७ वैशाख २०८१ शुक्रबार
विचार

असफल नेताहरूको ‘सफल’ चुनाव

निर्वाचनको मुख्य उद्देश्य हो, असल र सक्षम जनप्रतिनिधिको छनौट हुन सकोस् । तर अहिलेसम्म पनि असफल नेताहरूकै हालिमुहाली चलेको छ । नेपालको सार्वभौमसत्ताका लागि नेपाली जनता सधँै रगत बगाउन तयार छन् । तर निर्वाचनको नाममा देशलाई नै दाउमा राख्ने कुरा सामान्यजस्तै बनेको छ । तीन पार्टीका नेताहरू कुनै न कुनै विदेशीको सहयोगमा उप्सिएका र कुनै न कुन गुप्तचर संस्थाको निर्देशनमा आफूहरूलाई महान् नेतासरह ठानेर चौतर्फी भाषण गरिहिँडेका छन् । भोज, भतेर र पैसाका बिटा बाँड्नु भनेको त सामान्य कुरा हो । तर पैसा बाँडेर र नचाहिँदा आश्वासन बाँडेर जसरी सरकारी सुरक्षासाथ भोट माग्दै हिँडेका छन्, यिनीहरूको विकल्पमा अरू नदेखेपछि यिनै भ्रष्टहरूले भोट जित्दैनन् भन्न सकिँदैन । यो परिस्थितिको अध्ययन गर्दा वैधानिक रूपमा हामी नेपालीहरूले देशलाई नउठ्ने गरेर ढाल्दै छौँ।

यहाँ निर्वाचनको विरोध गरेको होइन । प्रजातान्त्रिक देशको शासनसत्ता परिचालनका लागि निर्वाचन अनिवार्य हुन्छ । तर बितेका ११ वर्षमा यिनै नेताहरूबाट देशको अधोगति भयो भने अब फेरि यिनीहरूबाटै देशले गति पाँउछ, जनताको आधारभूत आवश्यकताको परिपूर्ति हुन्छ भनेर सोच्नु देशका लागि धोकासिवाय केही पनि होइन। 

विदेशी षड्यन्त्र र उनीहरूका गुप्तचरहरूको खेल बुझिनसक्नु हुँदोरहेछ । विदेशी गुप्तचरहरू कतिसम्म हुँदा रहेछन् भने सन् १९५०÷५१ तिर चीनमा माओत्सेतुङको नेतृत्वका बेला उत्तर कोरियामा आक्रमणका लागि दक्षिण कोरियाबाट छुटेको अमेरिकी फौजविरुद्ध चिनियाँ फौजलाई यालु नदी (चीन कोरिया सिमाना) मा आक्रमण गरेर अमेरिकी फौजले चिनियाँ फौजलाई हराएको थियो । यसको कारण थियो– माओत्सेतुङको स्वास्थ्य उपचारमा आएकी बाँड भन्ने नर्सको कारण । उनलाई अमेरिकी (सिआईए) ले पठाएको रहेछ । चिनियाँ फौज कहाँ, कसरी, कति आइरहेका छन् भन्ने कुराको गोप्य सूचना दिएकीले चीनका सुसज्जित फौजको हार भयो र त्यसै युद्धमा माओका जेठा छोराको समेत मृत्यु भएको थियो । यस्तो हुन्छ विदेशी गुप्तचरहरूको खेल। 

सोभियत रुस अमेरिकी गुप्तचर संस्थाकै विभिन्न षड्यन्त्रकै कारणबाट विखण्डन भयो । नेपालमा माओवादी, एमाले, कांग्रेस, जनजाति र मधेसीहरू विदेशी पैसा खाएर उनीहरूको निर्देशनमा हिँड्ने धेरै छन् । अहिले नेपालको मूल मुद्दा निर्वाचन मात्र होइन, निर्वाचनको माध्यमबाट भ्रष्टाचारी, विदेशीका भरियाहरू निर्वाचित भएर नआऊन् भन्ने हो । तर माहौल हेर्दा तिनै सिद्धान्तच्यूत नेताहरू नै निर्वाचित भएर आउँदै छन् । यसबाट हामी नेपालीहरूले बेलैमा होस पु¥याएनौँ भने भोलिका दिन आँसुका धारा बगाएर शरणार्थीजस्तो जीवन बिताएर बस्नुपर्ने बेला आउन सक्छ।          

