४ वैशाख २०८१ मंगलबार
अन्य

‘नेपाललाई प्रकृतिले सिँगारेको छ’

प्रमोद खरेल, गायक
तपाईंलाई मनपर्ने सहर कुन हो ?

मलाई हाम्रै देशका सहर प्यारो लाग्छ । यहाँको जस्तो प्राकृतिक सौन्दर्य अन्तका सहरमा पाइँदैन । नेपालका सहरमध्ये पोखरा धेरै राम्रो लाग्छ । त्यस्तै, झापा र इलाम पनि मलाई मनपर्ने ठाउँ हुन् । यी सहरको बेग्लैखाले विशेषताले धेरैको ध्यान तान्छ। 

विदेशका कति सहर घुम्नुभएको छ ? 
अमेरिका, क्यानडा, बेलायत, अस्टे«लिया, जापान, साउथ कोरिया र गल्फ कन्ट्रीका सबैजसो सहर घुमेको छु । यी सहर धेरै विकसित छन् । 

ती सहर घुम्दा कस्तो महसुस भयो ?
मैले घुमेका विदेशी सहर विकास र प्रविधिमा धेरै अगाडि पाएँ । त्यहाँ नीति–नियमलाई पनि बलियो पारिएको छ । सहरवासीले सबैखाले सेवा–सुविधा उपभोग गर्न पाएका हुन्छन् । यति धेरै विषेशता बोकेका सहर घुम्न पाउँदा धेरै अनुभव बटुल्न पाएँ, रमाइलो लाग्यो । त्यहाँ विकास निर्माण गर्दा हरेक पक्षलाई ख्याल गरेको पाइन्छ। 

नेपालका सहर कस्तोे लाग्छ ?
नेपाल आफैँमा राम्रो छ । धेरै स्थानमा प्रकृतिले साथ दिएको । नेपालका कुनै पनि ठाउँलाई अरु देशका ठाउँ र सहरसँग दाँज्न मिल्दैन । हामीलाई नेपालको हरेक कुराले मन छुन्छ । यहीँ, हुर्केको, बढेको भएर पनि नेपाल नै प्यारो लाग्छ । विश्वका धेरै मुलुकका सहर मानिसले सुन्दर बनाएका हुन् । तर, हाम्रा सहर र ठाउँलाई प्रकृतिले नै सजाएको छ । यहाँका सहरले भिन्न विशेषता बोकेका छन् । नीति–नियम र विकासमा भने फरक पाउन सकिन्छ । विदेशमा सरकारी नीति–नियम चुस्त पारिएको हुन्छ । हाम्रोमा नीति–नियम एकदमै फितलो छ । 

नेपालका सहर विदेशी सहरजस्तै बन्न सक्दैनन् ?
किन नसक्नु ! बरु बाहिरी मुलुकका सहर हाम्रा सहरजस्तै बन्न सक्दैनन् । मौलिकताको कसीमा नेपालका सहर अति नै पृथक् छन् । सांस्कृतिक रूपमा हामी धनी छौँ । हाम्रो देशका सहर बनिसक्दा विदेशी मुलुकका सहर मरुभूमि थिए । मानिसकै सक्रियतामा आज ती सहर विकसित भएका छन् । हाम्रो सरकारी नीति–नियम राम्रो नभएरै सहरको विकास हुन नसकेजस्तो लाग्छ । 

उपत्यका कस्तो लाग्छ ?
विकास निर्माण भइरहेको देख्दा उपत्यका बन्छ जस्तो लाग्छ । तर, थालिएका विकास निर्माणले समयमै पूर्णता नपाएको देख्दा दुःख लाग्छ । काठमाडौं नेपालको धरोहर हो । यहाँ हाम्रा पुराना मौलिकतादेखि कलाकृतिसम्म छन् । अहिले जनसंख्याको चापले यो सहर अव्यवस्थित भएको छ । 

