६ वैशाख २०८१ बिहीबार
राजनीति

११,०२२ उम्मेदवार मैदानमा

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फ ५ हजार १ सय ८४ उम्मेदवार मैदानमा छन् । मंसिर १० र २१ मा दुई चरणमा हुने प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी ४ सय ९५ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
पहिलो चरणमा ३२ जिल्लामा हुने  प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी १ सय ११ जनप्रतिनिधि निर्वाचित हुनेछन् । यसै प्रणालीअन्तर्गत दोस्रो चरणको निर्वाचनबाट दुवै तहमा गरी ३ सय ८४ जनप्रतिनिधि चुनिनेछन् ।
प्रत्यक्ष निर्वाचनअन्गर्त प्रतिनिधिसभाका लागि सात प्रदेशबाट गरी १ हजार ९ सय ४५ र प्रदेशसभाका लागि सात प्रदेशबाट ३ हजार २ सय ३९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
प्रदेश नम्बर १ मा ३१ दलले प्रत्यक्ष चुनावमा भाग लिएका छन् । यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि २ सय ८७ र प्रदेशसभा सदस्यका लागि ४ सय ७० उम्मेदवार मैदानमा छन् ।
प्रदेश नम्बर २ मा ३७ दलले प्रत्यक्ष चुनावमा उम्मेदवार उठाएका छन् । यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि ५ सय ४२ सय र प्रदेशसभा सदस्यका लागि ९ सय ८५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
प्रदेश नम्बर ३ मा ४२ दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । त्यहाँबाट प्रतिनिधिसभा सदस्यका लागि ४ सय ५२ र प्रदेशसभा सदस्यका लागि ६ सय ३३ उम्मेदवार छन् ।
प्रदेश नम्बर ४ मा २६ दलले प्रत्यक्ष निर्वाचनमा भाग लिएका छन् । जहाँबाट प्रतिनिधिसभा सदस्यका लागि १ सय ५५ र प्रदेशसभा सदस्यका लागि २ सय ३७ उम्मेदवार मैदानमा छन् ।
प्रदेश नम्बर ५ मा ३१ दलले प्रत्यक्ष चुनावमा भाग लिएका छन् । यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि ३ सय २५ र प्रदेशसभा सदस्यका लागि ६ सय २ उम्मेदवार छन् ।
प्रत्यक्ष निर्वाचनमा १८ दलले भाग लिएको प्रदेश नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि ८१ र प्रदेशसभा सदस्यका लागि १ सय ३३ उम्मेदवार मैदानमा छन् ।
प्रदेश नम्बर ७ मा २० दलले प्रत्यक्ष चुनावमा भाग लिएका छन् । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि १ सय ६ र प्रदेशसभा सदस्यका लागि १ सय ७९ उम्मेदवार छन् ।
मंसिर १० मा पहिलो चरणअन्तर्गत ३२ जिल्लामा चुनाव हुँदैछ । ती जिल्लामा ३२ लाख २८ हजार ८७९  मतदाता छन् । बाँकी जिल्लामा दोस्रो चरणमा मंसिर २१ मा मतदान हुनेछ । दोस्रो चरणको निर्वाचनबाट प्रतिनिधिसभातर्फ १ सय २८ सदस्य र प्रदेशसभातर्फ २ सय ५६ सदस्य चुनिनेछन् ।
प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनबाट १ सय ६५ र समानुपातिकबाट १ सय १० सांसद चुनिने छन् । सातवटै प्रदेशसभातर्फ प्रत्यक्षबाट ३ सय ३० जना र समानुपातिकबाट २ सय २० सांसद निर्वाचित हुनेछन् । दुई चरणको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी ८ सय २५ जना प्रतिनिधि निर्वाचित हुनेछन् । नेपालमा अहिले कुल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ७ सय ३१ छ ।  
समानुपातिक उम्मेदवार ५ हजार ८ सय ३८  
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्यतर्फ २ हजार २ सय ७३ र प्रदेशसभातर्फ ३ हजार ५ सय ६५ गरी ५ हजार ८ सय ३८ उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।
समानुपातिकतर्फ प्रदेश नम्बर १ बाट ५ सय ७७, प्रदेश नम्बर २ बाट ८ सय ४, प्रदेश नम्बर ३ बाट ७ सय ७४, प्रदेश नम्बर ४ बाट ३ सय १९, प्रदेश नम्बर ५ बाट ६ सय ४, प्रदेश नम्बर ६ बाट २ सय ६ र प्रदेश नम्बर ७ बाट २ सय ८१ जनाको सूची राजनीतिक दलले आयोगमा बुझाएका छन् ।
तीन प्रतिशत मत ल्याउने दलले मात्र समानुपातिक सदस्य पाउनेछन् । समानुपातिकतर्फका लागि ५३ दलले बन्दसूची नामावली बुझाएका छन् ।

प्रकाशित: ८ मंसिर २०७४ ०२:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App