४ वैशाख २०८१ मंगलबार
अन्य

नअघाइने अन्नपूर्ण बेस क्याम्प

यात्रा जीवनको सबैभन्दा मीठो अनुभव हो । मौका पाउनेबित्तिकै म यो अनुभव लिन हौसिहाल्छु । प्रायः यात्रा गर्दा म योजना बनाएरै हिँड्न रुचाउँछु तर यस पटक अचानक नै अन्नपूर्ण बेस क्याम्प जाने मौका जुर्यो ।
यस यात्रामा मलाई एलिना केसीले साथ दिइन्, जो मेरो गाइड थिइन् । गत कात्तिक ११ गते बिहान ७ बजे मेरो यात्रा सुरु भयो । हिले, उल्लेरी हुँदै वनठाँटी हुँदै फोर सिजन होटलमा बास बस्न जाँदा झण्डै सात घण्टा लगातार यात्रा गरेछौँ । यति लामो पैदल यात्रा मैले जीवनमा कहिल्यै गरेकी थिइनँ तर पनि गलेको अनुभूति भएन ।
भोलिपल्टै हामी घोडेपानीका लागि हिँड्दै थियौँ । घोडेपानीमा स्नो भ्यु लजमा पुग्दा म अचम्मित भएँ किनभने त्यहाँ संसारका प्रायः सबै मुलुकबाट पदयात्राका लागि आएका एउटा ठूलो हुल त्यहाँको वातावरणबाट मुग्ध हुँदै एकअर्कालाई अँगालो हालेर खुसी बाँडिरहेका थिए ।
हामी खुसी खोज्दै कहाँकहाँ पुग्दैनौँ तर विदेशीहरु भने खुसी खोज्दै नेपालका छहरा र पहरा आइपुग्छन् । म त्यहाँ पुग्दा अचम्मै भयो, केही बेरमै हिमपात भएर नाङ्गा डाँडाहरु हिउँले छपक्कै छोपिए र सेताम्य बने । अचानक हिउँ परेपछि अन्नपूर्ण बेस क्याम्पसम्मको मेरो यात्रा यहीँ पूर्णविराम लाग्ने हो कि भनेर केहीबेर त दिक्क पनि लाग्यो ।
मानिस आउजाउको क्रम बढिरहेको थियो । घोडेपानीमा भएका २२/२३ वटा होटल पूरै भरिभराउ थिए र बस्ने ठाउँ नपाएर पर्यटकहरु फर्किरहेका थिए ।
भोलिपल्ट हिमपात रोकियो र मिर्मिरे बिहानी हुनुअघि नै पुनहिलका लागि यात्रा सुरु ग¥यौँ । २६७४ मिटरबाट हामी ३२१० मिटर उचाइमा हामी पुग्यौँ र सूर्य उदयको अद्भूत ‘नजारा’को दर्शन पायौँ । मैले पोखराको सराङकोट, इलामको अन्तुडाँडाबाट सूर्योदयको कहानी सुनेकी छु तर यति मीठो तरिकाले सूर्य उदाउने यो जस्तो मनोहर ठाउँ सायदै कतै होलाजस्तो लाग्यो । यहाँ सूर्य उदाउँदा आकाशमा पूरै सुनका दाना छरिएर पहेँलो भएको दृश्य अद्भूत थियो ।
यो मनोहर दृश्यका कारण युवा जोडीहरु एकअर्कालाई अँगालो हालेर भाव विह्वल भइरहेका थिए । जतिसुकै रमाइलो ठाउँ भए पनि छाडेर अघि बढ्नै पर्छ । यो ठाउँ छाड्ने मन पटक्कै थिएन तर लक्ष्य अन्नपूर्ण बेस क्याम्प भएकाले छाडेर अघि बढ्नै पर्यो ।
यात्रामा हुनेहरुका लागि मौसम कति महत्वपूर्ण हुँदोरहेछ भन्ने मैले चाल पाएँ । थोरै मात्र मौसमको गडबडी हुनासाथ मनोरम दृश्य छुट्ने रहेछ । लक्ष्यमा पुग्न नसकिँदोरहेछ । त्यसैले मौसमले साथ देओस् भन्ने कामनाका साथ हामी देउरालीका उकाली चढ्यौँ । महाभारतकालमा पाण्डवहरुले यही बाटो हुँदै मुक्तिनाथ दर्शन गर्न पुगेका थिए भन्ने कथा आउँदा मन एकैचोटि महाभारतकालमा पुग्थ्यो ।
देउरालीबाट वनठाँटी, टाढापानी हुँदै ओरालो झरेर चिउले पुग्यौँ । साँझ ४ः१५ मा त्यहाँ पुग्दा आफूलाई सिङ्गो कोठा खोजेँ तर त्यहाँ एक जनाले सिङ्गो कोठा नपाउने रहेछ । त्यसैले एक जना कोरियाली महिला जीनसँगै मिलेर बस्नु पर्यो ।