त्यसो भए हाम्रा सहरको विकास कसरी हुन सक्ला ? 
राज्य संयन्त्र नै बलियो हुनुपर्‍यो । राजनीति गर्नेले देश र जनताका निम्ति काम गर्नुपर्‍यो । व्यक्तिगत स्वार्थमा लाग्नुभएन। भ्रष्टाचार रोक्नुप¥यो । ठाउँ र क्षेत्र हेरेर विकास निर्माणका कार्यक्रम अघि सार्नुपर्‍यो । राज्यले शिक्षा र स्वास्थ्यलाई केन्द्रमा राख्नुप¥यो । यति गरियो भने सहर मात्रै होइन, सबैको उन्नति हुनसक्छ। 

उपत्यकाको मनपर्ने पक्ष के हो ?
यहाँको राम्रो लाग्ने पक्ष ऐतिहासिक सम्पदा हुन् । काठमाडौं उपत्यका मठ–मन्दिरले सजिएको छ । यहाँ पुरानो नेपालको मौलिकता बोकेका सम्पदा छन् । यी सम्पदाले उपत्यकाको मौलिकता र महत्त्वलाई कायम राखेको छ । 

मननपर्ने पक्ष ?
यहाँको ट्राफिक जाम, भीडभाड र प्रदूषण मनपर्दैन । सहर बिग्रनुको अर्को कारण सहरवासी पनि उत्तरदायी नहुनु हो। 

काठमाडौंलाई व्यवस्थित बनाउन के गर्नुपर्ला ?
भीडभाड नभएको भए काठमाडौं राम्रो हुन्थ्यो । यहाँ देशभरिबाट मानिस आएका छन् । राम्रा र नराम्रा मान्छे यहीँ थुप्रिएका छन् । यहाँ भएका सेवा–सुविधालाई अन्त सार्ने हो भने काठमाडौं सहर राम्रो हुन्थ्यो । अर्को कुरा सडक चौडा पार्ने, समयमै फोहोर उठाउने, भवन निर्माणका नयाँ आचारसंहिता लागू गर्ने जस्ता कार्यलाई प्राथमिकता दिइयो भने सहर व्यवस्थित बन्न सक्छ । 

तपार्इंको सपनाको सहर कस्तो होला ?
सहर सफा, सुविधायुक्त र मानव जीवनमैत्री हुनुपर्छ । मेरो सपनाको सहर पनि यस्तै होस् भन्ने लाग्छ । व्यवस्थित सडक, सफा, हरियालीलगायत पक्ष सहरका मुख्य विषेशता पनि हुन् । हाम्रा सहरमा यी विषेशता पाउन मुस्किल देखिन थालेको छ । 
उपत्यकाभित्र कतै घुम्न जानुपर्‍यो भने ?
व्यस्तताले गर्दा त्यति घुम्न हिँड्ने गरेको छैन । सुटिङकै क्रममा धेरै ठाउँ पुगेको छु । घुम्नकै लागि भनेर उपत्यका आसपास हिँड्ने बानी छैन।


सहरवासीको मननपर्ने बानी के हो ? 
सहरवासी आफ्नो मात्रै सोच्छन् । कसैले पनि आफ्ना कारण अरुले दुःख पायो भन्ने सोच्दैनन् । यद्यपि अरु देशका सहरवासीको तुलनामा हाम्रो देशका सहरवासीबीच माया, ममता र मानवता धेरै पाइन्छ । एकले अर्कोलाई सहयोग गरेको पनि देखिन्छ । 

बाहिरी मुलुकका सहरसँग तुलना गर्दा हाम्रा सहर कस्ता छन् ? 
आधुनिकताको हिसाबले अरु देशका सहर धेरै अघि छन् । तर, यहाँको मौलिकता कतै पाइँदैन । हावापानी, प्राकृतिक, ऐतिहासिक परम्परा र संस्कृतिलाई दाँज्ने हो भने हामी अन्य देशभन्दा धेरै धनी छौँ ।

सहरको मनपर्ने खानेकुरा ?
यहाँका सबैखाले परिकार मनपर्छ ।
 प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: ८ मंसिर २०७४ ०६:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App