७ वैशाख २०८१ शुक्रबार
कला

समुद्रमाथिको सहर

माल्दिभ्स भन्नेबित्तिकै हामी समुद्री किनार र टापु सम्झन्छौँ । एउटा टापुबाट अर्कोसम्म पानीजहाज चढेर यात्रा गर्ने सपना देख्छौँ । घुमन्तेहरूले माल्दिभ्सलाई उत्कृष्ट गन्तव्यको सूचीमा राख्न पछि पर्दैनन्। 

माल्दिभ्सको अर्थतन्त्र पर्यटनमा टिकेको छ । यहाँ समुद्रमाथि रिसोर्ट छन् । टापुबीच तैरने पानीजहाज र आकर्षक समुद्री किनारले जोकोहीलाई लोभ्याउँछ । जलवायु परिवर्तनले समुद्रको पानी बढ्दै जाँदा अस्तित्व नै मेटिने खतरामा परेर विश्वभर चर्चित भएको दक्षिण एसियाली मुलुक माल्दिभ्सलाई नजिकबाट नियाल्ने मौका जुर्‍यो, गएको कात्तिक दोस्रो साता। 

माल्दिभ्सस्थित ज्ञान टापुको अडु सिटीमा आयोजित दोस्रो ‘साउथ एसियन ट्राभल अवार्ड’ (साटा) कार्यक्रमको निम्तोमा माल्दिभ्स पुग्ने अवसर जुरेको थियो । पर्यटन व्यवसायसँग सम्बन्धित कार्यक्रम भव्य हुने नै भयो । कात्तिक १० गते मुम्बई हुँदै श्रीलंकाको राजधानी कोलम्बो पुगियो, अनि कोलम्बोबाट श्रीलंकन एयरलाइन्सको जहाजमार्फत माल्दिभ्सको ज्ञान अन्तर्राष्ट्रिय विमानस्थल।  

एउटै क्षेत्रीय संगठन (सार्क)मा आबद्ध भए पनि हामी कतिपय मुलुकका नागरिकसँग त्यति धेरै परिचित छैनौँ । एसियाकै सबैभन्दा सानो मुलुक माल्दिभ्सका नागरिकसँग त नेपालीको कमै मात्र साक्षात्कार हुने गर्छ । 

नेपाल–माल्दिभ्स सीधा हवाई सेवा छैन । त्यसैले काठमाडौंबाट माल्दिभ्स पुग्न दुईवटा ट्रान्जिट छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का दुई सदस्य राष्ट्रबीच हवाई सञ्जाल समेत नहुनुले सार्कको भविष्यलाई गिज्याएजस्तो लाग्छ। 

श्रीलंकन एयरलायन्सको उडानबाट माल्दिभ्सतर्फ लाग्दा धेरै यात्रु झ्यालबाट बाहिर हेर्दै क्यामरामा समुद्री दृश्य कैद गर्दै थिए । जब–जब टापु र पानी जहाजका दृश्य देखिन्थे, क्यामराहरू झ्यालतर्फ सोझिइहाल्थे । ‘समुद्रमा देखिएका बादलका झुन्ड पहाडमा रूख उम्रिएझैँ छन्,’ जहाजको सिटमा सँगै बसेकी हिमालय एयरलायन्सकी उज्ज्वला दली भन्ने गर्थिन् । 
मुम्बई र कोलम्बो ट्रान्जिट पार गरेर माल्दिभ्सको ज्ञान टापु पुगियो । साटाका प्रतिनिधिलाई विमानस्थलको विशेष कक्षमा स्थानीय कलाकारले गीत र नृत्यले स्वागत गरे । माल्दिभ्सका नृत्य र गायन नेपाली धिमाल र नेवारी नृत्यजस्तो लागे। 
भीडमा कतै नेपाली देखिएलान् कि भन्ने थियो तर कोही पनि देखिएनन् । घडीमा दिउँसोको ११ बज्न लागेको थियो। स्थानीय समय भने करिब साढे १२ भइसकेको थियो । दुई–दुईवटा ट्रान्जिट र लामो यात्राका कारण थकित भए पनि हामी धेरैको चाहना समुद्र किनार पुगेर सेल्फी खिच्ने थियो । एउटा टापुबाट अर्कोमा सके पौडिएर, नसके जहाजमा भए पनि जाने उत्सुकता साथ धेरैले आ–आफ्ना योजना बनाइरहेका थिए । विभिन्न टापु चहार्ने उत्सुकता हुँदाहुँदै पनि साटाको कार्यक्रमको रुटिन पालन गर्नुपर्ने थियो। 

माल्दिभ्स पुगेपछि त्यहाँको सौन्दर्यले नलोभ्याउने कुरै भएन । पानीमाथि तैरिरहेका जस्ता देखिने टापु, समुद्री छालको आवाज र नीलो पानी । हेर्दै मनमोहक देखिन्थ्यो दृश्य । श्रीलंका, भारत, भुटान, नेपाल र माल्दिभ्सका होटल तथा ट्राभल व्यवसायी व्यावसायिक सम्बन्ध विस्तारका लागि भेला भएका थिए, यो सानो टापु राष्ट्रमा । केही साथी भने समुद्री किनारतर्फ निस्किए । त्यस दिन समुद्र किनारमा उभिएरै बिताइयो। 

