखत ड्युटिमा खटिएका प्रहरीलाई कारबाही गर्दैछौं । उनीहरुलाई फिर्ता बोलाएर नयाँ टोलीलाई मन्त्रीज्यूको सुरक्षाका लागि खटाएका छौं ।’ निर्वाचन बिथोल्न र अपराधिक गतिविधि गर्ने समूहको निगरानी बढाईएको समेत डिएसपी थापाले बताए ।

विस्फोटको घटनापछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राज्यमन्त्री खड्काले लोकतन्त्रको रक्षा र महिला अधिकारको लडाईँ बमको धमाकाले नरोकिने उल्लेख गरेकी छन् ।

गत कात्तिक ३० गते गल्कोटको हटियामा भएको बामगठबन्धनको आमसभामा स्थल नजिकै पनि बम बिष्फोटनको आवाज आएको थियो भने बडीगाड गाउँपालिका ५ न्वारमामा वडा सदस्यको निवास नजिकै फेला परेको सुतली बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय बनाएको थियो । बागलुङ जिल्लामा निर्वाचनलाई लक्षित गरी अहिलेसम्म दुई वटा बम बिस्फोट भैसकेको छ भने एउटा बम नपड्केको अवस्थामा फेला परेको छ ।

प्रकाशित: ५ मंसिर २०७४ ०२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App