१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘हेलो ऊर्जा मन्त्रालय, प्राधिकरणका कर्मचारीले घुस मागे’

काठमाडौं- ऊर्जा मन्त्रालयले सञ्चालन गरेको ‘गुनासो’ मा दिनहुँ जनताका गुनासाका घन्टी बजिरहन्छन् । सेवा सञ्चालनमा आएको साढे दुई महिनमा एक हजार गुनासा आइसकेका छन् ।

ऊर्जा मन्त्रालयले गुनासो सुनुवाइ गर्न राखिएको ११५१ नम्बरमा आउनेमध्ये धेरैजसो गुनासा घुससँग सम्बन्धित हुने गरेका छन् ।

ऊर्जा मन्त्रालयले गुनासो सुनुवाइ गर्न राखिएको ११५१ नम्बरमा आउनेमध्ये धेरैजसो गुनासा घुससँग सम्बन्धित हुने गरेका छन् । ‘कर्मचारीले घुस मागे के गर्ने’ भन्नेजस्ता गुनासा धेरै आउने गरेको ऊर्जा मन्त्रालयका एक कर्मचारीले नाम नबताउने सर्तमा बताए । ग्राहकले घुस माग्ने कर्मचारीको नामसमेत दिएर समस्या समाधान गरिदिनुुप¥यो भन्दै गुनासो गर्ने गरेको ती कर्मचारीले बताए ।
यो निःशुल्क सेवामा मिटर नपाएको गुनासो पनि बढी आउने गरेको गुनासो सुनुवाइ शाखाका नायब सुब्बा शिव पौडेलले बिहीबार नागरिकलाई बताए । ‘सञ्चालन भएको सुरुका दिनमा घुस मागेको, मिटर नपाएको गुनासो पनि बढी आएका थिए,’ उनले भने, ‘त्यसपछि अन्य खालका गुनासा आउने गरेका छन् ।’ ऊर्जा मन्त्रालयका अनुसार विद्युत् कटौती, बिजुली चोरी, लोडसेडिङजस्ता गुनासा आउने गरेका छन् ।
भदौ १८ गते सरकारले ऊर्जासँग सम्बन्धित जनगुनासो तत्काल सम्बोधन गर्न टोल फ्री नम्बर ११५१ सञ्चालनमा ल्याएको थियो । हाल बिनाविभागीय मन्त्री रहेका तत्कालीन ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले ऊर्जासँग सम्बन्धित गुनासो तत्काल सम्बोधन गर्ने उद्देश्यले टोल फ्री नम्बरको थालनी गरेका थिए । सुरुमा बढी गुनासा आएका थिए । ‘सुरुसुरुमा व्यापक गुनासा आउने गरेका थिए,’ पौडेलले भने, ‘बिस्तारै गुनासा कम आउन थालेका छन् ।’
देशभरिबाट आएका गुनासा नजिकका नेपाल विद्युत् प्राधिकरणका शाखा कार्यालयमा पठाउने गरिएको जानकारी पनि पौडेलले दिए । ‘त्यसरी आएका गुनासालाई समाधान गर्ने प्रयास भइरहेछ,’ प्राधिकरणका एक उच्च कर्मचारीले भने, ‘धेरै जसो समस्या समाधान भए पनि केही समस्या भने समाधान गर्न नसकिने किसिमका छन् ।’
कर्मचारीले घुस मागेको भन्नेजस्ता गुनासोमा प्रमाणको अभावमा सम्बन्धित कर्मचारीलाई कारबाही गर्न नसकिएको जानकारी पनि उनले दिए । ‘हामीले पठाएका गुनासा कति कार्यान्वयन भए र भएनन् भन्ने खोजी हुन्छ, गुनासोेकर्ताले भइरहेको कारबाहीको विवरण पनि सजिलै पाउन सक्छन्,’ पौडेलले भने ।
‘कसले कस्तो उजुरी गर्छ भन्ने टुंगो हुँदैन, जे आए पनि टिपेर प्रक्रिया अघि बढाउँछौं,’ पौडेलले भने, ‘गुनासा आउनेबित्तिकै सम्बन्धित ठाउँमा पठाउँछौं र उसले के जवाफ दिन्छ त्यो पनि बुझिरहन्छौं ।’
टोल फ्री नम्बरले जनताको गुनासो सम्बोधन गर्ने दाबी तत्कालीन ऊर्जामन्त्री शाहीले गरेका थिए । उक्त सेवाले मुलुकको ऊर्जा क्षेत्रको विकासलाई व्यवस्थित, पारदर्शी र गतिशील बनाउन महŒवपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको थियो । जनतालाई सोझै सरकारसँग जोड्ने माध्यमका रूपमा पनि टोल फ्री नम्बर सेवालाई लिइएको छ ।
उक्त सेवाबाट मुलुकको ऊर्जा क्षेत्रको विकासमा जनताको सहभागिता सुनिश्चित हुने विश्वास ऊर्जा मन्त्रालयले गरेको छ । हटलाइन सेवा सञ्चालनका लागि चौबीसै घन्टा कार्यरत रहने गरी तीनतीनजनाका दरले कर्मचारी उपलब्ध गराएको छ ।
मुलुकभरका वितरण केन्द्रका कर्मचारीले उपभोक्तालाई राम्रो व्यवहार नगरेको, मिटर लिँदा घुस मागेको, ट्रान्सफर्मर बिग्रेको लामो समय हुँदा पनि मर्मत नगरेको जस्ता गुनासा सीधै ११५१ नम्बरमा फोन गर्न सकिनेछ । उक्त नम्बरमा एकैपटक तीनजनाले फोन गर्न सक्नेछन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेवाग्राहीलाई सहज रूपमा सेवा दिन र कुनै गुनासो भए सीधै सम्पर्क गर्न सहज होस् भनेर टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको जानकारी दिए ।
यसअघि बाबुराम भट्टराई नेतृत्वको सरकारले पनि हेलो सरकारको अवधारणा ल्याएको थियो । त्यसैको सिको गर्दै ऊर्जामन्त्री शाहीले यस्तो सेवा ल्याएका हुन् । भट्टराई प्रधानमन्त्री भएका बेला जनताका गुनासा सुन्न उनले हेलो सरकार सेवा सुरु गरेका थिए । उक्त सेवा १७ कात्तिक ०६८ मा स्थापना गरिएको थियो । गुनासोकर्ताले ११११ मा फोेन गरेर वा १११० मा फ्याक्स गरेर वा इमेल गरेर उजुरी गर्न सकिने व्यवस्था गरिएको थियो ।

प्रकाशित: ८ मंसिर २०७४ ०२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App