८ वैशाख २०८१ शनिबार
राजनीति

विप्लवका कार्यकर्ताद्वारा एमाले वडाध्यक्ष अपहरणमा

जाजरकोट– आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन बहिष्कार गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले जाजरकोटमा एमालेबाट निर्वाचित  वडाध्यक्षलाई अपहरण गरेका छन् । चुनाव प्रचार प्रसारमा लागेको भन्दै  कुसे गाउँपालिका  वडा नं १ बाट निर्वाचित गोपाल नेपालीलाई  शनिबार बिहान २ वजेतिर सोही वडाको स्यांग्री भन्ने स्थानबाट अपरहरण गरेको स्थानीय पत्रकार दिपेन्द्र शर्माले बताए ।
नेकपाका कार्यकर्ताहरुको एक समूहले वडाध्यक्ष नेपालीलाई अपहरण गरेको शर्माले बताए । उनका अनुसार नेपालीसँगै अन्य एमालेका कार्यकर्ताहरु पनि अपहरणमा परेका छन् । तर नेकपाका जिल्ला संयोजक हरिचन्द्र जैसी अनुकुलले  नेपालीलाई आफूले अपहरण नगरेको बताए । उनले कुनै कार्यकर्ताहरुले  गरेको भए आफूलाई थाहा नभएको भन्दै यो आफूहरुलाई बदनाम गर्न फैलाइएको हल्लामात्र भएको बताए ।
उता एमाले जाजरकोटका सचिव चन्द्रप्रकाश घर्तीले नेपालीको अपहरणबारे कुनै जानकारी नआएको बताए । उनले नेपालीलाई सम्पर्क गर्न खोज्दा फोन अफ रहेको समेत बताए । अपहरणमा परेका भनिएका एमाले नेता नेपाली लगायतका अन्य व्यक्तिहरुको खोजी र उद्धारको काम भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी भावेस रिमालले जानकारी दिए ।
उनले नेपालीलाई अपहरण गरेको स्थानतिर सशस्त्र र जनपद  प्रहरीहरु परिचालन गरिसकिएको र वास्तविक कुरा पत्ता लागि नसकेको  बताए । चुनावी वातावरण बिथोल्नलाई नेकपाका कार्यकर्ताले वडाध्यक्ष्य  नेपालीलाई अपहरण गरेको  सुरक्षा निकायको भनाइ छ ।

प्रकाशित: ९ मंसिर २०७४ ०६:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App