नेपालको राष्ट्रियतालाई संरक्षण गरेर प्रजातान्त्रिक व्यवस्थालाई देश र जनताको हितमा परिचालन गरिनु नै निर्वाचित व्यवस्थाको मान्यता हो । तर नेपालमा निर्वाचन जसरी भइरहेको छ त्यो निकै खतरनाक देखिन्छ । हामी सधँै पीडित र सशंकित छौँ । उत्तरतर्फको राष्ट्र चीनले नेपाललाई खुलेर दुःख दिने काम नगरे तापनि नेपालमा भारतीयहरूको अत्यधिक चलखेल बढेकाले चीन पनि सशंकित बनेर नेपाल चीनको पनि चलखेल बढ्न लागेको छ । २०१५ सालको आमनिर्वाचनपछि नेपाली कांग्रेसका नेता बीपी कोइरालाको नेतृत्वमा सरकार गठन भए तापनि बीपी कोइरालासँगको मित्रताको साइनो लगाएर नेपालभित्र भारतीय सेना (चेकपोस्ट), नेपालको जमिन खरिदमा भारतीयहरूको सक्रियता, नेपाली भाषाको तेजोवध गर्न हिन्दी भाषाको प्रभाव, भारतीय मुद्राको चलनचल्ती गराएर नेपाली मुद्रा खोटा बनाउने रणनीति भारतको थियो । २००७ सालदेखि नै संविधानसभाबाट उसैबेला नेपाल विखण्डित गराउने भारतको रणनीति थियो । एकपछि अर्को गर्दै यस्ता खतरनाक चालहरू बढ्दै गएको छ र हस्तक्षेपकारी कार्य भइरहेका छन्।             

२०४८ सालदेखि २०६९ सालसम्मको समयकालको मूल्यांकन गर्दा पार्टीका नेताहरूले सत्ता कब्जा गरेर नेपालको राष्ट्रियता र प्रजातन्त्रको मूल्य–मान्यता बुझ्न सकेनन् । नेपालको दुर्भाग्य नै राजा महेन्द्र जस्ता देशभक्त र बीपी कोइराला जस्ता प्रजातान्त्रिक योद्धाको बीचमा मेलमिलाप हुन नसक्नु नै थियो । राजा महेन्द्र र बीपी जस्ता व्यक्तित्वहरू २००७ सालदेखि अहिलेसम्म पनि पाउन सकिएको छैन । बीपी कोइराला भारतमा निर्वासित अवस्थाबाट २०३३ पुस १६ गते राष्ट्रिय सहमतिको नीति लिएर नेपालमा फर्केका थिए । राजा महेन्द्रले २०१७ सालको घटना बीपी कोइरालाका लागि ताजै थियो । यद्यपि २०१७ सालको परिवर्तन निरंकुश नै भए तापनि नेपालको राष्ट्रियता सदृढीकरणको काण्ड थियो । राजा महेन्द्रसँग राष्ट्रवाद थियो भने बीपीसँग प्रजातन्त्रवाद थियो । राजा महेन्द्रको भनाइ थियो, ‘पार्टी व्यवस्थाले नेपाली जनतालाई मात्र विभाजित गर्ने होइन, देशलाई नै विभाजित गराउन सक्छ ।’ बीपीको भनाइ थियो, ‘प्रजातन्त्रविना राष्ट्रियता सुदृढ हुन सक्तैन।’

 २००७ सालपछिको राजनीतिक धरालतमा राजा महेन्द्र र बीपी कोइरालाबीच पछिका दिनहरूमा केही मतभिन्नता देखा परे तापनि आ–आफ्नो ठाउँमा यी दुवै इतिहासमा अविस्मरणीय पात्र बनेका छन् । अतः देशलाई यसरी चलाउने होइन । नेपाललाई युगयुगान्तरसम्म स्थिर र दिगो बनाउन राजा महेन्द्रको राष्ट्रवाद र बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादलाई समेटेर सञ्चालन गर्ने हो। 

हामी सबैले ध्यान दिनुपर्ने कुरा छ कि नयाँ ढाँचाबाट नेपालको राष्ट्रियतालाई विवादमा नआउने गरी चीन तथा भारतबीच सन्तुलित सम्बन्ध कायम गरेर नेपालको निर्माणमा सम्पूर्ण जनतालाई समान रूपमा परिचालन गर्न पार्टीभित्रका भ्रष्ट, गैरजिम्मेवार नेताहरू निर्वाचित हुन नसक्ने परिपाटी कायम गरेर मात्र अगाडि बढ्न सकियो भने मात्र सबै खतराबाट बाँचेर नेपालले गति लिन सक्छ। 

प्रकाशित: ७ मंसिर २०७४ ०३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App