प्रियंका, रिश्मा र केकीलाई क्रिटिक्स अवार्ड (फोटो फिचर)
काठमाडौं – अभिनेत्री प्रियंका कार्की, रिश्मा गुरुङ र केकी अधिकारीले क्रिटिक्स अवार्ड प्राप्त गरेका छन् । बुधबार नेपाल चलचित्र समीक्षक समाज (फिक्सन) ले आयोजना गरेको क्रिटिक्स अवार्ड वितरण समारोहमा उत्कृष्ट अभिनेत्री हुँदै उनीहरुले अवार्ड लिएका हुन् ।
फिक्सनले २०७१, २०७२ र २०७३ सालको क्रिटिक्स अवार्ड एकसाथ वितरण गरेको छ । प्राविधिक कारणले विगत तीन वर्षदेखि क्रिटिक्स अवार्ड रोकिएको थियो । फिल्म समीक्षकहरुका नजरमा उत्कृष्ट ठहरिएको फिल्म र कलाकारहरुलाई अवार्ड वितरण गरिएको हो । कार्यक्रममा निर्देशक यादव खरेलले २०७१ सालका विजेताहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरेका थिए । उनले सर्वोत्कृष्ट फिल्म ‘कबड्डी’, निर्देशक निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के), पटकथा रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी), अभिनेता दयाहाङ राई (कबड्डी), अभिनेत्री प्रियंका कार्की (सुन्तली), छायाङकन अन्ड्रा बेलिसिया (सुन्तली), सम्पादन बनिस शाह र मिलन श्रेष्ठ (तान्डव) र पाश्र्व संगीत जेसन कुँवर (टलकजंग भर्सेज टुल्के) लाई प्रदान गरेका थिए ।त्यस्तै चलचित्र विकास बोर्डका उत्तम केसीले २०७२ सालमा सर्वोत्कृष्ट फिल्म ‘पशुपति प्रसाद’, निर्देशक दीपेन्द्र के. खनाल (पशुपतिप्रसाद), पटकथा खगेन्द्र लामिछाने (पशुपतिप्रसाद), छायांकन शैलेन्द्र डी. कार्की (कबड्डी कबड्डी), अभिनेता सौगात मल्ल (फन्को) र अभिनेत्री रिस्मा गुरुङ (कबड्डी कबड्डी) लाई प्रदान गरेका थिए । कार्यक्रममा निर्देशक यादव खरेलले समीक्षकहरुले अवार्ड आयोजना गर्दा राम्रो फिल्ममेकरहरु प्रोत्साहित हुने बताएका थिए । ‘फिल्म हेरेर मूल्याङ्कन गर्ने समीक्षकहरुले आफ्नो पहलमा अवार्डको आयोजना गर्ने कुरालाई सकारात्मक रुपमा लिनुपर्छ । यसले राम्रा फिल्ममेकरहरुलाई राम्रो फिल्म बनाउन प्रोत्साहित गर्नेछ ।’
अभिनेत्री भुवन चन्द्रले २०७३ सालको सर्वोत्कृष्ट फिल्म ‘कालोपोथी’, निर्देशक दीपक रौनियार (सेतो सूर्य), पटकथा मीन भाम र अविनाश विक्रम शाह (कालोपोथी), सम्पादन डेभिड वार्कर (सेतो सूर्य), छायांकन अजिज जम्बाकिन (कालोपोथी), अभिनेता बिपिन कार्की (जात्रा) र माओत्से गुरुङ (पुरानो डुङ्गा) र अभिनेत्री केकी अधिकारी (लभ सासा)लाई प्रदान गरेकी थिइन् ।
‘फिल्म समीक्षकहरुले वर्षभरी रिलिज भएका फिल्महरुलाई मूल्याङ्कन गरेर उत्कृष्टलाई क्रिटिक्स अवार्ड प्रदान गरिएको हो । यसले नेपालमा निर्माण भइरहेका मैलिक कथामा फिल्म निर्माण गर्न प्रोत्साहन गर्नेछ भन्नेमा आशावादी छौं । समीक्षकले उत्कृष्ट भनेका फिल्म चर्चित हुनुपर्छ भन्ने छैन् । चर्चित भएका फिल्महरु उत्कृष्ट हुन्छन् भन्नेपनि होइन्,’ नेपाल चलचित्र समीक्षक समाजका अध्यक्ष यज्ञशले भने।