उनीसँगको बसाइ स्मरणीय रह्यो किनभने यात्राका क्रममा लगभग म तीन घण्टा रुझ्दै होटल आइपुगेकी थिएँ । जाडोले कामिरहेको देखेर कोठाकी सहयात्री जीनले भनिन्, ‘न्यानो लुगा लगाउनुस् नत्र त तपाईंलाई चिसोले दुःख दिन्छ ।’ त्यसपछि त उनले मलाई आफ्नो ह्यान्ड वार्मर मात्र होइन, अन्य कुराको पनि ख्याल राख्न थालिन् । मैले उनको सहयोग लिन्न भन्दा पनि जोड दिन थालिन्, ‘असजिलो नमान किनभने तिमी लामो यात्रामा छौ । लामो यात्रामा सहयोग लिनु पर्छ । मसँग अर्को पनि छ, मेरो चिन्ता नलेऊ ।’
लाग्यो, ओहो जीवनमा पराई र विदेशी ठानेको मान्छे पनि सँगै हुँदा कति आत्मिय हुँदारहेछन् ! उनको सहयोगी भावना देखेर मेरो आँखा रसायो ।
अर्को दिन ८ बजे बिहान हामी भुजुरुङ खोला, दुरबिन डाँडा, छुमरोङ, तल्लो सिनवा हुँदै माथिल्लो सिनवा पुग्यौँ । यो करिब २३४० मिटर उचाइमा रहेछ । म र मेरो टुर गाइड एलिना माथिल्लो सिनवा पुगेर तल हेर्दा त कुनै ग्ल्यामर म्यागेजिनको रङ्गीन तस्बिरजस्तो मनोहर दृश्य देखियो । न त्यसलाई क्रप गर्नुपर्ने, न फोटोसप गरेर मिलाउनुपर्ने ! मनै लोभ्याउने डाँडाकाँडा देखेपछि लाग्यो, किन विदेशीहरु मरिमेटेर यहाँ नआऊन् ! किन खुसी नहोऊन् !
माथिल्लो सिनवामा पनि कोठा सेयर गर्नु पर्यो । यसपालि मसँग कोठामा चिनियाँ युवती मोनिका थिइन् । २०/२२ वर्षकी उनी अन्नपूर्ण बेस क्याम्पबाट फर्केर बास बस्न आएकी रहिछन् । राती धेरै बेरसम्म अन्नपूर्ण बेस क्याम्पदेखि दोभान, माछापुच्छे बेस क्याम्प, ब्याम्बोको वर्णन गरिरहिन् । उनले मलाई चक्लेट दिइन् र भनिन्, ‘पहिलो यात्रामा हुनुहुँदो रहेछ, यो चक्लेट काम लाग्छ ।’
यस क्षेत्रमा यात्रामा रहेका हर व्यक्तिमा सहयोगी भावना देखेर मलाई उदेक लाग्यो । सायद यो क्षेत्रमा कुनै अदृश्य शक्ति पक्कै हुनुपर्छ, जसले सबै पर्यटकले एकअर्कालाई सहयोगका लागि प्रेरित गरिरहन्छ । मलाई साँच्चैको तपोभूमिजस्तो लाग्यो यो क्षेत्र ।
बिहानीपख माथी यसो टाउको उठाएर हेर्दा चाँदी जस्तै झलल टल्केको अन्नपूर्ण गन्र्धव चुली, हिमचुली हेर्नेबित्तिकै क्यामरा झिकेर मन अघाउन्जेल फोटो खिच्न मन लाग्ने । यसपछि हाम्रो यात्रा देउरालीतिर थियो । बाटामा ब्याम्बो दोभान, हिमालय, हिउँगुफा हेर्दै हामी ३२०० मिटर उचाइमा रहेको देउराली पुग्यौँ ।
बाटोमा ठूला हिम केभ, धेरै ठाउँमा हिम पहिरो गएकोले हिँड्न अप्ठेरो बाटो देखियो । बेलाबेलामा आउने हिउँ पहिरोले ठाउँ चिप्लो थियो । हिजोसम्म भएको पुल आज बगाउने, पहिरो आइहाल्ला कि भन्ने डरले सताइरहने ठाउँ रहेछ यो । त्यसैले छिटोछिटो बाटो पार गर्ने हतारो हुने रहेछ ।
