८ वैशाख २०८१ शनिबार
राजनीति

सुरक्षामा हाइअलर्ट

डोटी - १० गते मतदान हुने ७– नम्बर प्रदेशका ४ वटा जिल्लाहरु (बाजुरा, बझाङ, बैतडी र दार्चुला)मा सुरक्षा स्थिती मजबुत बनाउन यतिबेला क्षेत्रीय सुरक्षा समिति सक्रिय भएर लागिरहेको छ । केही दिनदेखी हवाईयात्रा मार्फत सबैजसो जिल्लाका दुर्गम तथा अति संबेदनशील क्षेत्रहरुमा पुगेर सुरक्षा स्थितीको बारेमा निरीक्षण गरिरहेको छ ।

कुनै पक्षको अबरोध बिना शान्तिपूर्ण तथा मर्यादित रुपमा निर्वाचन सम्पन्न गर्न क्षेत्रीय सुरक्षा समिति चनाखो भएर काम गरिरहेको क्षेत्रीय प्रशासन कार्यालय दिपायलका निमित्त प्रशासक शंकर बहादुर बिष्टले जानकारी दिए । ‘हामी चनाखो भएर काम गरिरहेका छौ । निर्वाचनलाई अवरोध गर्ने किसिमका गतिबिधिहरुलाई हामी सुक्ष्म तवरबाट अध्ययन गरेर अघि बढिरको छौ,’ उनले भने,‘यसका लागि बिभिन्न चरणका सुरक्षा सतर्कता अपनाईएका छन् । थप हामी क्षेत्रीय सुरक्षा समितिको टोली पनि हाई अलर्ट भएर बसिरहेका छौ।’

सुरक्षाको स्थितीलाई मध्यनजर गर्दै क्षेत्रीय सुरक्षा समितिले जिल्लागत रुपमा हेलिकप्टर मार्फत पुगेर अनुगमन निरीक्षण गरिरहेको निमित्त क्षेत्रीय प्रशासक बिष्टले बताए ।

लगभग सबैजसो क्षेत्रहरुमा सुरक्षाको स्थिती मजबुत रहेको उनले बताए। ‘सबैजसो ठाउँमा निर्वाचनको तयारी पर्याप्त छ । सुरक्षाको स्थिती पनि मजबुत पार्ने प्रयास गरिएको छ,’ उनले भने,‘शंकास्पद ठाउँमा बढी फोर्स परिचालन गरेका छौ।’

आकस्मिक समयका लागि समस्याग्रस्त क्षेत्रमा थप सुरक्षा परिचालनका लागि थप सुरक्षा दस्ता ‘रिजर्भ फोर्स’ ‘स्डेण्डबाई’  राखिएको निमित्त क्षेत्रीय प्रशासक बिष्टले बताए।

सुरक्षा समितिमा क्षेत्रीय प्रशासक संयोजक रहनेगरी सुदूरपश्चिम पृतना हेडक्वार्टर दिपायलका पृतनापति, नेपाल प्रहरी ७ नम्बर प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक, क्षेत्रीय सशस्त्र प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षिक र राष्ट्रिय अनुसन्धान ब्यूरोका निर्देशक रहने ब्यबस्था छ।

सुरक्षाकर्मी १५ मिनेटमै पुग्ने ब्यबस्था

निर्वाचन अबधिमा कहीँकतै घटना भए १५ मिनेटमै स्थलगत रुपमा अतिरिक्त सुरक्षा दस्ता पुग्ने गरी ब्यबस्था मिलाईएको क्षेत्रीय सुरक्षा समितिले जनाएको छ । ‘हामीसंग स्टेडबाई हेलिकप्टर हुन्छ। र तिनवटै प्रमूख सुरक्षा निकायका रिजर्व फोर्स पनि तैनाथ हुन्छ,’ निमित्त क्षेत्रीय प्रशासक बिष्टले भने,‘त्यसैले खबर भएको १५ मिनेटमै घटनास्थलमा थप सुरक्षा पुग्छ।’

क्षेत्रीय प्रशासक पुगे

यसैबिचमा सरकारले असार देखी रिक्त रहेको क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा क्षेत्रीय प्रशासक  पठाएको छ। सरकारले लक्ष्मीराम पौडेललाई क्षेत्रीय प्रशासकको जिम्मेवारी दिएर दिपायल पठाएको छ । उनी शुक्रबार दिपायल पुगेका छन् ।

यसअघि क्षेत्रीय प्रशासक रहेका शिशिर कुमार ढुंगाना असार १५ गते दिपायलबाट अर्थ मन्त्रालयमा रवाना भएका थिए ।

प्रकाशित: ८ मंसिर २०७४ १२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App