भोलिपल्ट ब्युँझँदा इक्वेटर भिलेज रिसोर्टको कोठा नम्बर–१३६ मा झ्यालबाट सूर्यको किरण पसिसकेको थियो । तापक्रम उकालो लाग्दै थियो । बिहान उठेर रिसोर्टको बगैँचामा टहल्न लाग्दा गमलामा पानी हाल्दै गरेको एक व्यक्तिले सोधिहाल्यो, ‘हेल्लो, आर यु फ्रम ढाका ?’ सायद उसले बंगलादेशी ठानेर सोधेको थियो । ‘नो, आई एम फ्रम नेपाल,’ उसलाई उत्तर फर्काएँ। 

एउटै क्षेत्रीय संगठन (सार्क)मा आबद्ध भए पनि हामी कतिपय मुलुकका नागरिकसँग त्यति धेरै परिचित छैनौँ । एसियाकै सबैभन्दा सानो मुलुक माल्दिभ्सका नागरिकसँग त नेपालीको कमै मात्र साक्षात्कार हुने गर्छ । विभिन्न राजनीतिक र रणनीतिक कारणले भाषिक र सांस्कृतिक रूपमा नजिक भएर पनि हामी भुटानीसँग समेत टाढा बनेका छौँ । 
रिसोर्टमा ‘ब्रेकफास्ट’को समय भयो । सँगै टेबलमा बसेका थिए, भुटानी नागरिक दाबा ढेमो । ‘नेपालीहरू ब्रेकफास्टमा के खाने गर्छन् ?’ उनले सोधे । एकछिन के उत्तर दिउँ भयो, अनि भनिदिए, ‘चिया र रोटी।’

माल्दिभ्समा धेरै उत्पादन हुने कृषि उपज हुन्, केरा र नरिवल । त्यसैले केरा र नरिवलकै परिकार धेरै पाइन्छन् । यहाँ उत्पादन नहुने खाद्य सामग्री जहाजबाट आयात गरिन्छ । ‘ब्रेकफास्ट’मा सानो छँदा गाउँमा खाएको लहरे आँप खान पाउँदा ‘नोस्टाल्जिक’ भइयो। 

साना–साना टापुले बनेको मुलुक माल्दिभ्समा थोरै मात्र कृषि उपज उत्पादन हुन्छन् । औद्योगिक उत्पादनका हिसाबले त यहाँ केही पनि बन्दैन भन्दा हुन्छ । तर, माल्दिभ्समा नपाइने कुनै चिज छैन  । विश्वबजारबाट सबैखाले वस्तु यहाँ ल्याइएको छ, समुद्री जहाजमार्फत । विश्वभरबाटै माल्दिभ्स आउने पर्यटकको संख्या बढ्दो छ । पर्यटकप्रति गरिने स्वागत–सत्कार र अनुशासनलाई धेरैले मुक्त कण्ठले प्रशंसा गर्छन् । ट्याक्सी चालकदेखि भान्साका सहयोगी र रेस्टुरेन्टका वेटरसम्मले पर्यटकलाई गर्ने व्यवहारले धेरैलाई लोभ्याउँछ। 

संस्कृतमा ‘मालादीपा’ अर्थात् द्वीपहरूको माला भनिने यो मुलुक घुम्न पुग्ने नेपालीको संख्या नगन्य छ । काम गर्न पुगेका नेपालीको संख्या भने १० देखि १५ हजार भइसकेको छ। 

हिन्द महासागरका करिब एक हजार दुई सय स–साना टापुले बनेको छ, माल्दिभ्स । यहाँको जनसंख्या करिब चार लाख छ । जनसंख्याका हिसाबले यो एसियाकै सबैभन्दा सानो मुलुक हो । हामी पुगेको ज्ञान टापु पनि यही एक हजार दुई सय टापुमध्येको एक हो। 

जहाजबाट हेर्दा समुद्रमा टल्केको मोतीका दानाजस्ता देखिने माल्दिभ्सका टापु रमणीय छन् । ज्ञान टापुमै छ  अन्तर्राष्ट्रिय विमानस्थल । यही टापुमा अवस्थित छन्, धेरै चर्चित रिसोर्टहरू। 

२० हजार मात्रै जनसंख्या रहेको ज्ञान टापुको अडु सिटीमा पुगेको दोस्रो दिन स्थानीयले उत्पादन गरेका नरिवलका विभिन्न चकलेट र नरिवल पानीका परिकार चाख्न पाइयो ।  स्थानीय कला, नरिवलका पातबाट बनेका झोलालगायत हस्तकला अवलोकन गरियो । यी सामान माल्दिभ्स आउने पर्यटकका लागि कोसेली हुन्। 

