४ वैशाख २०८१ मंगलबार
समाज

भारतीय क्षेत्रबाट गैंडाको उद्धार

डुंगामा राखेर भारतको प्रिपासी भरपतीया क्षेत्रबाट उद्धार गरेर चितवन राष्ट्रिय निकुञ्ज ल्याइँदै एकसिंगे गैंडा । गत साउन महिनाको अन्तिममा आएको बाढीमा बगेर गैंडा सीमावर्ती भारतीय क्षेत्रमा पुगेको थियो । फोटो सौजन्यः पुरुषोत्तम पाण्डे÷ चितवन निकुञ्ज ।

चितवन- गत साउनको अन्तिममा आएको बाढीले बगाएर भारत पुगेका चितवन राष्ट्रिय निकुञ्जको दुर्लभ एकसिंगे गैंडाको उद्धार अझै जारी छ । बगेर गएको १० औं र भारत पुगेको नवौं गैंडाको उद्धार गर्ने काम अरूभन्दा केही फरक भयो । भारतमा बेहोस पारेर नेपाल ल्याउने क्रममा गैंडालाई केही बेर डुंगामा चढाउनु परेको थियो ।
    चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार नेपालबाट करिब ७० किलोमिटर पर भारतको बिहार र उत्तरप्रदेश राज्यको सीमा क्षेत्र गण्डक नदीको भंगालो प्रिपासीको भरपतीया पुगेको गैंडालाई आइतबार नियन्त्रणमा लिइएको थियो । सो गैंडालाई सोमबार बिहान सबेरै चितवन निकुञ्जको सौराहा ल्याएर जंगलमा छाडिएको छ ।
    ‘नदीको भंगालो तर्न गैंडालाई डुंगामा नै राख्नुपरेको थियो,’ कँडेलले भने । सो गैंडा वयस्क पोथी भएको उनले बताए । यसअघि कात्तिक २३ मा मात्रै नवलपरासी त्रिवेणीसँग जोडिएको भारतको वाल्मिकि टाइगर रिजर्बको मदनपुर क्षेत्रमा पुगेको वयस्क पोथी गैंडालाई चितवन निकुञ्जको टोलीले उद्धार गरेको थियो । सो गैंडा नेपाली सिमानाभन्दा ३० किलोमिटर पर पुगेको थियो ।
गएको साउन २८ मा निकुञ्ज भएर बग्ने नारायणी र राप्ती नदीमा ठूलो बाढी आएको थियो । सो बाढीमा बगेर निकुञ्जका गैंडाहरू भारतीय क्षेत्रमा पुगेका थिए । यसरी बगेकामध्ये अहिलेसम्म भारतबाट नौ र नेपालबाट एक गैंडाको उद्धार गरिएको छ । अझै केही गैंडा नेपालकै त्रिवेणी क्षेत्रमा देखिएको निकुञ्जका कँडेलले जानकारी दिए ।
    साउनको बाढीपछि भारतीय क्षेत्रमा गैंडा देखिएको भन्ने भारतीय वन अधिकारीकै सूचनाका आधारमा निकुञ्जको टोली गएको साउन ३२ गते गैंडाको खोजीमा गएको थियो । टोली साउन २० गतेसम्म २१ दिन भारतीय क्षेत्रमा बस्दा आठवटा गैंडाको उद्धार गरेको थियो । पहिलोपटक भदौ १ गते नेपाली सिमानाभन्दा ४२ किलोमिटर पर भारतको बगाहा क्षेत्रबाट एउटा पोथी गैंडाको उद्धार गरिएको थियो ।
    त्यसपछि भदौ ४, ५, ६, ९, १०, १५ र १६ गते एक–एकवटा गैंडाको उद्धार भएको थियो । भदौ १० मा नेपालको त्रिवेणी क्षेत्रमा भेटिएको एउटा भाले बच्चा गैंडाबाहेक अरू सबै गैंडा भारतीय क्षेत्रबाट उद्धार गरिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । भारतीय क्षेत्रबाट उद्धार भएका गैंडाहरू सबै वयस्क पोथी हुन् ।  उद्धार गरिएका सबै गैंडा ट्रकमा राखेर ल्याइन्छ र सौराहानजिकको जंगलमा छाडिएको छ ।
    एकसिंगे गैंडा विश्वमा लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो । नेपालमा ६४५ वटा एकसिंगे गैंडा छन् । सबैभन्दा धेरै ६०५ वटा गैंडा चितवन निकुञ्जमा छन् ।     नयाँ वासस्थान र मानवबस्तीनजिक पुगेको गैंडा अक्रामक हुने र मान्छेसँग जम्काभेट भएमा आक्रमण गर्ने खतरा हुन्छ । यसका साथै तस्करको फन्दामा पर्ने डर पनि उत्तिकै हुन्छ ।
तस्करहरूले गैंडाको नाकमाथि हुने सिंगजस्तो वस्तु खागका लागि यसलाई मार्ने गर्छन् । गैंडा मार्नु कानुनी अपराध हो । गैंडा मारेमा पाँचदेखि १५ वर्षसम्म कैद वा पाँचदेखि १० लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । त्यसैले गैंडा देखेमा नजिकको प्रहरी कार्यालय वा निकुञ्जको पोस्ट र मध्यवर्ती उपभोक्ता समितिका कार्यालयहरूमा जानकारी दिन निकुञ्ज कार्यालयले सर्वसाधारणलाई अपिल गरेको छ ।

 

प्रकाशित: ५ मंसिर २०७४ ०३:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App