१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निशीखोला गाउँपालिका अध्यक्षमाथी बम प्रहार

बागलुङ- जिल्लाको निशीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलमाथी बम प्रहार भएको छ। मंगलबार दिउँसो निशीखोला—३ मा नेपाली काँग्रेसका लागि मत मागेर झिँवाखोला बजार फर्कने क्रममा उनी सहितको टोलीमाथि बम प्रहार भएको हो।

निशीखोलाको याङम्याङमा गएर झिवाखोला बजारतर्फ फर्कने बेला अध्यक्ष पौडेल सहित नेपाली कांग्रेस वडा नं ३ का सभापति साजमान बुढा, रेशम चन्द सहितको टोलीलाई लक्षित गरी  दिउसो करिब ३: १५ को समयमा बम प्रहार भएको अध्यक्ष पौडेलले बताए। ‘हामी झिवाँखोलातर्फ फर्कदै थियौं,’ अध्यक्ष पौडेलले भने,‘जंगलको छेउमा माथिबाट हाम्रै अगाडी बम खसेर केही तल पुगेर विस्फोट भयो ।’ भिरालो ठाउँमा भएकाले कुनै क्षति नभएको उनले बताए । ‘भिरालो ठाउँमा भएकाले बम पल्टिदै गएर तल पुगेर पड्कीएकाले हामीलाई कुनै क्षति भएन,’ उनले भने,‘कसले फालेको हो भन्ने थाहा पाउन सकिएन ।’

घटनाबारे थाहा पाएपछि प्रहरी त्यसतर्फ प्रस्थान गरे पनि साँझ परेकाले त्यहाँ पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपी विश्वराजसिंह थापाले बताए । ‘जंगलको छेउ टाढा परेकोले प्रहरीले आज पुग्न नसक्ने भनेको छ,’ उनले भने,‘अध्यक्षज्यूहरु सुरक्षित हुनुहुन्छ। भोलि उज्यालो भएपछि त्यहाँ गएर आउनु भनेको छु।’ केही दिन यता बागलुङमा श्रृङ्खलाबद्ध बम विस्फोटका घटना बढेका छन्। केहि दिन अगाडि सोही जंगलमा अपरीचित समूहले मतदाता शिक्षा कर्मचारीलाई आक्रमण गरेर नमुना मतपत्र र पोस्टर च्यातेका थिए। सोमबार मात्रै सहकारी तथा गरिबी निवारण राज्यमन्त्री एवं बागलुङ क्षेत्र नं १ का प्रतिनीधि सभातर्फ नेपाली काँग्रेस उमेदवार चम्पादेवी खड्काको घरमा बम बिस्फोट भएको थियो।

 

प्रकाशित: ५ मंसिर २०७४ १३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App