वैज्ञानिकका अनुसार, करोडौँ वर्ष मुगा जमेर बनेका माल्दिभ्सका द्वीपहरू हलुका नीलो रंगका देखिन्छन् । समुद्री किनारा सेतो बालुवायुक्त छन्। 

सन् १९८० ताका माल्दिभ्स विश्वकै गरिब राष्ट्रमध्ये एक थियो । हाल भने यो ‘हाइअर मिडिल इन्कम’ भएको मुलुक बनिसकेको छ । होटल व्यवसाय र पर्यटन नै माल्दिभ्सको मुख्य आर्थिक मेरुदण्ड हो । समुद्री सुन्दरताको आनन्द उठाउन विश्वभरबाट आउने पर्यटकले माल्दिभ्सको अर्थतन्त्रमा ठूलो टेवा दिएको छ। 

श्रमका लागि संसारभर पुग्ने नेपाली माल्दिभ्समा पनि पुगेका भेटिन्छन् । नेपाली कामदारले मासिक सरदर ४० हजारदेखि एक लाख २५ हजार रुपैयाँसम्म कमाउने गरेका छन्। 

कार्यक्रमको दोस्रो दिन वितरित साटा अवार्डमा नेपालबाट १० होटल मनोनयनमा परेका थिए । त्यसमध्ये पाँचवटा होटलले अवार्ड पाए । नेपालबाट बाराही जंगल लज, होटल अन्नपूर्ण, होटल सांग्रिला, होटल मलबेरी र होटल बाराही पोखराले विभिन्न विधामा अवार्ड पाए। 

माल्दिभ्समा नेपाली पुरुष सुरक्षागार्ड, ड्राइभर, होटल कर्मचारीका रूपमा काम गर्छन् । महिला भने घरेलु कामदार, केयरगिभर, रिसेप्सनिस्ट, वेट्रेसलगायतमा कार्यरत छन्। 

चार वर्षदेखि मालेमा कार्यरत नुवाकोटकी चाहना लामा नेपाली दूतावास नहुँदा कतिपय अवस्थामा समस्या भोग्नुपर्ने बताउँछिन् । माल्दिभ्समा रहेका नेपालीलाई केही परे श्रीलंकास्थित नेपाली दूतावास पुग्नुपर्छ । तर, श्रीलंकामा भन्दा माल्दिभ्समा धेरै नेपाली छन् । ‘मालेमा नेपाली दूतावास भए नेपाली दलालबाट ठगिने थिएनन्,’ उनले भनिन्, ‘निःशुल्क भिसा र टिकटमा आउन पाइने भए पनि अहिले, ४० देखि एक लाख रुपैयाँ तिर्नुपर्छ ।’ बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा यहाँ दूतावास खोल्ने पहल गरेका थिए । तर, हालसम्म दूतावास खुलेको छैन। 

यहाँका सबै नागरिकको स्वास्थ्य बिमा गरिएको छ । हरेक वर्ष सरकारले प्रतिव्यक्ति आठ सय १० अमेरिकी डलर स्वास्थ्य बिमाका लागि खर्च गर्ने गरेको छ । यहाँ कामदारको पनि बिमा हुन्छ । माल्दिभ्सले कुल बजेटको २६ प्रतिशत स्वास्थ्य क्षेत्रमा खर्च गर्छ । कुल बजेटको करिब साढे चार प्रतिशत मात्र स्वास्थ्यमा खर्च गर्ने मुलुकको नागरिकका रूपमा माल्दिभ्सको स्वास्थ्य योजना लोभलाग्दो  लाग्यो।

मालेमा मदिरा निषेध गरिएको छ । विदेशी पर्यटकले भने अन्य टापुका रिसोर्टमा पुगेर मदिरा पिउन सक्छन् । रमाइलो कुरा के भने अन्य टापुमा मदिरा सेवन गरेपछि बिलसहित माले फर्कनुपर्छ । कार्यक्रममा अन्तिम दिन कात्तिक १२ गते वातावरण संरक्षणका लागि मल्दिभ्सको समुद्री तटमा पाँच देशका नागरिकले एकै ठाउँमा एकैपटक वृक्षारोपण गरे । 
समुद्र सतह बढ्दो र टापुको सतह डुब्दो मुलुकको अस्तित्व लम्ब्याउन माल्दिभ्सको मात्र प्रयासले पुग्दैन । पाँच मुलकका नागरिक एकै स्थानमा उभिएर बिरुवा रोप्दै यही सन्देश दिइरहेका थिए। 

यहाँ समुद्रभित्रबाट निस्के जसरी नै सूर्य उदाउँछ र समुद्रमै डुबेजस्तो गरी अस्ताउँछ । साँझ परेपछि भने सूर्यलाई माथ गर्ने गरी विद्युतीय बत्ती बालिन्छन् । तिनको प्रकाशमा समुद्र अझ चम्कन्छ । छेउछाउका रिसोर्टमा थरीथरी परिकारका साथ पर्यटक लोभ्याउने कार्यक्रम हुन्छन्। 

प्रकाशित: ९ मंसिर २०७४ ०३:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App