७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रमुख अजेन्डा ‘राजधानी’

विराटनगर- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला मत माग्दै हिँड्दा अधिकांश मतदाताले सोध्छन्, दुई पटक जित्नुभयो, केके काम गर्नुभयो ? मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार कोइराला मतदातालाई सम्झाउँदै भन्छन्, ‘थुप्रै काम गरेको छु। ढल–नाला निर्माण, ६ लेनको सडक, चक्रपथको कालोपत्रे।’

            उनका प्रतिद्वन्द्वी एमाले उम्मेदवार लालबाबु पण्डितलाई भने मतदाताको गुनासो सुन्नुपरेको छैन । किनकि उनी मोरङको यो क्षेत्रबाट पहिलोपटक उम्मेदवार बनेका हुन् । त्यसैले पण्डितले मतदातासमक्ष आफ्ना विकासे योजनाको आश्वासन बाँडिरहेका छन् । कांग्रेसको आधार क्षेत्र रहेको मोरङ–६ मा उम्मेदवार कोइरालाकोे पहिलो अजेन्डा हो, ‘विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउने ।’ एमाले उम्मेदवार पण्डित पनि यही मुद्दाले यो क्षेत्रको मतदातालाई लोभ्याउन खोजेका छन् ।

            प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणअन्तर्गत मंसिर २१ गते तोकिएको निर्वाचनमा मोरङ ६ मा १ लाख १० हजार ३ सय २२ मतदाता छन् । मोरङको सुन्दरहरैंचा नगरपालिकाको २ देखि ७ सम्मको वडा, बूढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिकाका ४, ५, ६, ७, ९, ११ र १२ नम्बर वडा समेटेर निर्वाचन क्षेत्र नम्बर ६ बनाइएको छ । देशभरमै सबभन्दा बढी ६ लाख ४४ हजार ७ सय ८३ मतदाता रहेको मोरङमा ९ निर्वाचन क्षेत्रबाट ६ झारिएको छ ।

पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन क्षेत्र नम्बर ७ मा कांग्रेसका उम्मेदवार कोइराला मधेसी जनअधिकार फोरमका उम्मेदवार विजयकुमार गच्छदारसित पराजित भएका थिए । मोरङ र सुनसरी दुवै क्षेत्रबाट जितेका गच्छदारले मोरङ क्षेत्र त्यागेपछि भएको उपनिर्वाचनमा कांग्रेसका कोइरालाले फोरमका उम्मेदवार चुमनारायण तवदारलाई पराजित गरेका थिए ।

दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका कोइरालाले गच्छदारलाई नै हराए । यी तीनवटै निर्वाचनमा तेस्रो र चौथो मत पाएको एमालेले भने अहिले कोइरालाकै गढमा कडा चुनौती दिइरहेको छ । रोचक के छ भने उपनिर्वाचनमा कोइरालाका प्रतिस्पर्धी रहेका फोरमका तवदार कांग्रेसबाट उनकै क्षेत्र ६ (क) का प्रदेशसभाका उम्मेदार हुन् ।

            मोरङ कांग्रेसको राजनीतिमा कोइराला परिवारको प्रभाव र बिपी–गिरिजा कोइरालाका भतिजा शेखरलाई भने निर्वाचनमा पार्टी र सरकारको शीर्ष नेतृत्वसम्म पुग्ने नेताका रुपमा पनि प्रचार गरिएको छ । सामान्य प्रशासनमन्त्री हुँदा गरेका काम र छविका कारण लोकप्रिय रहेका एमाले उम्मेदवार पण्डितको चुनावी प्रचार पनि आक्रामक छ ।

 मधेसी, थारू र पहाडी मतदाता बाहुल्य मोरङ ६ मा विजय गच्छदार कांग्रेस प्रवेशले कोइरालालाई ‘सहज’ भएको विश्लेषण पनि गरिएको छ । मधेसी समुदायका एमाले उम्मेदवार पण्डित पनि थारू–मधेसीकै मत तान्न कसरत गरिरहेका छन् ।

            तर, पण्डितको क्रेजले मतदाता लोभिन सक्ने अनुमान पनि गरिन्छ । कोइरालालाई आफ्नै पार्टीभित्रको असन्तुष्टि, जातीय सन्तुलन र महानगरको मतलाई स्थिर राखिराख्ने चुनौती छ । एमाले उम्मेदवार पण्डितलाई पनि पार्टीभित्रको असन्तुष्टि, गुटगत असहयोग, निर्वाचन क्षेत्र परिवर्तन र थारु–मधेसी मतदातामा रहेको एमालेविरोधी छवि हटाउन चुनौती छ । मोरङ–६ मा माओवादी केन्द्रको मत पनि जोडिएपछि पछिल्ला निर्वाचनभन्दा एमालेको स्थिति बलियो बनेको छ ।

पण्डितले  २०४८ र २०५६ सालमा मोरङ ३ बाट चुनाव जितेका थिए । उनी पहिलो संविधानसभामा समानुपातिक सभासद् थिए । पण्डितलाई ‘अप्ठ्यारो’ क्षेत्रबाट उम्मेदवार बनाएकोमा पार्टीमा माधवकुमार नेपाल समूह असन्तुष्ट छ । पण्डितले दुईपटक जितेको मोरङ क्षेत्र नम्बर ३ मा भने एमालेका तेह्रथुमका नेता भानुभक्त ढकाललाई उम्मेदवार बनाएको छ । पार्टीका सचेतक भइसकेका ढकाल एमालेमा ओली समूहका मानिन्छन् ।

 

प्रकाशित: ६ मंसिर २०७४ ०१:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App