८ वैशाख २०८१ शनिबार
समाज

बल्दैनन् ट्राफिक बत्ती

– व्यवस्थापिका संसद्को विकास समितिले गत जेठ २६ गते उपत्यकामा पाँच महिनाभित्रै ट्राफिक बत्ती जडान कार्य अघि बढाउन निर्देशन दियो। 

– गत असार २ गते तत्कालीन गृहमन्त्री जर्नादन शर्माले ६ महिनाभित्रै काठमाडौंका दुई सय स्थानमा ट्राफिक बत्ती जडान गर्न मातहतका निकायलाई निर्देशन दिए। 

– विकास समिति र गृहमन्त्रीको निर्देशन कार्यान्वयन नभइरहेका बेला अघिल्लो साता प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्रमान गुरुङले सडक विभाग, काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरी निर्देशनालय, महानगरीय ट्राफिक प्रहरीमहाशाखा र काठमाडौं उपत्यका विकास प्राधिकरणलगायत निकाय प्रमुखलाई बोलाएर एक महिनाभित्रै थन्किएका ट्राफिक बत्तीलाई मर्मत गर्न निर्देशन दिए। 

उपत्यकामा वर्षाैंदेखि बिग्रिएर प्रयोग नभएका ट्राफिक बत्ती मर्मत–सम्भार र नयाँ जडानका लागि सरकारी निकायले पटक–पटक दिएका दिर्नेशनमध्ये केही उदाहरण हुन् यी। 

यसै वर्षको ६ महिनाभित्र संसदीय समिति र सरकारी निकायले ट्राफिक बत्तीसम्बन्धी तीनवटा निर्देशन दिइसकेका छन्। तर, संसदीय समिति र उच्च सरकारी अधिकारीको निर्देशनलाई बेवास्ता गर्दै मर्मत–सम्भारको जिम्मा पाएका निकायले भने हालसम्म ट्राफिक बत्ती मर्मतमा चासो दिएका छैनन्। 

ट्राफिक बत्ती सञ्चालन र मर्मतको जिम्मा सडक विभाग, सडक बोर्ड, काठमाडौं महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौं उपत्यका विकास प्राधिकरणलगायत निकायले लिनुपर्ने हो । तर, यी सबै निकाय एक–अर्कालाई दोष दिँदै जिम्मेवारीबाट पन्छिने गरेका छन्। 

उपत्यकामा जापान सरकारले सन् २००० ताका ट्राफिक बत्ती जडान गरिदिएको थियो । त्यसबेला जडान गरेका ट्राफिक बत्तीमध्ये हाल कुनै पनि सञ्चालनमा छैनन् । डेढ दशकअघि बानेश्वर, माइतीघर, थापाथली, सिंहदरबार, पुतलीसडक, केशरमहल, गौशालालगायत क्षेत्रमा प्रहरीको साटो ट्राफिक बत्तीमार्फत नै सवारी र पैदलयात्रु व्यवस्थापन हुने गथ्र्यो । अहिले तिनै स्थानमा दोब्बरदेखि पाँच गुणासम्म ट्राफिक प्रहरी खटिएर व्यवस्थापन गरिरहेका छन्। 

यी क्षेत्रमा सडक दुर्घटना संख्या समेत बढेको छ । सरकारी विवरणअनुसार उपत्यकामा १५ वर्ष अघिदेखि नै ट्राफिक बत्तीमार्फत सवारी र पैदलयात्रु व्यवस्थापन हुन थालिसकेको थियो । त्यसबेला उपत्यकाका २० स्थानमा ट्राफिक बत्ती जडान गरिएका थिए । अहिले २० मध्ये १७ स्थानका बत्ती कामै नलाग्ने भएका छन् । 

ट्राफिक इन्जिनियर आशिष गजुरेल भन्छन्, ‘सरकारले लोकप्रियताका लागि मात्रै निर्देशन दिने गरिरहेको छ,’ उनले भने, ‘पूर्वाधार निर्माणमा सिन्को नभाँच्ने र निर्देशन कार्यान्वयन नगर्ने प्रवृत्तिले उपत्यकामा ट्राफिक लाइट जडान हुन नसकेको हो।’ 

सचिव गुरुङले भने उपत्यकामा बिग्रिएको ट्राफिक बत्तीले सवारी आवागमनलाई प्रत्यक्ष प्रभावित पारेकाले निर्देशन दिएको बताए। 

‘जे जति सकिन्छ, त्यसैका आधारमा उपत्यकामा थन्किएका ट्राफिक बत्ती मर्मत–सम्भार गर्ने निर्णय गरेका छौँ,’ सचिव गुरुङले भने, ‘विज्ञसँग छलफल गरेर ट्राफिक बत्तीको व्यवस्थापन गर्ने निर्णय गरेका हौँ।’ 

उनले काठमाडौं उपत्यका दिगो सहरी यातायात आयोजनाले उपत्यकामा ‘इन्टेलिजेन्ट ट्राफिक सिग्नलाइजेसन’ गर्न असफल भएको बताए । उनले भने, ‘लागत इस्टिमेटभन्दा धेरै रकमको टेन्डर परेर ठेक्का हुन सकेन।’ 

सडक विभाग महानिर्देशक गोपालप्रसाद सिग्देलले सरकारी निकायको निर्देशनले मात्रै ट्राफिक बत्ती जडान गर्न असहज हुने बताउँछन् । ‘ट्राफिक बत्ती जडानका लागि विस्तृत अध्ययन र डिजाइन आवश्यक हुन्छ,’ उनले भने, ‘यो दीर्घकालीन योजना हो, हतारमा निर्माण गर्न सकिँदैन।’ 

सडक विभागले उपत्यकामा थन्किएका ट्राफिक बत्तीलाई फेरि सञ्चालनमा ल्याउन सकिन्छ भनेर विज्ञका समूहसँग छलफल गर्ने तयारी गरेको उनले बताए। 

प्रकाशित: ८ मंसिर २०७४ ०६:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App