६ वैशाख २०८१ बिहीबार
अन्य

बलियो वैवाहिक बन्धन कसरी कस्ने ?

‘हरेक जोडीमा उतार–चढाव हुन्छ, हरेक जोडीमा बहस हुन्छ र यही कारण त तपाईं जोडी हो र कुनै पनि जोडी विश्वास बिना चल्न सक्दैनन् ।’

अमेरिकी उपन्यासकार निकोलस स्पाक्र्सले आफ्नो लोकप्रिय उपन्यास ‘एट फस्ट साइट’मा जोडीमाथि गरेको टिप्पणी हो यो । उनले भनेझै निसन्देहः ‘विश्वास’ सम्बन्धलाई बलियो र स्वस्थ बनाउने सबैभन्दा ठूलो हतियार हो, यो बिना सम्बन्ध टिकिरहन सक्दैन ।

हामीकहाँ मंसिर ‘बिहेको महिना’ अर्थात् ‘बिहेको मौसम’का रुपमा प्रख्यात छ । यो महिना जोडी बाँध्न खोज्नेहरुका लागि साइतको खडेरी हुँदैन । तर, दुई मनको मिलन हुनु मात्र ठूलो कुरा होइन, दुई मनले निरन्तरता पाउनु र खुसियालीपूर्वक जीवन बिताउनु पनि उति नै महŒवपूर्ण हुन्छ ।

सम्बन्धलाई बलियो र सुखद् बनाइराख्न के–के आवश्यक पर्ने रहेछ ? नवजोडीहरुका लागि सुझावस्वरुप केही उदाहरणीय सेलिब्रिटी जोडीसँग जिज्ञासा राख्दा अधिकांशले ‘प्रेम, प्रेम र प्रेम’ भन्न छुटाएनन् तर त्यति मात्र भनेनन् ।

‘सम्बन्ध बलियो बनाउन समझदारी सबैभन्दा ठूलो आवश्यकता हो । जोडीबीच एक–अर्काको कमजोरी बुझ्न सक्नुपर्छ । मान्छेको रिसाउनु त मानवीय स्वभाव नै हो तर यसलाई ठूलो इस्यु बनाउनुहुँदैन ।’
– गायिका रजिना रिमाल

फिल्म क्षेत्रका उदाहरण जोडी निर्देशक ऋषि लामिछाने र सरीता लामिछानेले बिहेको २० औं वर्षगाँठ मनाइसके । सफल दाम्पत्यसम्बन्धी उनीहरूको एउटै सूत्र छ– निःशर्त प्रेम र पाइला–पाइलामा सहकार्य । जतिबेला महिलालाई फिल्म क्षेत्रमा प्रवेश गराउने भनेपछि मान्छेहरु परैबाट नाक खुम्च्याउँथे त्यतिखेर ऋषिले आफ्नी श्रीमतीलाई ‘हिरोइन’ बन्न अनुमति दिएका थिए । आज पनि घरको कामदेखि बाहिरसम्म उनीहरु निरन्तर सहकार्य गरिरहेका हुन्छन् । ‘जीवनमा बढी महत्वाकांक्षी हुनुहुँदैन,’ नयाँ जोडीलाई सरिता आफ्नो अनुभवमार्फत सुझाउँछिन्, ‘हामीले आफ्नो क्षमताअनुसार चल्न सिक्नुपर्छ । म र ऋषिको हकमा पनि हामी दुवैले देख्ने सपना सधैँ एउटै भयो । त्यसैले हाम्रो जीवन सुखी छ ।’ उनीहरु आफ्नो जोडीलाई ‘बफादार’ ठान्छन् । ‘हामी देश, समाज र संस्कारप्रति बफादार रहेको जोडी हौँ,’ ऋषिले भने, ‘हामी दुवै भावुक छौँ । कसैको सानो पीडामा रुन्छौँ । स–सानो कुरामा खुसी खोजिरहेका हुन्छौँ । हामी चेतनशील पनि छौँ र मलाई लाग्छ हर असल जोडीमा यी गुण हुनु पर्छ ।’