करिव ४ः३० बजे हामी देउराली पुग्यौँ । त्यहाँ पनि सिङ्गो कोठा पाइएन । भर्खरका जोडी एउटा बेडमा म अर्को बेडमा कोठा सेयर गर्नुपर्यो । कुनै पनि ठाउँमा पुग्नेबित्तिकै चिसो लुगा फेरेर न्यानो लुगा लगाएर डाइनिङमा गएर बस्थ्यौँ । अनि त्यहाँ आएका पाहुनासँग परिचय साटासाट गथ्र्यौं । जीवन शैली, कला, संस्कृति र आ–आफूलाई लागेका भावना व्यक्त गथ्र्यौं । यात्राको सबैभन्दा रोचक पाटो चाहिँ प्रायः हरेक दिन नयाँ साथी फेला पर्थे । एकै छिनमा गहिरो मित्रता गाँसिन्थ्यो र ती छुट्थे ।
यो यात्रामा मैले अनुभव गरेको चाहिँ प्रायः सबैजसो जोडी भएर या समूहमा आएका हुन्थे । म मात्रै एक्लै यात्रामा निस्केकी थिएँ । एक्लै घुम्न निस्केको भन्दा सबै अचम्म मान्थे ।
भेट भएका सबै विदेशीले मलाई भाग्यमानी भन्थे । उनीहरुको भनाइ हुन्थ्यो, ‘तिमी यति सुन्दर देशमा जन्मिएकी छ्यौ । मौकामा एभरेस्ट बेस क्याम्प जान नछुटाऊ है !’ उनीहरुले मलाई उपल्लो मुस्ताङ जान पनि सुझाउँथे । खासगरी उपल्लो मुस्ताङ सुन्दर ठाउँ भएर पनि विदेशीले बढी रकम तिर्नुपर्दाको गुनासो सुनाइरहेका हुन्थे ।
देउरालीबााट माछापुच्छे बेस क्याम्प पुग्दा त्यहाँको बाटोमा पहेँलो जौजस्ता घाँस, ठूल्ठूला पत्थर, ती पत्थरका कापबाट फुटेका कञ्चन पानीका मूल देख्दा मन त्यसैत्यसै रमाउँथ्यो । भित्र कतै गीतहरु फुर्न थाल्थ्यो । ‘हिमालको काखमा छ सानो मेरो गाउँ...’ गुन्गुनाइरहन्थ्यो मनले ।
हिमचुली, अन्नपूर्ण साउथ, माछापुच्छे, टेन पिक आदि हिमशिखर हेर्दै गार्लिक सुप, नूडल सुप खाँदाको आनन्द बयान गरिसाध्य छैन । माछापुच्छे बेस क्याम्पपछि मुख्य गन्तव्य अन्नपूर्ण बेस क्याम्प ठाडो उकालो लाग्नु पर्छ । ६ दिन लगातार हिँडाइले होला, लामो यात्राको बानी नै परिएछ । यात्रा र यात्रामा भेटिएका नयाँ नयाँ साथीका कारण समय मिलिक्कै बितेको पत्तै नहुने । यसरी बाटामा हरेक दिन नयाँ नयाँ साथी बनाउँदै छैटौँ दिन हामी अन्नपूर्ण बेस क्याम्प पुग्यौँ ।
यहाँ बास बस्न नपाइएला कि भन्ने डर थियो तर ईश्वर कृपाका कारण एक जना पाहुना देउरालीमा नै बिरामी परेकाले मलाई बस्ने ठाउँको अभाव भएन । ठूलो हलमा अमेरिकाको एउटा जोडी र म मात्र भयौँ । यहीँ मैले एउटा अद्भूत दृश्य देखेँ । एकातिर सूर्य अस्ताइरहेको छ र हिमाल रातो हुँदैछ । अनि त्यही हिमालसँग लुकामारी खेल्दै चन्द्रमा उदाइरहेको छ । यस्तो अद्भूत दृश्य मैले कहिल्यै देखेकी थिइनँ ।
घरबाट हिँडेको सातौँ दिन अन्नपूर्ण बेस क्याम्प छाड्नु पर्ने भयो । भर्खरै बिहे गरेर माइती छाड्नुपर्ने बाध्यतामा रहेकी चेलीजस्तो मेरो अवस्था थियो, धित नमर्दै अन्नपूर्ण बेस क्याम्प छाड्नुपर्ने । यसपछि त छोमरङमा बास बसी झिन्दु हुँदै लान्द्रुक र पोखरा अनि नवौँ दिनमा हामी काठमाडौँ आइपुग्यौं ।
दसैँको बेला सपरिवार हामी इन्डोनेसियाको भ्रमणमा थियौँ । त्यहाँभन्दा बढी रमाइलो मलाई अन्नपूर्ण बेस क्याम्प पुग्दा भयो । विदेशभन्दा साँच्चै रमाइलो रहेछ नेपाल त !

(नागरिक परिवारबाट साभार)

खुशी 66.7%
दुखी 16.7%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 16.7%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App