७ वैशाख २०८१ शुक्रबार
राजनीति

मतदाता रिझाउन घरदैलोदेखि खेत सम्म पुग्दै उम्मेदवार

सप्तरी निर्वाचन क्षेत्र नम्बर २(ख)बाट प्रदेश सभा तर्फ बाम गठबन्धका उम्मेदवार महेश यादव प्रचार प्रसार गर्दै। तस्बिर: नागरिक

राजविराज-  प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकदै जाँदा सप्तरीको चुनावी माहौल झन् तातेको छ। उम्मेदवारहरु घरदैलो अभियान सहितका गतिविधिलाई तिब्रता दिएपछि सदरमुकाम राजविराजसँगै जिल्लाको सुदुर ग्रामिण भेगमा पनि चुनावी चहल पहल निकै वढेको हो।

          गाउँको चौतारादेखि लिएर कृषि हाट सम्म, घरदेखि लिएर खेत सम्म चुनावकै चर्चा परिचर्चा छ। एकातिर कृषकलाई धान भित्र्याउने चटारो छ भने अर्को तिर उम्मेदवारहरुलाई घरदैलो देखि खेत सम्म पुगेर मतदाता रिझाउन भ्याईन भ्याई भएको छ।

यसपाली सप्तरीमा प्रतिनिधि सभाका लागि ४ तथा प्रदेश सभाका लागि ८ वटा निर्वाचन क्षेत्रहरु रहेका छन्। यस अघि सप्तरीमा ६ वटा निर्वाचन क्षेत्र रहेको थियो। निर्वाचन क्षेत्रको आकार र जनसंख्या बढेपछि उम्मेदवारका लागि चुनावी अभियान झन् खर्चिलो हुनुका साथै चुनौतिपूर्ण समेत बन्न पुगेको उम्मेदवारहरुकै भनाई छ।

          यसअघि निर्वाचनमा ६ मध्यै एउटा पनि निर्वाचन क्षेत्रमा मधेसवादीले जित हात पार्न सकेका थिएनन । यद्यपी पहिला संविधान सभामा भने सवै क्षेत्रवाट मधेसवादी दलकै उम्मेदवारहरु विजय भएका थिए। दोश्रो संविधान सभाको निर्वाचन यता भएका ठूला मधेस आन्दोलन तथा बदलिएको राजनीतिक परिदृश्यमा गुमाएको आफ्नो साख पुनः स्थापित गर्न मधेसवादी दलका नेता कार्यकर्ताहरु निकै सक्रियता पुर्वक लागेका छन्।

          अर्को तिर नेपाली कांग्रेस र बाम गठबन्धन पनि आफ्नो पछिल्लो चुनावी परिणामलाई निरन्तरता दिन तम्तयार देखिएका छन्। पछिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेस तथा मधेसवादी दलको तुलनामा अपेक्षाकृत कमजोर देखिएका एमाले र माओवादी केन्द्र पनि संयुक्त बाम गठबन्धन गठन गरेर निकै उत्साहपुर्ण अवस्थामै देखिएका छन्।   

          पछिल्लो संविधान सभा निर्वाचनमा ६ मध्यै माओवादीले ३, काँग्रेसले २ तथा एमालेले एक स्थानमा जित हात पारेको थियो । यद्यपी यसपाली भने यी ठूला दलहरुका लागि चुनौति भने सहज नरहेको स्थानीय जानकारहरुको भनाई छ। यद्यपी काँग्रेस तथा बाम गठबन्धनका उम्मेदवारहरु पनि आफ्नो स्थिती निकै मजबुत रहेको दावि गरिराखेका छन्।

          सप्तरीलाई आफ्नो पुरानो गढ मान्ने काँग्रेसीहरु हाल सप्तरीमा पुनः काँग्रेसको लहर देखिएको र आगामि चुनावमा काँग्रेसले ठूलो सफलता हात पार्ने दावि गरिरहेका छन् भने अर्को तिर एमाले र एकीकृत माओवादी पनि विभिन्न क्षेत्रमा अगाडी रहेको तिनका उम्मेदवार तथा नेताहरुको दावि छ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार समेत रहेका काँग्रेस सप्तरीका सभापति दिनेश यादवले पछिल्लो केहि समययता काँग्रेस प्रति मतदाताहरुको सोचमा साकारात्मक परिवर्तन आएको दवि गरे। मधेसवादीहरुलाई सघाउँदै लोकतान्त्रीक गठबन्धनलाई मजवुत पार्ने रणनीतिका साथ काँग्रेसले चुनावी अभियान थालेका हुनाले समेत आम मधेसी मतदाता काँग्रेसलाई संक्रमणकालिन राजनीतिमा अभिभावकत्व भुमिका प्रदान गर्ने पक्षमा रहेको उनको भनाई छ।

यता सप्तरीमा यसपाली एमाले माओवादीको संयुक्त बाम गठबन्धन निकै मजबुत स्थितीमा रहेको माओवादी नेता एवम् सप्तरी निर्वाचन क्षेत्र नम्बर १ का प्रत्याशी अशोककुमार मण्डलको भनाई छ । खासगरी सप्तरी निर्वाचन १, २, र ३ मा बाम गठबन्धनका उम्मेदवारहरुको कडा प्रतिस्प्रर्धामा रहेका छन्।

मधेसवादीहरु भने सप्तरी लगायत समग्र प्रदेश नम्बर २ मै मधेसवादीको पक्षमा ठूलो जनलहर रहेको दावि गरेका छन् । मधेसवादी दल प्रति देखिएको जनलहरकै कारण फोरम नेपालका राष्ट्रिय उपेन्द्र यादव कोशी पारीको मोरङ र सुनसरी छाडि सप्तरी आएको मधेसवादी नेता कार्यकर्ताहरुको भनाई छ । उपेन्द्र यादव सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लडिरहेका छन्।

 

 

प्रकाशित: ६ मंसिर २०७४ ०७:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App