तीन वर्षअघिसम्म अभिनेता राजेश हमाललाई सताइरहने प्रश्न थियो– बिहे कहिले गर्ने ? विराटनगरकी मधु भट्टराईसँग लगनगाँठो कसेपछि उनले यो प्रश्नबाट छुटकारा पाए ।  मधुले आफ्नो जीवनमा मिठास घोलिदिएको बताउने उनी थुप्रै कार्यक्रममा मधुसँगै पुगिरहेका हुन्छन् । उनीहरु दुवैको नजरमा सम्बन्धलाई टिकाइराख्ने र बलियो बनाउने कडी भनेको समझदारी हो । ‘हामी दुवै फरक–फरक विचारका मान्छे हौँ,’ राजेशले भने, ‘सबै कुरा नमिल्न सक्छ । त्यही पनि हामी सँगै छौँ भनेपछि हामीबीच समझदारी छ, विश्वास छ ।’ मधुले त्यसमै थप्छिन्, ‘प्रेम पनि त छ । सम्बन्धमा यी कुरा त हुनैपर्छ ।’ आफूहरूको जोडीलाई  उनीहरु ‘कन्टेन्ट’ जोडी भन्न रुचाउँछन् । ‘हामी जे छ, त्यसमै रमाउँछौँ, शतप्रतिशत सन्तुष्ट छौं,’ मधुले भनिन् । त्यसपछि राजेशले भने, ‘मधुले मेरो जिन्दगीमा मिठास घोलिदिइन् ।’ उनले यसो भनिरहँदा मधुको अनुहार दोब्बर चम्किलो भएको थियो ।

र्यापर गिरीश खतिवडा र डाक्टर ज्योति रानाभाट अर्को यस्तो जोडी हो जो सहकार्यमा विश्वास गर्छ तर कामको विभाजनमा होइन । कसरी त ? ‘लोग्ने मान्छे कस्तो हुनुपर्छ, स्वास्नी मान्छे कस्तो हुनुपर्छ, हामीलाई यसको परिभाषा थाहा छैन,’ गिरीश भन्छन्, ‘घरमा म मज्जाले भाडा माझ्छु । बच्चा सुताउनु सबैभन्दा टेन्सन काम हुन्छ । ज्योतिले गेम देखाएर हुन्छ कि के गरेर हुन्छ बच्चा सुताउने काम गर्छिन् । हामी घरमा जसले जे भ्यायो, त्यो गर्छौं । पूजा गर्नेदेखि चिया पकाउने, पाहुनालाई सत्कार गर्ने सबै काममा सहकार्य गर्छौं ।’ घरमा परम्परागत सोचलाई यथावत् राखेर बाहिर ठूल्ठूलो स्वरमा गीत गाउनु उनी ठीक मान्दैनन् । ‘परिवर्तन त सबैभन्दा पहिला आफूबाटै हुनुपर्यो नि, त्यसपछि पो परिवर्तनको प्रयास गर्न सुहाउँछ त,’ उनी भन्छन्, ‘म त मेरो र ज्योतिको जोडी विशुद्ध आधुनिक मान्छु । श्रीमतीलाई कहीँकतै पार्टीमा लाँदाखेरी आफूले मात्र होइन, श्रीमतीलाई पनि वाइन खान दिनुपर्छ भन्ने मान्यता राख्छु ।’

उनीहरु आफ्नो जोडीलाई ‘रिल्याक्स जोडी’ भन्न रुचाउँछन् । गिरीश भन्छन्, ‘हाम्रो जीवनमा कुनै परिभाषा छैन । कुनै परिबन्ध छैन । हामी रिल्याक्स जोडी हौँ । एकअर्काप्रति पूर्ण विश्वासहित बाँचेका छौँ ।’ गिरीशकै भनाइमा ज्योतिले थपिदिइन्, ‘सम्बन्धलाई बलियो बनाउनलाई दुवैजना उत्तिकै इफोर्ट लगाउन आवश्यक हुन्छ । सधैँ आफ्नो मात्र लाद्न खोज्नुहुँदैन, अर्कोको कुरा पनि सुन्नुपर्छ । सम्बन्धमा समझदारी सबैभन्दा ठूलो कुरा हो, त्यो हामीमा छ र अरुमा पनि हुनुपर्छ भन्ने लाग्छ ।’
आफूलाई ‘सिम्पल र प्राक्टिकल’ भन्न रुचाउने प्रमोद र दीपा खरेलको जोडी तडकभडकमा विश्वास राख्दैन । सात वर्षअघि बिहे बन्धनमा बाँधिएका उनीहरु एक–अर्काको भूमिकालाई इमान्दारसाथ स्वीकार्न तयार हुन्छन् । ‘मेरो जिन्दगीमा दीपा नभएको भए म आज यहाँसम्म आइपुग्थिनँ सायद । संघर्षको समयमा उनले मेरो साथ दिइन्,’ प्रमोद भन्छन्, ‘जतिबेला उनी मेरो जिन्दगीमा आइन्, त्यतिखेर म डेरामा बस्थेँ । अहिले डेराबाट घरमा सरिसकेँ ।’ ललितपुर, हात्तीवनमा प्रमोद–दीपाको अढाई तले आफ्नै घर छ । ‘हामी देखावटी जोडी होइनौँ,’ प्रमोदले भने, ‘एकदम नेचुरल जोडी हौँ । ग्रासरुटबाट आएकाले होला हामी तडकभडक गर्न रुचाउँदैनौँ । हाम्रो जीवन एकदमै सामान्य छ । हामी प्राक्टिकल छौँ र नवजोडीहरुले पनि यो कुरामा ध्यान दिनुपर्छ भन्ने लाग्छ ।’

सहकार्यका साथ अघि बढिरहेको अर्को जोडी गायिका रजिना रिमाल र व्यवसायी विनोद श्रेष्ठको पनि हो । विनोद काठमाडौंमा प्रख्यात श्रेष्ठ टेलरिङका सञ्चालक हुन् । रजिना गीतमात्रै गाउँदिनन्, उनको टेलरिङमा अकाउन्ट हेर्न पनि सघाउँछिन् । त्यसो त रजिनालाई गायनमा सक्रिय राख्न विनोदले हौसला पनि दिइरहेका हुन्छन् । दुई वर्षअघि विवाह बन्धनमा बाँधिएको यो जोडीको प्रेम र सहकार्य लोभलाग्दो छ । ‘सम्बन्ध बलियो बनाउन समझदारी सबैभन्दा ठूलो आवश्यकता हो भन्ने लागिरा’छ,’ रजिना भन्छिन्, ‘जोडीबीच एक–अर्काको कमजोरी बुझ्न सक्नुपर्छ । मान्छेको रिसाउनु त मानवीय स्वभाव नै हो तर यसलाई ठूलो इस्यु बनाउनुहुँदैन ।’ आफूहरुको ‘अन्तरजातीय बिहे’लाई भगवानको कृपा मान्छन् विनोद, भन्छन्, ‘हामी दुवैको जात फरक–फरक भए पनि हामीले एक–अर्काको संस्कारलाई स्वीकारेका छौं । त्यसैले मलाई लाग्छ हाम्रो जोडी एउटा बुझ्झक्की जोडी हो ।’
अभिनेत्री झरना थापा र निर्माता सुनील थापा दुईबाट एक भएको २२ वर्ष भइसक्यो । उनीहरुको अनुभवमा पनि सम्बन्धलाई बलियो बनाउने सबैभन्दा ठूलो हतियार भनेको एर्काबीच समझदारी र विश्वास नै हो । ‘एकअर्कालाई बुझ्नुपर्छ, साथसाथ हिँड्न सक्नुपर्छ, अनि सम्बन्ध राम्रो हुन्छ,’ सुनिल भन्छन् । झरना त्यसमै थप्छिन् र नयाँ जोडीहरुका लागि टिप्स पनि दिन्छिन्, ‘सायद हामी सफल हुनुको कारण पनि यही नै हो । एकअर्कामा ‘कम्प्रोमाइज’ पनि गर्न सक्नुपर्छ । एकअर्काको नराम्रो बानी र कमी–कमजोरीलाई पनि माया गर्न जान्नुपर्छ, माफी दिन सक्नुपर्छ अनि मात्र सम्बन्ध टिकिरहन्छ ।’
‘परिवार महत्वपूर्ण कुरा मात्र होइन, यो त सबथोक हो,’ हलिउड अभिनेता माइकल जे. फक्सले परिवारबारे गरेको टिप्पणी हो यो । संसारभर सुखको सबैभन्दा ठूलो स्रोत परिवारलाई मानिन्छ तर मान्छेको जीवनमा हुने निराशा र हारको सबैभन्दा ठूलो स्रोत पनि परिवारिक समस्यासँगै जोडिएको हुन्छ । भनिन्छ– फ्रेन्च सम्राट नेपोलियनको पतनमा उनको पारिवारिक विखण्डन र विचलनको पनि हात थियो ।   

अभिनेत्री करिश्मा मानन्धर पनि सम्बन्ध बलियो बनाइराख्न प्रेम र विश्वास अपरिहार्य ठान्छिन् । उनले विनोद मानन्धरसँग बिहे गरेको २५ वर्ष पूरा भइसकेको छ । ‘सम्बन्ध बलियो बनाउने सबैभन्दा ठूलो औजार विश्वास हो,’ उनी भन्छिन्, ‘हामी एकअर्काप्रति कुनै अनावश्यक शंका गर्दैनौँ । यही कारण हाम्रो परिवार बलियो छ । मलाई जसरी मेरो काम गर्ने स्वतन्त्रता छ, त्यसै गरी श्रीमान् र छोरीलाई पनि छ । हामी सबै एकअर्कालाई प्रेम, सम्मान र विश्वास गर्छाैं । मेरो त घरमा विनोदजीले नुनदेखि सुनसम्मका सबै काम गर्नुहुन्छ । त्यसैले होला, हाम्रो परिवार अहिलेसम्म ‘इन्ट्याक्ट’ छ ।’

लोकगायक बद्री पंगेनीले १८ वर्षको उमेरमा आफूभन्दा तीन वर्ष कान्छी कल्पना भट्टराईसँग बिहे गरेका थिए । आठ वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरूले बिहेमा परिणत गरेका थिए । उनलाई पनि आफ्नो जोडीमा कुनै खटपट नआउनुको कारण प्रेम र विश्वास भन्ने नै लाग्छ । ‘हाम्रो जोडी विश्वास, प्रेम र कर्मका आधारमा टिकेको हो,’ उनले भने, ‘कहिलेकाहीँ म नेपालमै हुँदा पनि एक महिनापछि मात्र भेट हुन्छ । कहिलेकाहीँ त एक हप्तासम्म पनि फोन हुँदैन । तैपनि, हामीबीच समझदारी छ, विश्वास छ । यही कारण हाम्रो जोडी मजबुत छ ।’

गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजाल संगीत क्षेत्रका लोकप्रिय जोडी हुन् । १० वर्ष भइसक्यो उनीहरु जोडी भएको । सम्बन्धलाई बलियो बनाउन श्रीमान्–श्रीमती दुवै आत्मनिर्भर हुँदा फाइदा पुग्ने उनीहरुको अनुभव छ । ‘विश्वास र प्रेम त छँदैछ, हाम्रो सम्बन्ध बलियो हुनुको अर्को कारण यो पनि हो,’ गायक रामचन्द्र काफ्लेको तर्क छ, ‘म र मेरी श्रीमती दुवै बराबर कमाउँछौँ । त्यसो भएपछि भान्छादेखि छोरीको हेरचाहसम्मको काम उनले मात्र गर्नुपर्ने किन ? त्यसैले हामी दुवै घरको काम पनि बराबर गर्छौं । उनी खाना पकाउँछिन्, म भाँडा माझिदिन्छु ।’

यता अभिनेता मदनकृष्ण श्रेष्ठ सम्बन्ध बलियो बनाउन आर्थिक पक्षलाई विशेष ध्यान दिनुपर्ने बताउँछन् । ‘जथाभावी खर्च गर्दा परिवारलाई फाइदा पुर्याउँदैन,’ उनी भन्छन्, ‘क्षमताअनुसार पैसा खर्च गर्नुपर्छ । आर्थिक व्यवस्थापनमा ध्यान दिँदा आफू पनि उक्सिइन्छ, परिवार पनि उक्सिन्छ ।’

‘परिवारमा बाहिरको काम गर्ने चाहिँ ठूलो, घरको काम गर्ने चाहिँ सानो भन्ने हुँदैन । बाहिरको भन्दा घरको काम गर्नेको योगदान परिवारका लागि ठूलो हुन सक्छ । त्यसैले दुवैलाई बराबर सम्मान हुनुपर्यो ।’
–शिक्षाविद् केदारभक्त माथेमा

त्यसो त घरमा जागिर नगरेर घरको काम मात्र गर्नेहरुको योगदान पनि जागिरेहरुको भन्दा कुनै कम हुँदैन । शिक्षाविद् केदारभक्त माथेमाको तर्कले यसै भन्छ, ‘परिवारमा बाहिरको काम गर्ने चाहिँ ठूलो, घरको काम गर्ने चाहिँ सानो भन्ने हुँदैन । बाहिरको भन्दा घरको काम गर्नेको योगदान परिवारका लागि ठूलो हुन सक्छ । त्यसैले दुवैलाई बराबर सम्मान हुनुपर्यो ।’

शिक्षाविद् केदारभक्त माथेमा महत्वाकांक्षाले सम्बन्धलाई फाइदा नपुर्याउने बताउँछन् । ‘परिवारभित्र हाम्रो उद्देश्य भनेको बिल गेट्स हुने अर्थात् धनाढ्य हुने भन्ने हुनुभएन,’ उनी भन्छन्, ‘यस्ता महत्वाकांक्षा र पैसाको प्यासले परिवारको खुसीमा हानि पुर्याउँछ । सम्बन्धमा असर पुग्न सक्छ ।’ ४३ वर्षअघि बिहे गरेका उनी  आफ्नो परिवारमा सबैजना शिक्षित भएकाले पनि परिवार बलियो बन्न मद्दत पुगेको बताउँछन् । ‘परिवार पनि लोकतान्त्रिक संस्था हो,’ उनी भन्छन्, ‘एक जनाको मात्र हैकम चल्नु राम्रो होइन । परिवारभित्र सबैको सम्मान हुनुपर्छ । सबैको कुरा सुनिनुपर्छ ।’

(नागरिक परिवारबाट साभार)

प्रकाशित: ९ मंसिर २०७४ ०६:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App